Kathmandu Press

क्लिन फिडमा अटेरी, विदेशी च्यानलमा धमाधम बज्दै विदेशी विज्ञापन 

आईपी टीभीको गैरकानूनी प्रसारण तत्काल बन्द हुनुपर्ने महासंघको माग छ । आईपी टीभीबारे सरकारले निर्णय नगरुन्जेल क्लिन फिड लागू नहुने अडान पनि महासंघको छ ।
क्लिन फिडमा अटेरी, विदेशी च्यानलमा धमाधम बज्दै विदेशी विज्ञापन 
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ३ : सरकारले विदेशी टेलिभिजन च्यानलहरुमा लागु गरेको क्लिन फिडको नीति पछिल्लो समयमा आएर पूर्णरुपमा उल्लंघन हुदै आएको छ । 

गत कात्तिक ७ गतेदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियमावालीनै संशोधन गरेर विदेशी टेलिभिजन च्यानलहरूमा विदेशमा उत्पादित विज्ञापन अनिवार्य रुपमा बन्द गर्ने निर्णय कार्यन्वयन गरेको थियो । 

तर, अहिले आएरभने अधिकांश विदेशी च्यानलमा विदेशी विज्ञापन बजिरहेकै छन् । विदेशी टेलिभिजन च्यानलहरू नेपालमा प्रसारण गर्दा विज्ञापनरहित हुनुपर्ने नीति (क्लिन फिड) कार्यान्वयन गर्न सरकारले बनाएको ‘विज्ञापन (नियमन गर्ने) ऐन, ०७६’ ७ कात्तिक ०७६ मै प्रमाणीकरण भइसकेको छ । तर, ती सबै प्रावधान कुल्चेर विदेशी च्यानलमा विदेशी विज्ञापन बजिरहेकै छन्, सरकारले त्यसको नियमनप्रति बेवास्ता गर्दै आएको छ ।

त्यसको कारण पनि अनौठो छ । ‘क्लिन फिड’ नीति कार्यान्वयन र अनुगमनका लागि सञ्चार मन्त्रालयले गठन गर्नुपर्ने विज्ञापन बोर्ड गत १५ मंसिरमा मात्र स्थापना भयो । महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवार बोर्ड सदस्य पनि नियुक्त भए । बोर्डका अध्यक्ष नियुक्त गर्न थप ४ महिना लाग्यो । २० चैतमा मात्र लक्ष्मण हुमागाईं बोर्ड अध्यक्ष नियुक्त भए ।

बोर्डले भर्खरै पूर्णता पाएकाले क्लिन फिड लागू गर्न अध्ययन–अनुसन्धान सोही बोर्डले गर्ने मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेल बताउँछन् । ‘विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) बनाउन विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बनाइएको छ,’ पौडेल भन्छन्, ‘अब कार्यान्वयनका लागि अध्ययन र अनुसन्धान गर्ने काम विज्ञापन बोर्डले गर्छ ।’

ऐनको दफा ६ उपदफा १ मा भनिएको छ, ‘नेपालमा प्रसारण हुने टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।’ सोही दफाको उपदफा २ मा ‘ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने’ उल्लेख छ । उपदफा ३ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गर्न नपाइने उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता पौडेल भने क्लिन फिड लागू भइसकेको दाबी गर्छन् । ‘कतिपय विदेशी च्यानलले लागू गरिसकेका छन् । लागू नगर्ने च्यानललाई विज्ञापन बोर्डले कार्यान्वयन गराउन दबाब दिन्छ,’ उनी भन्छन् ।

भ्रम र उत्तेजना फैलाउने, अमर्यादित, भेदभावजन्य तथा ऐन र विज्ञापन मापदण्डविपरीत प्रसारण गर्ने गरेको पाइएमा कारवाहीका लागि सिफारिस गरिने बोर्ड अध्यक्ष हुमागाईं बताउँछन् । आफू भरखरै बोर्ड अध्यक्ष नियुक्त भएकाले क्लिन फिड लागू गर्न भइरहेको ढिलाइ अध्ययन गर्न बाँकी रहेको हुमागाईंको भनाइ छ ।

‘अध्ययनपछि टेलिभिजन च्यानलहरूलाई विज्ञापनरहित पठाउन आग्रह गर्छौँ । विज्ञापन पठाउने भए सम्झौता गरी ऐनअनुसार अगाडि बढ्न पत्राचार गर्छौँ,’ उनी भन्छन्, ‘पत्राचार गर्दा पनि मानेनन् भने लागू गर्न समय तोकिदिन्छौँ । र, त्यति गर्दा पनि क्लिन फिड लागू नगरे प्रसारण बन्द गर्नेसम्मको कारवाही गर्छौँ ।’

खासमा, सरकारले विज्ञापन बोर्ड गठन गर्नै ढिलाइ गरेका कारण क्लिन फिड लागू हुन नसकेको हो । ‘अब तीव्रताका साथ काम गरी तत्काल क्लिन फिड लागू गर्न दबाब दिन्छौँ,’ हुमागाईं भन्छन् ।

केबल व्यवसायीको बेग्लै अडान

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ भने आईपी टीभीको गैरकानूनी प्रसारण बन्द नगरे क्लिन फिड कार्यान्वयन नगर्ने अडानमा रहँदै आएको छ ।

७ कात्तिकदेखि नै क्लिन फिड लागू गर्न सबै केबल टीभी प्रसारकहरू तयार भएको तर एन्ड्रोइड आईपी टीभी बक्सबाट एप्लिेकसनमार्फत भइरहेको प्रसारण बन्द गर्नेतिर सरकारले चासो नदिएका कारण क्लिन फिड कार्यान्वयन गर्न नसकिएको महासंघका अध्यक्ष धु्रव शर्मा बताउँछन् ।

‘त्यस्ता एप्लिकेसन सजिलै डाउनलोड हुन्छन्, जसका कारण विदेशी च्यानलहरू सहजै प्रसारण भइरहेका छन्,’ शर्मा भन्छन्, ‘तिनीहरू बन्द नभएसम्म केबल टेलिभिजन व्यवसायीले मात्र कार्यान्वयन गर्दैनौँ ।’

आईपी टीभीको गैरकानूनी प्रसारण तत्काल बन्द हुनुपर्ने महासंघको माग छ । आईपी टीभीबारे सरकारले निर्णय नगरुन्जेल क्लिन फिड लागू नहुने अडान पनि महासंघको छ ।

एप्लिकेसनमार्फत एन्ड्रोइड आईपी टीभीको प्रसारण राष्ट्रिय प्रसारण नियमावलीविपरीत रहेको महासंघले बताउँदै आएको छ । 

महासंघको माग पूरा हुन नेटफ्क्सि, एमेजन, हटस्टारलगायत मोबाइल एपमार्फत हेर्न सकिने भिडियो सामग्रीमा पनि विदेशी विज्ञापन बजाउन पाइने छैन । ती एपमा पनि गैरकानूनी रूपमा विदेशी विज्ञापन बजिरहेकै छन् ।

‘त्यस्ता एप्लिकेसन र ओटीटीहरू तत्काल बन्द हुनुपर्ने माग पनि अगाडि सारेका थियौँ । तर, सम्बन्धित निकायले त्यसमा चासो देखाएनन्,’ शर्मा भन्छन् ।

विज्ञापन व्यवसायीहरूका अनुसार यस्ता प्लेटफर्ममा पनि क्लिन फिड लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणले ‘सफ्टवेयर’मार्फत नियन्त्रण गर्नुपर्छ । ‘प्राधिकरणले अहिले म्यानुअल्ली मात्र विज्ञापन बन्द गराउँछ । जबसम्म सफ्टवेयरमार्फत बन्द गराउँदैन, ओटीटी प्लेटफर्ममा क्लिन फिड लागू हुँदैन,’ एक विज्ञापन व्यवसायी भन्छन् ।

‘२–३ महिनामा सबै च्यानलमा क्लिन फिड’

विज्ञापन बोर्डले पूर्णता पाएकाले क्लिन फिड लागू गर्न तीव्रतासाथ काम गर्ने आशा नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सोमप्रसाद धितालको छ । ‘कतिपय विदेशी च्यानलले विज्ञापनरहित बनाइसकेका छन्, कतिपय च्यानलले बनाउने क्रम सुरु गरेको जानकारी दिएका छन्,’ उनी भन्छन्, ‘विज्ञापन बोर्डले भर्खरै पूर्णता पायो । अब सशक्त रूपमा काम गर्छ । क्लिन फिड लागू गर भन्ने हो, नगरे प्रसारण बन्द गरिन्छ ।’

उनका अनुसार नेपालमा हेरिने विदेशका केही मुख्य च्यानल विज्ञापनरहित भइसकेका छन् । ‘अटेर गर्ने च्यानललाई कारवाहीका लागि मन्त्रालयसँग सल्लाह गरेका छौँ,’ उनी भन्छन्, ‘मन्त्रालयले विज्ञापन बोर्डमार्फत कारवाही अगाडि बढाउँछ ।’

आगामी २–३ महिनाभित्र सबै विदेशी च्यानलमा क्लिन फिड लागू हुने उनको भनाइ छ । असार मसान्तभित्रमा सबै च्यानलमा क्लिन फिड लागू हुने आनको बुझाइ छ ।

सरकारले ‘राष्ट्रिय आमसञ्चार नीति, ०७३’ स्वीकृत गर्दै १ साउन ०७४ मै क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो । तर, कार्यान्वयन भएन । साउन ०७५ देखि क्लिन फिड लागू गर्न सार्वजनिक सूचना प्रकाशन ग¥यो । त्यो पनि अन्तिम समयमा आएर रद्द गरिएको थियो । विज्ञापन ऐन, विज्ञापन बोर्ड सबै निर्माण र गठन भइसक्दा पनि क्लिन फिड लागू गर्न अझै ढिलाइ भइरहेको छ ।
 

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्