Kathmandu Press

साढे ७ लाख परिवारको भूकम्पले भत्किएका घर कहिले बन्ने?  

भूकम्पले देशभरका १३ लाख ४६ हजार तीन सय ४५ घरधुरीमा क्षति । पूर्ण रूपमा भत्किएका पाँच लाख ९३ हजार दुई सय ९३ घर पुनर्निर्माण भइसकेका छन् भने सात लाख ५३ हजार ५२ घर निर्माण प्रक्रियामा छन् । 
साढे ७ लाख परिवारको भूकम्पले भत्किएका घर कहिले बन्ने?  
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख १२ : सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ की ४१ वर्षीया हरिमाया तामाङ आमाबुबा र भाइसँग जस्ताको टहरामा बस्छिन् । विवाह नगरी बसेकी जेठी छोरी उनले ०७२ को भूकम्पले पूर्ण रुपमा भत्काएको घर हालसम्म पुनर्निर्माण गर्न सकेकी छैनन् । सरकारले भूकम्प पीडितलाई घर पुनर्निर्माणका लागि रकम दिए पनि त्यो अपुग भएको उनको भनाइ छ । ‘सरकारले तीन किस्तामा तीन लाख रुपैयाँ रकम सहयोग ग¥यो,’ उनी भन्छिन्, ‘६ लाख खर्च गर्दा पनि घर पुनर्निर्माण भइसकेको छैन ।’ 

सरकारले पहिलो किस्तामा ५० हजार रुपैयाँ, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख गरी जम्मा तीन लाख रुपैयाँ रकम उपलब्ध गराएको थियो । 

पहिलो किस्तामा घरको जग हाल्नका लागि दिइएको ५० हजार रुपैयाँले काम सुरु गर्न समेत नपुगेको उनी बताउँछिन् । उनका अनुसार, जग हाल्न, मजदुरलाई ज्याला दिन आदिका लागि सुरुमै झन्डै दुई लाख रुपैयाँ लाग्यो । सरकारले दिएको तीन लाख रुपैयाँले घरका लागि प्रयोग हुने सामान डन्डी, इँटा मात्रै किन्न पुगेको थियो । त्यसपछि उनले बिस्तारै ऋण निकालेर सके जति कामलाई अगाडि बढाइन् । सामान, ज्याला आदिमै बढी खर्च भएपछि उनको घर अझै बनेको छैन ।

‘सरकारले पैसा दिने भएपछि थपथाप होला भनेर घर बनाउन सुरु गरेकी थिएँ । आम्दानी स्रोत नभएकाले ऋणमाथि ऋण थप्न सकिनँ,’ उनी भन्छिन्, ‘भूकम्प गएको ६ वर्षसम्म उनको घर ठडिन सकेको छैन ।’

००० 

वैशाख १२ को भूकम्पले काठमाडौं महानगरपालिका– २० का दीपक स्थापितको घर पनि पूर्ण रुपमा ध्वस्त पारेको थियो । उनले घर पुनर्निर्माणका लागि सरकारबाट पाउने पहिलो किस्ताको अनुदान पाए । 

तर, उक्त रकम भत्किएको घरको माटो फाल्दै सकियो । पहिलो किस्ताको रकमले जग पनि हाल्न नसकेकाले उनले दोस्रो र तेस्रो किस्ताको रकम पाएनन् । उनले फर्निचर व्यवसाय गरिरहेका छन्, तर कमाइ परिवार पाल्नमै ठिक्क भएको उनी बताउँछन् । उनी भन्छन्, ‘घर बनाउन अझै सकेको छैन, भाडामा बस्दै आएको छु ।’ केही राम्रो होला भन्दाभन्दै अहिले कोरोनाको चपेटामा परेको उनको भनाइ छ ।  

साढे सात लाख घर बन्दै : प्राधिकरण 

०७२ वैशाख १२ र २९ को भूकम्पले देशभरका १३ लाख ४६ हजार तीन सय ४५ घरलाई क्षति पु¥याएको थियो । भूकम्प गएको ६ वर्षसम्म भत्किएका शतप्रतिशत घर पुनर्निर्माण हुन सकेका छैनन् । 

भूकम्पबाट पूर्ण रुपमा भत्किएका पाँच लाख ९३ हजार दुई सय ९३ घर पुनर्निर्माण भइसकेका छन् । सात लाख ५३ हजार ५२ घर निर्माण  प्रक्रियामा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भनाइ छ । 

सरकारले भूकम्पबाट क्षति पुगेका देशभरका १० लाख ३७ हजार दुई सय ९१ घरधुरीको सर्वेक्षण गरेको थियो । बढी प्रभावित १४ जिल्लामा मात्रै आठ लाख ६६ हजार ६० घरधुरीको सर्वेक्षण भएको थियो । 

बढी प्रभावित जिल्लामध्ये सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, दोलखा, गोरखा, रामेछाप, काभ्रेपाल्चोक, सिन्धुली, मकवानपुर, ओखलढुंगा, काठमाडौं, रसुवा, ललितपुर, भक्तपुर परेका छन् । 

कम प्रभावित १७ जिल्लामा एक लाख ७१ हजार दुई सय ३१ घरधुरी सर्वेक्षण गरिएको प्राधिकरणको सह–प्रवक्ता मनोहर घिमिरे बताउँछन् ।

कम प्रभावित जिल्लामा लमजुङ, तनहुँ, सोलुखुम्बु, खोटाङ, चितवन, गुल्मी, स्याङ्जा, कास्की, पाल्पा, भोजपुर, पर्वत, धनकुटा, नवलपरासी, बाग्लुङ, अर्घाखाँची, संखुसभा र म्याग्दी परेका छन् । 

सर्वेक्षणपछि लाभग्राही सूचीमा कुल आठ लाख ५७ हजार सात सय ४४ परेका थिए । त्यस्तै, प्रबलीकरण (मर्मत सम्भार) सूचीमा ६५ हजार एक सय ६२ घरधुरी परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक छ । 

यसमा आठ लाख ७७ हजार ६४ घरधुरीसँग अनुदान सम्पन्न सम्झौता भएको थियो । जसमध्ये पहिलो किस्ता आठ लाख १० हजार ६ सय ३४ सेवाग्राहीलाई दिइएको थियो । त्यस्तै, दोस्रो किस्ता ६ लाख ९९ हजार ६ सय तीन र तेस्रो किस्ता ६ लाख ३४ हजार ५७ घरधुरीले प्राप्त गरेको सह–प्रवक्ता घिमिरे बताउँछन् । यसरी पहिलो किस्ता पाएकामध्ये एक लाख ११ हजार ३१ घरधुरीले दोस्रो किस्ताबापतको अनुदान पाएनन् । त्यस्तै, दोस्रो किस्ता अनुदान पाएकामध्ये ६५ हजार पाँच सय ४६ घरधुरीले तेस्रो किस्ताको अनुदान पाएनन् ।  

दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या सात लाख २१ हजार तीन सय ५६ घरधुरी रहेको प्राधिकरणको तथ्यांक छ । जसमध्ये भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राही सात लाख १२ हजार तीन सय ९६ छन् । त्यस्तै, तेस्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राही ६ लाख ५७ हजार सात सय ४९ घरधुरी छन्, जसमध्ये भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राही ६ लाख ५० हजार ९ सय २ घरधुरी रहेको प्राधिकरणको भनाइ छ । 

बढी प्रभावित जिल्ला 

बढी प्रभावित जिल्लामा एक लाख २७ हजार एक सय ४८ घरधुरी बन्न बाँकी छ । भूकम्पले धेरै प्रभावित बनाएका १४ जिल्लाका ६ लाख ५३ हजार दुई सय ९७ घरघुरीले निर्माण कार्य सुरु गरेका थिए । 

पाँच लाख २६ हजार एक सय ४९ घर निर्माण सम्पन्न भएको प्राधिकरणको भनाइ छ । जसमा दुई लाख २१ हजार ६ सय १८ घरधुरीले निर्माण सम्पन्न गरेर प्रमाणपत्र लिइसकेको सह–प्रवक्ता घिमिरे बताउँछन् । ‘पहिला नामकरणका लागि छुटेकाहरू पुनः थप्दै जाँदा संख्या थपघट भइरहेको छ,’ उनले भने ।

कम प्रभावित जिल्ला 

कम प्रभावित १७ जिल्लामा एक लाख ५९ हजार सात सय ४९ घर बन्न बाँकी छन् । यी जिल्लामा सात लाख ५३ हजार ४२ घरको निर्माण कार्य सुरु भएको थियो । जसमा पाँच लाख ९३ हजार दुई सय ९३ निर्माण सम्पन्न भएका छन् । सम्पन्न भएकामध्ये दुई लाख ३५ हजार चार सय ४८ परिवारले निर्माण सम्पन्न प्रमाण पत्र लिइसकेको सह–प्रवक्ता घिमिरे बताउँछन् ।
 

प्रकाशित मिति: १७:२१ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्