Kathmandu Press

कोरोनाको नयाँ ‘भेरियन्ट’ पुरानोभन्दा किन घातक ?

दुई हप्ताअगाडि मात्र आइसियुमा कोरोनाका बिरामीको संख्या शून्य थियो तर अहिले १८ जना पुग्नु नै कोरोनाको दोस्रो लहर सुरु हुनुको संकेत हो।
कोरोनाको नयाँ ‘भेरियन्ट’ पुरानोभन्दा किन घातक ?

अहिले टेकु अस्पतालमा ह्वात्तै बिरामी बढेका छन्। प्रत्येक दिन कोरोनाका बिरामी बढेको प्रत्यक्ष देखिएको छ। पछिल्लो तीन महिनाको अवधिमा आइसियुमा भर्ना हुनेको संख्या पनि निकै बढेको छ। जुन तीन महिनाको अन्तरालमा सबै भन्दा उच्च हो। अहिले टेकु अस्पतालमा मात्रै १५ जनाको कोरोना बिरामी उपचाररत छन्। केही दिनअगाडि १८ जना थिए भने दुई तीनजना निको भएर घर फर्किसकेका छन्।

अहिले लक्षण देखेका मानिसहरूले पनि कोरोना परीक्षण गराएका छैनन्। त्यही कारण पनि कोरोना संक्रमितको संख्या कम छ, तर बिरामी सोचेभन्दा धेरै छन्। हामीले कोरोना परीक्षण गराउँदा देखिएका बिरामीलाई मात्र संक्रमितको संख्याका रूपमा लिइरहेका थियौँ। तर त्योभन्दा धेरै सिकिस्त बिरामीहरू भर्ना भएका छन्।

अहिले देखिएको कोरोनाको लक्षण पनि विगतका जस्तै रुघाखोकी निमोनिया नै हो। तर, अलि फरक भनेको थकाई लागे पनि निमोनिया हुने, अलिअलि ज्वरो आएपनि निमोनिया हुने, केही सामान्य स्वास्थ्य समस्या आएपनि निमोनिया हुनेहरूको संख्या बढी छ।

हिजो मात्र पनि कोरोना संक्रमितहरू पाँचजना अस्पतालमा भर्ना भएका छन्। दैनिक संक्रमितहरू थपिने क्रम बढिरहेको छ। पछिल्लो दुई हप्तामा धेरै बिरामीहरू आउन थालेका छन्। दुई हप्ताभित्र मात्र अस्पतालको आइसियुमा भर्ना हुनेको संख्या १८ जना पुग्यो।

अहिले मानिसहरू कोरोना संक्रमण पुष्टि भएका आफ्नो दैनिकीमा समस्या आउने डरले परीक्षण गर्न गइरहेका छैनन्। त्यसै कारण पनि समयमा उपचार नपाउँदा आइसियुमा भर्ना हुनेको संख्या बढेको हो। परीक्षण नगराई सीधै अस्पतालमा आउँदा सो मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको खण्डमा स्वास्थ्यकर्मीका लागि पनि खतरा हुन्छ। जुन अहिलेको मुख्य चुनौती हो।

यसबाहेक हामीले एक वर्षसम्म भोगेका हरेक कठिनाइहरूको सामना गर्न तालिम प्राप्त जनशक्ति हामीसँग छ। त्यसैलाई सदुपयोग गर्ने हो भने कोरोाना नियन्त्रण गर्न सकिन्छ। मुख्य कुरा लापरबाहीले संक्रमण बढ्यो तर नयाँ प्रकारको कोरोना नै आएको हो किभन्ने आशंका पनि छ। अहिले संक्रमितको मृत्युदर बढेको देखिएको नभए पनि दुईदेखि चार हप्तामा मृत्युदर पनि बढेको प्रत्यक्ष देखिन सक्ने सम्भावना बढेको छ।

तर, यसको मतलब फेरि लकडाउन सुरु गर्ने होइन। नेपालमा लकडाउनको आवश्यकता छैन। किनभने सरकार र जनता दुवै मिलेर जनस्वास्थ्यका मापदण्डको मात्र राम्ररी पालना गर्ने र गराउने हो भने कोरोना नियन्त्रण गर्न ठूलो कुरा होइन।

तर अहिले सर्वसाधारणले एक वर्षमा भोगेको लकडाउनले आजित भइसकेका छन्। त्यही कारण उनीहरूमा जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ भन्ने सोच नै हराइसकेको छ। अर्को कुरा आर्थिक मन्दीका कारण पनि उनीहरू यो अवस्थाबाट थाकिसकेका छन्। तसर्थ अहिले सरकारले दुईवटा कार्यमा विशेष ध्यान दिन जरुरी भएको छ। एक कोरोना नियन्त्रण र अर्को जनताको भोकमरी तथा दैनिकीलाई सहज बनाउने व्यवस्था गर्न अतिआवश्यक भइसकेको छ।

मुख्य कुरा सबै जनतालाई जसरी हुन्छ मास्क लगाउन बाध्य बनाउन जरुरी छ। व्यवसायमा पनि नियमको पालना गर्न लगाउने, नमानेको खण्डमा कारबाही गर्ने। सबैलाई बुझ्ने र मनन गर्ने ढंगबाट जनस्वास्थ्यका मापदण्डहरू पालना जसरी हुन्छ पालना गराउनै पर्छ। यति गरे पनि कोरोना नियन्त्रणका लागि फलदायी हुन्छ।

अहिले काठमाडौं, पोखरा लगायतका जनघनत्व बढी भएका ठाउँमा कोरोना संक्रमितको संख्या बढिरहेको देखिन्छ। त्यसैले सरकारले देशव्यापी लकडाउन नगरी कोरोनाको हटस्पट बनेका ठाउँमा कोरोना नियन्त्रणका लागि व्यवस्थापनमा कडाइ गरेर पनि नियन्त्रण गर्न सकिन्छ।

भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ। खुला सीमा भएकाले नेपालमा यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ। कोरोनाको बढ्को संक्रमित संख्यालाई नियन्त्रण गर्न भारतको धेरै ठाउँमा लकडाउन समेत घोषणा गरिसकेको हुँदा त्यहाँ कार्यरत धेरै नेपाली नेपाल फर्कन सक्ने सम्भावना प्रबल छ। उनीहरूको व्यवस्थापनमा चुक्यो भने नेपालमा कोरोना व्यापक फैलन सक्ने सम्भावना छ।

अहिले कोरोना संक्रमितमध्ये युवा र ज्येष्ठ नागरिक दुवै आइरहेको भएपनि विगतको तुलनामा युवाको संख्या बढिरहेको देखिन्छ। अहिले सरकारले समारोहहरू बन्द गर्न भने पनि धेरै ठाउँमा त्यसको पालना भएको छैन। त्यसै कारण आगामी दिनमा संक्रमित संख्या अझै व्यापक हुने सम्भावना छ। लापरबाहीकै कारण पहिलाभन्दा अहिले संक्रमित संख्या बढेको हो, आगामी दिनमा पनि त्यही कुरा दोहोरिने तयजस्तै भइसकेको छ।

उदाहरणका लागि तीन महिनाअगाडिको लापरबाहीकै कारण अहिले आइसियुमा उपचारत कोरोनाका बिरामी बढेका हुन्। यही लापरबाहीलाई निरन्तरता दिने हो भने आगामी दिनमा अझै बढ्ने निश्चित छ। समग्रमा हेर्ने हो भने अबको चारदेखि पाँच हप्ताभित्र अहिलेको लापरबाहीको परिणाम देख्न सक्छौँ। कोरोनाको दोस्रो लहर सुरु भइसकेको छ। दुई हप्ताअगाडि मात्र आइसियुमा कोरोनाका बिरामीको संख्या शून्य थियो तर अहिले १८ जना पुग्नु नै कोरोनाको दोस्रो लहर सुरु हुनुको संकेत हो।
(कुराकानीमा आधारित)

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्