Kathmandu Press

पर्सामा थप एक जना कोरोना  संक्रमितको मृत्यु

पर्सा, वैशाख ७ : कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज...
पर्सामा थप एक जना कोरोना  संक्रमितको मृत्यु

पर्सा, वैशाख ७ : कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी बयोधा अस्पतालमा आज बिहान १२ः४५ बजे उपचारका क्रमम मृत्यु भएको हो। 

भारतबाट फर्किएलगत्तै बिरामी भएका पुरुषलाई उपचारका लागि चैत २९ गते अस्पताल भर्ना गरिएको र सोही दिन उनको आरडिटी पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिए। उनले श्वाप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट मृतक ग्रस्त रहेको बताए। 

बितेको एक साताभित्र पर्सामा चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै पर्सामा सङ्क्रमणकै कारण मृत्यु भएको सङ्ख्या ५८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। 

सङ्क्रमित फेला परेपछि सतर्कता 

इलाम– कोरोना भाइरसको दोस्रो चरणको सङ्क्रमण एक जनामा पुष्टि भएपछि इलामस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। सूर्योदय नगरपालिका–११ का ६२ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको थियो। उनको झापाको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। सङ्क्रमित पुरुषको सम्पर्कमा पुगेका अन्य पाँच व्यक्तिको भने सोमबार स्वाब सङ्कलन गरिने जनाइएको छ। 

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले इलाम र झापाको सिमाना जोर कलशमा हेल्थ डेस्क राख्ने र इलाम प्रवेश गर्नेको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ। बैठकले सरकारले दोस्रो चरणमा शुरु गर्न लागेको कोभिड–१९ खोप यही वैशाख ७ गते देखि ११ गतेसम्म लगाउने निर्णय भएको प्रजिअ खड्काले जानकारी दिए। 

‘इलाम सदरमुकाममा दोस्रो चरणको खोप लगाउने सङ्ख्या बढिरहेकाले वैशाख ७ देखि ११ गतेसम्म खोप लगाउने तयारी गरिएको छ’, प्रजिअ खड्काले भने, ‘अन्य पालिकामा वैशाख ८ र ९ गते खोप लगाइने छ ।’ प्रजिअ खड्काका अनुसार यसपटकको अभियानमा पहिलो चरणमा खोप लगाउनेले मात्र दोस्रो चरणको खोप लगाउन पाउने छन्। गत माघ १४ देखि २४ सम्म र फागुन २ देखि ११ गतेसम्म खोप लगाउनेलाई यो दोस्रो चरणको खोप लगाइने छ। 

इलाम नगरपालिबाहेकका स्थानीय पालिकामा रहेका ४४ स्वास्थ्य चौकी र मङ्गलबारे, फिक्कल, पशुपतिनगर तथा प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा भने वैशाख ८ र ९ गते खोप लगाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामका कोभिड स्थानीय स्रोत व्यक्ति विमल बरालले जानकारी दिए। 

यता नेपाल–भारत आवतजावत गर्ने मुख्य नाका पशुपतिनगरमा भने स्वास्थ्य परीक्षण साथै एन्टिजेन र मलेरिया परीक्षणलाई कडाइ गरिएको छ। यस्तै सीमा नाकाबाट आउने सबै यात्रुको अनिवार्य रेकर्ड राख्न लगाउने र भारतबाट नेपाल प्रवेश गर्ने यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गरी शङ्कास्पद देखिएका व्यक्तिको कोभिडको एन्टिजेन परीक्षण र मलेरियाका लागि आरडिटी परीक्षण गर्ने काम भइरहेको प्रजिअ खड्काले जानकारी दिए। 

बैठकले स्यानिटाइजर, मास्कको प्रयोग, सामाजिक दूरी कायम राख्न र स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई आग्रह गरेको छ। यसैबीच इलामको रोङ र माई नगरपालिकामा कोभिड अस्पताल पनि सञ्चालनमा आएका छन्। एक जना एमबिबिएस डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली अस्पतालमा रहेको छ। 

दोस्रो लहरविरुद्ध लड्ने तयारी खै ?

जलेश्वर– विश्वजगत् कोरोनाको दोस्रो लहरबाट आक्रान्त हुन थालेको अवस्थामा महोत्तरी जिल्लामा कोरोनासँग लड्ने कुनै तयारी छैन । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका कुनै पनि स्थानीय तहले बढ्दै गएको कोरोना सङ्क्रमणको सामना गर्नका लागि कुनै पनि चासो देखाएको छैन ।

छिमेकी मुलुक भारतको विहार राज्यमा दिनानुदिन कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा महोत्तरीको १३।८ किलोमिटर भारतसँग जोडिएको खुला सीमा नाकाले यस जिल्लालाई समेत प्रभावित पार्न थालिसकेको अवस्थामा पनि यहाँका कुनै पनि सम्बन्धित निकायले त्यसप्रति ध्यान दिएका छैनन् । वैशाखको १ गतेदेखि ६ गतेसम्म मात्रै महोत्तरीमा तीन महिला र १५ पुरुषसहित १८ जना सक्रिय कोभिड सङ्क्रमित भइसकेका छन्।    

कोभिड– १९ सँग सामना गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने स्वास्थ्य कार्यालय जलेश्वर, महोत्तरीका वरिष्ठ जनस्वास्थ्य अधिकृत नगेन्द्रप्रसाद चौधरीले आफूहरुसँग केही पनि नरहेको र सबै अधिकार स्थानीय तहमा गइसकेकाले यस महामारीसँग लड्न अस्पतालमा हाल कुनै पनि तयारी नरहेको बताए।

उनले जिल्लाका सबै स्थानीय तहलाई तीन÷चार दिनपूर्व नै कोरोनाविरुद्धको तयारीमा लाग्न पत्राचार गरिसकेको र प्रत्येक पालिकाका स्वास्थ्य संयोजकलाई बोलाएर आवश्यक निर्देशनसमेत दिइसकेको भए पनि कुनै पनि पालिकाले अहिलेसम्म त्यसका लागि कुनै पनि तयारी नगरेको बताए।

उनले अहिले जिल्ला अस्पतालसहित कुनै पनि पालिकामा क्वारेन्टिन, आइसोलेशन, हेल्थ डेस्क, स्वास्थ्यकर्मी परिचालनलगायतका कुनै व्यवस्था नरहेको बताए। उनले जिल्लामा कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै जिल्लाको सीमा नाकामा तुरुन्त हेल्थडेस्क पुनःस्थापना गर्न, जिल्ला अस्पताल तथा प्रत्येक पालिकामा क्वारेन्टिन र आइसोलेशन पुनःस्थापना गर्न र पर्याप्त सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन गर्न आवश्यक भएको बताए।

स्वास्थ्य कार्यालयबाट प्रत्येक पालिकालाई मास्क, स्यानिटाइजर, पिपिइ गाउन, बुट, गगल्स पठाइसकिएको र मागबमोजिम अझै पनि पठाउने क्रममा जारी रहेको उनको भनाइ थियो।

भरतपुरका विद्यालय बन्द : परीक्षा नियमित 

चितवन– सरकारले कोरोना भाइरसबाट प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेसँगै आजदेखि भरतपुर महानगरपालिकाका सबै शैक्षिक संस्था बन्द भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै भरतपुर महानगरका सबै विद्यालय, क्याम्पस, ट्युसन सेन्टर र तालीम केन्द्रमा विद्यार्थीको भौतिक उपस्थिति नहुने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

विद्यालय बन्द गरी अनलाइन कक्षा भने नियमित सञ्चालन गर्न सकिने उनले बताए। जिल्लाका अन्य पालिकाको हकमा भने यो निर्णय लागू हुने छैन। अर्को निर्णय नभएसम्मका लागि विद्यालय नियमित सञ्चालन हुने लामिछानेले बताए 

भरतपुर महानगरपालिकाभित्रका तीन विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ। विद्यालय र क्याम्पसका पूर्वनिर्धारित परीक्षा भने आलोपालो र सिफ्टमा गरिएको लामिछानेले जानकारी दिए।

बाँकेमा १५९ को मृत्यु

राँझा– बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १५९ जनाको मृत्यु भएको छ। बाँके जिल्लाभित्र बसोबास गर्ने ६१ जना र जिल्लाबाहिर बसोबास गरी उपचारका लागि बाँकेस्थित अस्पतालमा आएका ९८ गरी १५९ जनाको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। 

उनका अनुसार, बाँकेमा उपचाररत कोरोना सङ्क्रमितको दैनिकजसो मृत्यु हुने गरेको छ। बाँकेमा हाल भेरी अस्पताल नेपालगञ्जमा ३८ र शिक्षण अस्पताल कोहलपुरमा आठ गरी ४६ सङ्क्रमित सिकिस्त अवस्थामा छन्। तीमध्ये सात जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। 

अहिले ८६६ सक्रिय सङ्क्रमित उपचाररत छन्। बाँकेमा गए राति ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएका छन्। जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३२२ जनामा भाइरस सङक्रमण पुष्टि भएको स्रोत व्यक्ति वलीले जानकारी दिए। 

सङ्क्रमण पुष्टि भएकामा बालबालिकादेखि युवा र वृद्धसम्म छन्। विद्यार्थी, शिक्षक, अभिभावक र पत्रकारसमेत सङ्क्रमित भएका छन्।

सङ्क्रमितले भरियो भेरी अस्पताल

नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष आइसोलेशन वार्ड कोरोना सङ्क्रमितले भरिएको छ। भेरी अस्पतालमा सञ्चालन गरिएको १५ शय्याको कोभिड सघन उपचार कक्ष र १०२ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए। 

उनका अनुसार १५ शय्याको कोभिड सघन उपचार कक्षमा अहिले ४० जनालाई राखिएको छ। बिरामीको चाप बढेपछि अरु शय्यालाई पनि सघन उपचार कक्ष बनाइएको छ। कोरानाका शङ्कास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रिआइसोलेसन वार्डसमेत करिबकरिब भरिइसकेको छ। सङ्क्रमण फैलिनेक्रम नरोकिए अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै प्रभावित हुनसक्ने जोखिम छ।

‘बिरामीको चाप अस्पतालको क्षमताभन्दा बाहिर गइसकेको छ, दिनप्रतिदिन केश बढिरहेकाले अवस्था गाह्रो छ’, अस्पतालका प्रमुख डा. थापाले भने, ‘अस्पतालमा आएका बिरामीलाई राख्नै प¥यो, जति जनशक्ति चाहिने हो त्यसको आधा जनशक्तिबाट काम चलाउ गरिएको छ ।’

भेरी अस्पतालमा अहिले ४० कोरोना सङ्क्रमितलाई सघन उपचार कक्ष, सात जनालाई भेन्टिलेटर र ८२ जनालाई कोरोना विशेष वार्डमा राखेर उपचार व्यवस्था मिलाइएको डा. थापाले बताए।

सामान्य अवस्थामा अस्पतालमा भिडभाड नगरिदिन, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखापरेमा स्वएकान्त बास गर्न अनुरोध गरिएको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए। 

उनका अनुसार स्वाब परीक्षणमा पोजिटिभ आएका व्यक्तिले समेत घरमै पर्याप्त आराम गर्ने, थर्मोमिटरको प्रयोग गरी तापक्रमको अभिलेख राख्ने, सामान्य ज्वरो आएमा सिटामोल आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । 

श्वासप्रश्वासमा समस्या आए, ज्वरो नियन्त्रण नभए वा अक्सिजन स्याचुरेसन ९४ प्रतिशतभन्दा कम भए अस्पतालमा आउन अस्पतालले अपिल गरेको छ। पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले यसपछि आउने सङ्क्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको धितालले बताए। 

प्रकाशित मिति: १४:२८ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्