अहिलेकै व्यवस्थामा चुनावमा जाँदैनौँ : प्रकाण्ड

२८ फागुन ०७५ मा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि भूमिगत गतिविधि गर्दै आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा प्रतिबन्ध हटाइएपछि गत २१ फागुनदेखि शान्तिपूर्ण राजनीतिमा फर्केको छ । त्यसयता आफ्नै हिसाबबाट गतिविधि गर्दै आएको उक्त पार्टीले अहिलेको राजनीतिक संकटलाई कसरी हेरिरहेको छ ? चुनाव र संसदीय व्यवस्थाप्रति विमति राख्दै आएको उक्त पार्टीका दृष्टिकोण र कार्यक्रममा आधारित रहेर पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँग काठमाडौं प्रेसका लागि शुष्मा बरालीले गरेको संवाद  :

पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी विश्लेषण गरिरहनुभएको छ ?

देश अहिले संकटमा छ । राष्ट्रियतामाथि नै धेरै विदेशी शक्तिहरूको हस्तक्षेप छ । विगतमा पनि यस्तो हस्तक्षेप थियो तर त्यो समय सापेक्षतामा थोरै मात्रामा थियो । हामीले चाहेको राष्ट्रिय मुक्ति हो । अहिले राष्ट्रियता नै खतरामा छ । नेपाली जनताले सात सालदेखि संघर्ष गरे– आफ्नो अधिकार, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, आधारभूत आवश्यकता परिपूर्तिका लागि । तर, पछिल्ला दिनमा ती आधारभूत आवश्यकतालाई स्थापित गर्ने, जनताको जीवनमा अभ्यास र लागू गर्नेभन्दा शासकहरू लुट्नतिर गए ।

अहिले देशमा राजतन्त्र छैन, यदि राजतन्त्र हुन्थ्यो भने उसैलाई लुटको आरोप लगाउन सहज हुन्थ्यो । तर, अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । संघीय लोकतान्त्रिक गणतन्त्रका शासकहरू भनेको यिनै मुख्य पार्टीहरू हुन्, जसले संसदीय राजनीति गर्छन् । यिनै पार्टीहरूले काम गर्नुपर्ने हो नि, देश र जनताका निम्ति । तर, त्यसो भएन ।

कांग्रेस, एमाले र माओवादीले देशको नेतृत्व गरे । तर, जनताका पक्षमा के काम भयो ? केही पनि भएन । पछिल्लो दिनमा ०६२–६३ देखि ०६८ सम्मको नेपालको राजनीतिक प्रक्रियामा नैतिकताका आधारमा हामी पनि जिम्मा लिन्छौँ । किनभने, ०६८ सम्म हामी पनि माओवादी नै थियौँ । तर, हामी त्यतिबेला यो जिम्मेवारीमा थिएनौँ । त्यो समयमा हाम्रो बोध गराई एउटा तहको थियो । मुख्य जिम्मेवारी हाम्रो काँधमा थिएन, हामी सहयोगीका रूपमा थियौँ । मुख्य जिम्मेवारीका रूपमा प्रचण्ड, बाबुरामहरू हुनुहुन्थ्यो । भनेपछि जनताको शासनका निम्ति माओवादीले पनि व्यवस्था परिवर्तन गर्न सकेन । उहाँहरू सबै मिलेर नै अहिले देशमा यस्तो संकट आएको छ ।

जनता प्रताडित छन् । नेताहरू भने मञ्चमा भाषण गर्ने बेलामा संघीय गणतन्त्रबाहेक अरू कुरा गर्दैनन् । संविधानको मोडेल र प्रणालीका ठूला भाषण गर्छन् तर जनताको जीवनमा विकास खोई ? किसान, मजदुर, श्रमजीवी, महिला, दलित, अल्पसंख्यकको अवस्था अझ दयनीय छ ।

तस्बिर : सुजल बज्राचार्य

देशमा कतिपय यस्ता घटना भए, जसले अन्तर्राष्ट्रियस्तरमै बदनामी कमाए । आम जनताको आक्रोस दिन प्रतिदिन बढ्दो छ । नेतृत्वले भन्ने संविधानले यी तमाम कुरामा कुनै काम गर्दैन । तसर्थ, पछिल्लो राजनीतिक घटनाक्रमका कारण देश सर्वाधिक संकटमा छ । देशको नेतृत्व लिइरहेको सरकार नै आफ्नै प्रणाली भंग गर्नुपर्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी ओलीले भन्ने गर्नुभएको छ, मैले काम गर्न चाहेको थिएँ, तर मलाई काम गर्न दिइएन, भित्र र बाहिर दुवैतर्फबाट घेराबन्दी गरियो र अप्ठ्यारोमा पारियो । यो के हो त ? कस्तो अवस्था हो ? देशको नेतृत्वले आफ्नो प्रणाली भंग गर्नुपर्ने अवस्था आउनु सामान्य संकट होइन ।

त्यसकारण यो संकटको बेलामा हामीले सडकबाट विकल्प प्रस्तुत गरिरहेका थियौँ । देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत जनताका आधारभूत आवश्यकता परिपूर्तिको विकल्प दिइरहेका थियौँ । हाम्रो निष्कर्ष के हो भने अब यी संसदवादी दलहरूबाट देशको संकटको समाधान सम्भव छैन । उहाँहरूले संसदीय घेराभित्रै कुमालेको चक्रजसरी घुमाउन त सक्नुहुन्छ । ओलीजी, प्रचण्डजी, नेपालजीले पालैपालो घुमाउनु होला । त्यही वरिपरि कांग्रेस, मधेशवादी पार्टीहरू घुम्लान् तर जनताले चाहेको त क्रान्तिकारी र प्रगतिशील विकास हो । त्यसैले राष्ट्रिय राजनीतिमा नयाँ पहल थालेका छौँ । देशको स्थिति संकटको चरमोत्कर्षमा छ, देशकै अस्तित्व रहन्छ कि रहँदैन भन्ने अवस्था छ, जुन निकै भयावह स्थिति हो ।

दुई तिहाइको कम्युनिस्ट सरकारबाट राजनीतिक स्थिरता हुन्छ भन्ने जनअपेक्षा थियो । तर, पछिल्ला राजनीतिक घटनाक्रमले कम्युनिस्टप्रतिको बुझाइ नै गलत सावित भएको देखिन्छ । कम्युनिस्ट आइडोलोजी खराब रहेछ, गरिब, सर्वहारा र भुईंमान्छेका लागि कम्युनिस्ट होइन रहेछन्, बरु राजतन्त्र नै ठीक भन्ने स्थिति उत्पन्न भएको छ, यस विषयमा के भन्नुहुन्छ ?

व्यावहारिक रूपमा हेर्दा कम्युनिस्ट सरकारका नाममा समस्याहरू पैदा भएका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा जनताले कम्युनिस्ट पार्टी, सिद्धान्त र राजनीतिलाई जसरी बुझेका थिए, त्यसको ठीकविपरीत नेपालका कम्युनिस्टहरूले सरकारमा पुगेपछि राष्ट्र र जनताको हितसँग बाझिने गतिविधि गरे । नितान्त आफ्नो सत्ता र कुर्सीको स्वार्थसँग सम्बन्धित देखिए । त्यस्ता क्रियाकलापले जनतामा कम्युनिस्टप्रतिको बुझाइ गलत सावित भयो ।

कम्युनिस्ट भनेका पनि उस्तै हुन् कि भन्ने जनतामा प्रश्न उठ्यो । कम्युनिस्टहरू व्यवहारमा कांग्रेसभन्दा जनविरोधी हुन् कि भन्ने बुझाइ भयो । पञ्चायती व्यवस्थाका एकआध कुरा हेर्ने हो भने राष्ट्रघात थिएन, देशप्रति बफादार थिए । पञ्चायतको आर्थिक स्थिति नियाल्दा आफ्नै उद्योग, कलकारखाना थिए, जनता देशकै उत्पादन उपभोग गरेका थिए । अहिले ती कलकारखाना, उद्योगधन्दा कहाँ छन् ?

कम्युनिस्ट शासनले जनता र देशप्रति गरेको गलत व्यवहारले जनमानसमा कम्युनिस्टप्रतिको बुझाइमा विभ्रम पैदा गरेको छ । विश्वमा साम्राज्यवादी बुुर्जुवाहरूले कम्युनिस्टहरूलाई बदनाम गरेर सिध्याउने दुस्साहस गरिरहेका छन् । तर, यथार्थ फरक छ, अहिले दुनियाँमा जो जनता श्रम गरेर, आफ्नो पसिनामा बाँच्छ, त्यो वर्गको प्रतिनिधित्व गर्ने पार्टी भनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नै हुन् । ती जनताको राजनीतिक अधिकारलाई सुनिश्चित गर्ने भनेको कम्युनिस्ट व्यवस्थाको सत्ताले नै हो ।

त्यसैले नेपालमा अब वैज्ञानिक समाजवाद चाहिन्छ । अब संसदीय व्यवस्थाले भएन, यो सैद्धान्तिक र व्यावहारिक ढंगले सत्य हो । २० औँ शताब्दीमा अन्तर्राष्ट्रिय रूपमा स्थापित गरियो, अभ्यास पनि गरियो तर ८० को दशकपछि यसमा केही चुनौती देखापरे । कम्युनिस्टहरूले पनि त्रुटी गरे, त्यो साम्राज्यवादीहरूलाई बाँदरलाई लिस्नो पाएजस्तो भयो । अहिलेका कम्युनिस्टहरूले त्यो त्रुटीलाई सुधार्नुपर्ने हो तर यी कम्युनिस्टले पनि त्यही त्रुटी गरिरहेका छन् ।

श्रमजीवीको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीले नै हो । कम्युनिस्ट पार्टीका खराबीहरूलाई सुधार्नुपर्ने हो । राजनीति भनेको स्वयंसेवा हो । अझ, कम्युनिस्ट राजनीति त पूर्ण स्वयंसेवा हो । तर, नेपालका कम्युनिस्टको अवस्था पूरा व्यावसायिक छ । यस्तो अवस्थामा यी कम्युनिस्टका खोलधारी बदनाम नभएर को होला त ? यिनीहरू नसिद्धिएर को सकिएला त ? नेपालका कम्युनिस्टको खोल ओढेका शासक आफू मात्र सिद्धिए त केही फरक पर्दैनथ्यो । तर, खराब कम्युनिस्टले गरेको जनविरोधी र राष्ट्रघाती कामले इमानदार कम्युनिस्टहरूले त्यसको क्षतिपूर्ति गर्नुपर्ने अवस्था आयो । खराब कम्युनिस्टले गरेको गल्तीका कारण कम्युनिस्ट आन्दोलनमा लागेका आमजनताको कम्युनिस्ट आस्था ध्वस्त हुने स्थिति बनेको छ । जनमानसमा हुर्कँदै गरेको कम्युनिस्टप्रतिको गतल बुझाइलाई सुधार्न हामी आएका हौँ ।

अहिलेको सरकार प्रतिगमनतिर गएको बताउँदै देशका प्रमुख दलहरू कांग्रेस, माओवादी केन्द्र र एमालेकै नेपाल–खनाल पक्ष विरोधमा छन् । यस्तो अवस्थामा तपाईंको पार्टी र प्रधानमन्त्री केपी ओली कुन सिद्धान्त, विचार मिलेर वार्तामा पुग्नुभयो ? कस्तो मतले यस्तो परिस्थिति ल्यायो ? के तपाईंहरूको ट्युनिङ मिलेको हो ?

हामीले उठाएको विषय हाम्रो पार्टी नेतृत्व र नेताहरूको व्यक्तिगत विषय थिएन । हामीले कम्युनिस्ट पार्टीको तर्फबाट देश र जनताको विषय उठायौँ । हामीले शान्तिपूर्ण मुद्दाहरू उठाइरहेका थियौँ । हाम्रो विचार, कार्यक्रम र गतिविधिले राष्ट्रिय राजनीतिमा प्रभाव पार्न थाल्यो, हामीले जनताको मन जित्न थाल्यौँ ।

सरकारी नेकपामा त्यसबाट आतंक पैदा भयो, विशेषगरी नेतृत्वमा रहेका ओली र प्रचण्डजीलाई । दुवैजना एकदमै मिलेको उन्मादको अवस्था थियो त्यतिबेला । उन्मादले मानिसलाई अन्धो बनाउँछ, त्यसैले हामीलाई प्रतिबन्ध लगाएर हस्तक्षेप गर्नुभयो ।

देश र जनताको स्वतन्त्रता र स्वाधिनताका लागि बलिदान गर्न तयार हाम्रो विचारमाथि मात्र हस्तक्षेप थिएन त्यो, समग्र राष्ट्रियता र नेपाली जनतामाथि हस्तक्षेप थियो । होइन भने राष्ट्र र जनताको निम्ति आवाज उठाउने पार्टी र नेताहरूमाथि किन दमन गर्नुपर्ने ? त्यसको खिलाफमा पार्टीको वैचारिक, राजनीतिक, प्रवृत्तिगत आचरण र व्यवहार नभई परिवर्तन सम्भव हुँदैन ।

प्रतिबन्धको खिलाफमा दुई वर्ष मात्र लड्दा जुन आरोप लगाउनुभएको थियो, त्यो खोई पुष्टि गरेको ? हामी देश र जनताको हितमा छौँ भन्ने हामीले पुष्टि ग¥यौँ । अहिलेको दुई तिहाइनजिकको सरकार नेपाली जनताको नजरबाट गिरेको छ । यो नेतृत्वप्रति नेपाली जनताको भयंकर आक्रोश र वितृष्णा छ । दुई तिहाइको नेकपाको सरकारले आगामी ५० वर्षसम्म शासन चलाउने भाषण सुनेका थियौँ, जतिबेला हामी जनताको घर आँगनमा थियौँ । ५० वर्ष छाडिदिनूस्, ५० महिना टिकाउनूस् न हामी हेर्छौँ भनेर हामीले त्यहीँबाट भनेका थियौँ ।

५० महिना नपुग्दै सरकार संकटमा छ । पार्टी विघटन भएको छ । अहिले ओलीजी र प्रचण्डबीच हामीसँग भन्दा बढी दुष्मनी छ, मिल्थ्यो भने त एकअर्कालाई बन्दुकले हान्नुहुन्थ्यो । त्यसो गर्न मिल्दैन र बन्दुक छैनन् पनि होला । उहाँहरूको पार्टीभित्रको संकट कुनै वैचारिक बहसमा केन्द्रित छैन । कुर्सीमा भएकोलाई फालेर आफू जाने, पदमा भएकालाई हटाएर आफू र आफ्नालाई राख्नेबाहेक केही छैन । उहाँहरूको कुर्सीको लडाईंलाई राष्ट्रको समस्या बनाउने अनि प्रताडित गर्ने ?

संघर्षका क्रममा हामीले जे भन्यौँ, अहिले त्यही स्थापित भयो । अहिले हेर्दा सरकारले आफूलाई समीक्षा गरेकोजस्तो लाग्छ । ओलीजीले आफूलाई समीक्षा गर्नुभयो, देशको स्थिति पनि हेर्नुभयो । हाम्रो पार्टी वास्तविक पार्टी भएको उहाँलाई लाग्यो । हामी इमानदार र राष्ट्रवादी पनि छौँ र जनताका पक्षधर हौँ भन्ने लाग्यो उहाँलाई । त्यसैले आफूले गरेका गतिविधि सुधार्नुपर्छ भन्नेमा पुग्नुभयो ।

हामीले व्यक्तिगत स्वार्थका आधारमा यो सबै गरेका छैनौँ । व्यक्तिगत स्वार्थ हामीलाई स्वीकार्य पनि छैन । त्यो कुरा हामीले आफ्नो जीवन र आन्दोलनबाट पनि प्रष्ट पार्‍यौँ । यो दुई वर्षभित्र हाम्रा दुई दर्जन साथीको सहादत भएको छ । हामी पनि बालबाल बाँचेका हौँ । नेपाली जनताको माया र विश्वासले यहाँसम्म आएका हौँ । ओलीजी यो सबै समीक्षा गर्न तयार हुनुभयो ।

यो विषयलाई बाहिर अनेक अर्थ लगाइएको छ । एकथरिलाई यो सम्झौता मनपरेको छैन । सरकारको नेतृत्व गरेका ओलीलाई भन्नूस् या उहाँको पार्टीमा हाम्रो पार्टीप्रति सकारात्मक दृष्टि नभएसम्म कहाँ सहमति हुन्थ्यो र ? हामीले मात्र चाहेर सम्भव थिएन । तसर्थ, हामीले उठाएका मुद्दा र हामीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक भएर यो सम्भव भयो । राष्ट्रिय संकटको घडीमा तयार हो भने एउटा सहमति गरौँ, देशलाई क्रान्तिकारी निकास दिन तयार छौँ भनेर हामीले भन्यौँ ।

हिजोको हाम्रो संघर्षको मोर्चालाई बदल्छौँ । हिजो हाम्रो सडकबाट जनसंघर्ष थियो, अब शान्तिपूर्ण तरिकाले त्यसलाई अगाडि बढाउँछौँ । जनतासँग परामर्श गर्छौँ, जनपरिचालन गर्छौँ । देशलाई विकल्प दिएर अगाडि बढ्छौँ भन्यौँ । त्यसपछि उहाँहरू पनि तयार हुनुभयो र हाम्रो कुरा मिलेको हो । र, एउटा विन्दुमा आएर सहमति भएको हो ।

सशस्त्र संघर्ष गरेर आएको पार्टीसँग हातहतियार त थिए होलान् ? ती हतियार कहाँ छन् ?

संघर्षको समयमा हाम्राविरुद्ध निकै ठूला षडयन्त्र भए । एउटा घटना सुनाउँछुु । दाङमा हाम्रो पार्टीले भण्डारण गरेका हतियार बरामद भएको भनेर प्रहरीले पत्रकार सम्मेलन गर्‍यो । र, ७–८ वटा एसएमजी पत्रकार सम्मेलनमा देखाइयो । त्यो हाम्राविरुद्ध गरिएको षडयन्त्र थियो । यस्ता घटना विगतमा धेरै ठाउँमा भएका छन् । जनताको सबैभन्दा ठूलो हतियार भनेको विचार र राजनीति हो । त्यो तपाईसँग छ भने तपाईंले नभएका चिज पनि बनाउनुहुन्छ । तपाईंसँग विचार र राजनीति छैन भने भएका चिज पनि गुम्छन् ।

१० वर्षे जनयुद्धको समयमा हामीसँग हातहतियार थिए । ३५ हजार सेनामा १९ हजार अनमिनले प्रमाणीकरण ग¥यो । सबै हतियार बुझाइयो । जनयुद्धको सुरुमा जनतासँग हतियार थिएनन्, न त ०२८ सालमा झापा विद्रोहकै क्रममा हतियार थिए । तसर्थ, कुरा हतियारको होइन, विचार र राजनीतिको हो । समस्या पनि हतियारको होइन, विचार र राजनीतिको हो । समस्याको समाधान राजनीतिबाटै खोजिनुपर्छ । समस्याको समाधान राज्य र जनताबीचको अन्तरविरोधबाट खोजिनुपर्छ । राज्यले आफ्नो दायित्व वहन नगरेपछि जनतामा पैदा हुने आक्रोसको सामाधान खोज्नुपर्छ भन्ने हाम्रो पहिलो तर्क हो । दोस्रो– देशमा युद्ध थियो भने हतियार हुन्थ्यो । तर, देशमा युद्ध थिएन अर्थात् हामीसँग हतियार छैनन् । त्यसैले त्यसको चिन्ता लिनुपर्दैन ।

तपाईंहरू केपी ओली, प्रचण्ड, माधवकुुमार नेपाल, डा. बाबुराम भट्टराई, उपेन्द्र यादवमध्ये कुन नेतासँग नजिक हुनुहुन्छ ? अहिलेको नेतृत्वलाई हेर्ने यहाँहरूको दृष्टिकोण के हो ?

यसमा दुई पक्ष छन् । पहिलो– म आफू स्वयं जनता भएका कारण जनताको पक्षबाट हेर्दा सचेत जनता र राजनीतिक मिसनमा छौँ । राणाहरूको दमनविरुद्ध कांग्रेसले नेतृत्व गर्ने बेलामा बीपी कोइरालाप्रति जनताको ठूलो आशा, अपेक्षा र विश्वास थियो । बीपी आफैंले विचारधारामा गल्ती गर्नुभयो । नेताहरूले शक्तिको स्रोत जनता र राष्ट्र नठानेर अन्यत्र भौँतारिन थालेपछि गल्ती हुन्छ । बीपीले गर्नुभएको गल्ती त्यही हो । राणा शासनविरुद्ध जनताले त्यत्रो विद्रोह गरे, सम्झौता भारतलाई राखेर गर्नुभयो, जुन गलत भयो । धेरै लामो समयसम्म शासन गर्न पाउनुभएन ।

मेरो तर्क के भने कांग्रेसबाट त्यतिबेला जनताका अपेक्षा थिए, कम्युनिस्ट पार्टी त भर्खर ६ सालमा स्थापना भएको थियो । त्यतिबेलाको आकार र स्थितिअनुसार कम्युनिस्ट पार्टीले भूमिका वहन ग¥यो, त्यसभन्दा बढी कांग्रेसले गर्न सक्थ्यो । तर, कांग्रेसले जनतामा रहेको नफरत बुझ्न सकेन । ०४६ सालदेखि अहिलेसम्म जनताको जीवनलाई प्रभाव पार्ने गरी धेरै होइन, २–४ वटा काम किन नगरेको ? यसको दोष जनतालाई दिएर हुँदैन, आफूलाई पनि फर्केर हेर्नुपर्छ ।

नेपाली जनतालाई कम्युनिस्टबाट पनि अपेक्षा थियो । तर, कम्युनिस्टले पनि जनतालाई निरास पारे । आन्दोलन र क्रान्तिले निश्चित आकार ग्रहण गरिसकेपछि नेताहरूले पुरानो सत्तासँग साँठगाँठ गर्ने र पुरानो सत्ताको कुर्सीमा जाने हतियारका रूपमा जनतालाई प्रयोग गरे । अनि, जनतामा नफरत पैदा भयो ।

यो गलत भयो भन्ने विश्लेषणसहित ०५२ सालमा हामी माओवादीहरूले नयाँ सुरुआत ग¥यौँ । १० वर्षे जनयुद्धमा माओवादीलाई समर्थन नगरेको र आन्दोलनमा सहभागी नभएको को जनता छ भन्नूस् त । त्यतिबेला कांग्रेस, एमालेलगायत सबैको समर्थन थियो । कुरा पार्टी र जनताको मात्र थिएन, इमान्दार कार्यकर्ताहरूले पनि सहयोग गरे । ०६२–६३ पछि शान्तिप्रक्रियामा आउने बेलामा प्रचण्डजीले जनतालाई सडकमा बेवारिसे बनाएर अन्यत्रै कुद्नुभयो ।

यो इतिहासलाई सैद्धान्तिक मात्र होइन, व्यावहारिक दृष्टिले पनि हेर्नुभयो भने कांग्रेस, एमाले र प्रचण्डजीबाट अपेक्षा गर्न सकिन्छ कि सकिँदैन, जनताले विश्वास गर्छन् कि गर्दैनन् भन्नेसँगै हाम्रो निकट र टाढाको सम्बन्धको फैसला हुन्छ । अहिले जनताले उहाँहरूसँग होइन, हामीसँग अपेक्षा गरेका छन् । सत्य यही हो ।

हामी आएपछि पनि ०६२–६३ पछिकै नियती दोहोरिने हो कि भन्ने बाहिर पिर देखिन्छ । अर्को षडयन्त्रमा फसाउँछन् कि, यही सरकार र राज्यमा जाने हुन् कि भन्ने चिन्ता जनतामा छ । जनअपेक्षा पूरा गर्ने सन्दर्भमा हाम्रो मुद्दामा जो सकारात्मक हुनुहुन्छ, उहाँ नै हामीसँग निकट हुनुहुन्छ । हाम्रा मुद्दामा नकारात्मक हुने नेतासँग राजनीतिक संघर्ष हुन सक्छ ।

सर्वोच्च अदालतको आदेशपछि प्रतिनिधिसभा पुनःस्थापना भएको छ । यहीबेला सत्तारुढ एमाले फुटको संघारमा छ । नेपालबाट गुटको राजनीति कसरी अन्त्य होला ?

नेताहरू माक्र्सवाद, लेनिनवाद र माओवादको सिद्धान्तविपरीत गएका छन् । कम्युनिस्ट पार्टीको राजनीतिक कार्यक्रममा उहाँहरूले त्रुटी गर्नुभएको छ । भन्ने कम्युनिस्ट अनि व्यवहार गर्ने पुँजीवादी, समस्या त्यहीँ छ । यो दोहोरो चरित्रको अन्त्य हुनुपर्छ । गुट, उपगुटको अन्त्य तब मात्र हुन्छ ।

हामीसँग उहाँहरूको जस्तो समस्या छैन । समस्या नआउने होइन, आउँछन् । कम्युनिस्ट पार्टीमा अझ धेरै समस्या आउँछन् । कम्युनिस्ट पार्टीभित्र पनि पुँजीवाद र सामन्तवादले समाजमा उत्पन्न गराएका समस्या प्रतिविम्बित हुन्छन् । नेता र कार्यकर्ता आउने भनेको त्यही समाजबाट हो । तर, नेताले समयमा समस्या चिन्ने र वैज्ञानिक ढंगबाट हल गर्ने क्षमता राख्यो भने कम्युनिस्ट पार्टीभित्रका समस्या र संघर्ष एकतामा परिणत हुन्छन् । उहाँहरूले त्यही गर्न नसक्नु भएको हो ।

कम्युनिस्ट पार्टी निर्माण गर्न र व्यवहारमा देखाउन नसक्दा समस्या आएको हो । पार्टीहरूले जनताको प्रतिनिधित्व गर्न सकेका छैनन् । जब कि, राजनीतिक पार्टीहरू जनताका प्रतिनिधि हुन् । जनताका हितको प्रतिनिधित्व पार्टीहरूले गर्न सकेका छैनन् । जनता एकातिर, राष्ट्र अर्कोतिर, पार्टी अलग । पुँजीवादी पार्टीले पनि पार्टी निर्माण गर्ने सन्दर्भमा सैद्धान्तिक, राजनीतिक रूपमा त्रुटी गरेका छन् । कम्युनिस्टहरूले त झन् ठूलो त्रुटी गरेका छन् । यो त्रुटीलाई नसुधार्ने हो भने यसैले खान्छ, जो अहिले संकेत देखिइसक्यो ।

मुलधारको राजनीतिमा आउनुभयो तर एकथरिको बुझाइ वार्तामा आउन हतारिनुभयो भन्ने छ । यसमा तपाईंहरूको बुझाइ के हो ?

जनताको तर्फबाट हुने चिन्तालाई हाम्रो पार्टीले सदैव सम्मान गर्छ । जनताले चासो र चिन्ता व्यक्त गर्नुका पछाडि विगतमा पाएको धोका हो । विगतका सबै संघर्षको परिणाम व्यक्त हुने समयमा जनतालाई धोका भएको छ ।

सात सालदेखि हरेकपटक जनताले गरेको आशा धोकामा परिणत भएको छ । सोही कारण जनता निराश छन् । सोही भोगाइका कारण जनताले हामीप्रति चिन्ता व्यक्त गर्नु भनेको हामीप्रतिको अपेक्षा हो । यसको सबैभन्दा डरलाग्दो चित्र भनेको ०६२–६३ को परिवर्तनपछिको अवस्था हो ।

हामीले नयाँ राजनीति, शिरा र कोणबाट आशा पैदा गरेका थियौँ । अहिले यहाँ आएर सम्झौता गरेपछि पुरानै अवस्था फर्किने हो कि भन्ने चिन्ता प्रकट हुनु स्वाभाविकै हो । तर, हामी देश संकटमा रहेका बेला मुल धारमा फर्केका छौँ । २१ फागुनपछि विकसित राजनीतिक घटनापछि जनताको चिन्तालाई सकारात्मक कोणबाट सम्मानका साथ लिएका छौँ । र, हामी धेरै गम्भीर छौँ । चिन्ता र सचेतताको तहसम्म ठीक छ, त्यसभन्दा बढी चिन्ता नगर्नु होला भन्न चाहन्छौँ । किनभने, हामीले कुनै पनि हालतमा देश र जनतालाई धोका हुन दिदैनौँ । यसमा जनतामाझ प्रतिबद्धता व्यक्त गर्छौँ ।

विगतमा भएका दर्जनौँ धोकाविरुद्ध लड्दै आएका छौँ र लड्नका लागि तयार भएका छौँ । ०६२–६३ पछि प्रचण्डजी माओवादी राजनीतिबाट संसदीय बुर्जुवा र अहिलेको दलाल संसदीय राजनीतिमा पतन नभएको भए र उहाँमा विचलन नआएको भए देश अर्कै हुन्थ्यो । उहाँसँगै हामीमा पनि विचलन आएको भए नेपाली राजनीतिमा प्रचण्डजी यति छिट्टै टाट पल्टिनु हुने थिएन ।

उहाँसँग वैचारिक र राजनीतिक रूपमा हामी असहमत भयौँ । र, जनतालाई धोका हुन्छ भनेर उहाँसँग अलग भयौँ । जनताले त्यस अर्थमा हामीप्रति चिन्ता व्यक्त गरेका छन् । अहिलेको सम्झौता हामीले आफ्ना निम्ति गरेका छैनौँ । देश र जनता संकटमा परेका बेला जनताको सोचअनुसार समाधान दिन पहल नगर्ने हो भने फेरि इतिहासका पांग्रा पछाडि धकेलिने छन् र जनताका आगामी दिन कष्टकर हुनेछन् भनेर उचित बेलामा पहल गरेर सम्झौता गरेका हौँ । यो हतारो पनि होइन, ढिलाइ पनि होइन । देशको परिस्थितिअनुसार लिएको यो पहलले राष्ट्र र जनतालाई फाइदा गरेको छ ।

कम्युनिस्टले रुनसमेत दिँदैनन्, अधिनायकवादी हुन्छन् भन्ने आरोप छ । यस्तो अवस्थामा नेकपाको रणनीति के छ ? जनताले चाहेजस्तो पार्टी बनाउन वैचारिक आधार के छन् ?

दुनियाँमा यदि कोही जनवादी र लोकतान्त्रिक अधिकारको पक्षमा कोही छन् भने कम्युनिस्टहरू मात्र हुन् । कम्युनिस्टको सिद्धान्त र राजनीति नै समाजमा रहने बहुसंख्यक जनताका लागि हो । विश्वव्यापी रूपमा भन्दा ९५ प्रतिशत जनताको प्रतिनिधित्व गर्ने कम्युनिस्ट राजनीति र विचार हो । नेपालको परिप्रेक्ष्यमा ९८ प्रतिशत जनताको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी र राजनीति हो । बुर्जुवा र पुँजीवादी विचार र राजनीति गर्ने पार्टीहरूले नेपालको सन्दर्भमा जम्माजम्मी दुई प्रतिशतको प्रतिनिधित्व गर्छन् । त्यसैले जनमत र जनचाहनाको प्रतिनिधित्व गर्ने कम्युनिस्टहरू हुने कि पुँजीवादीहरू ?

२० औँ शताब्दीमा पुँजीवादीहरूको सातो लिएका कम्युनिस्टहरूले पछिल्लो समयमा त्रुटी गरे । त्यो त्रुटीपछि साम्राज्यवादीहरू र विश्वका पुँजीपतिहरूलाई बाँदरलाई लिस्नो भयो ।  नेपालको सन्दर्भमा हामीले त्यो त्रुटीलाई सुधार गर्नुपर्छ भनेका छौँ । जनताका सबै दुःख दर्दहरूको अन्त्य गर्नुपर्ने मुख्य प्रतिनिधि र पहलकर्ता भनेको राज्य सत्ता हो । दोस्रो– त्यसबाट प्राप्त हुने शासन व्यवस्था हो । तेस्रो प्रतिनिधित्व गर्ने संविधान हो र चौथो नेतृत्व हो ।

यही कुरा नेपालमा नहुँदा समस्या जन्मेको हो, जसलाई हामी परिवर्तन गर्छौँ । राज्यसत्ता उत्पीडित वर्गको हुनुपर्छ । दलित, महिला, जनजाति, उत्पीडित वर्गको सत्ता भएन । त्यही सत्ता दिन हामी तयार गर्छौँ । ०६८ मा आइपुग्दा प्रतिक्रान्ति गरेका हौँ ।  त्यसबेलामा हाम्रो विद्रोह भनेको जनताको भावना र आकांक्षाको प्रतिनिधिमुलक विद्रोह थियो, जुन आम जनताको विद्रोहमा बदलिँदै छ र बदलिनुपर्छ ।

संसदीय व्यवस्थामा सर्वेसर्वा सांसदहरू हुन्छन् र उनीहरूले कार्यकर्ता निर्माण गर्छन् । त्यसैलाई शक्तिको स्रोत भन्नुहुन्छ उहाँहरूले । आम जनताको कुरा छोडिदिनूस्, उहाँहरूकै पार्टीभित्रको इमानदार र ठूलो त्याग गरेका कार्यकर्ता चुनावमा उम्मेदवार नै नहुने भए । कारण– इमानदारिता र त्यागको मूल्य नै नहुने भयो । चुनावका लागि नेताको चाकडी गर्न सक्ने हुनप¥यो, टिकट प्राप्त गर्न करोडौँ खर्च गर्नुपर्ने भयो । सांसद बन्न पाँच–सात करोड खर्च गर्नुपर्ने भयो । यस्तो अवस्थामा मजदुर, किसान, दलित, महिला, जनजातिको प्रतिनिधित्व कहाँबाट आउँछ ? यसलाई कसरी भन्न सकिन्छ लोकतान्त्रिक व्यवस्था ?

तसर्थ, यसको अन्त्य गर्नुपर्छ र त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था चाहियो भन्ने धारणा हो हाम्रो । अहिलेको व्यवस्था नै गलत हो, अहिलेको संविधान जनताको संविधान भएन । देश र प्रणालीको नेतृत्व गर्नेहरू श्रमजीवी जनता नभएर दलाल पुँजीपति भए ।

अहिले उत्पन्न भएका तमाम समस्याको जिम्मेवारी ओलीजीले लिनुपर्छ किनकि सरकार त उहाँले नै चलाइरहनुभएको छ । देश त उहाँको हातमा छ । तर, यसमा दोष ओलीजीको सरकारको मात्र छैन । दोष त राज्य प्रणाली र व्यवस्थामा छ । ओलीजीलाई झिकिदिनूस् र माधवजीलाई राखिदिनूस्, उहाँले पनि गर्ने त्यही हो । तसर्थ व्यक्ति जो भए पनि प्रणाली, व्यवस्थामै खराबी छ भने जो गए पनि सर्वहारा, उत्पीडितको सत्ता बन्दैन । तसर्थ, व्यवस्था नै परिवर्तन हुनुपर्छ ।

जनविरोधी भएका कारण सत्ता, प्रणाली, संविधान र नेतृत्व मान्दैनौँ भनेर विगतमा सडकबाट भनेका थियौँ, अब राजनीतिक तवरले भन्दैछौँ । यसको निकास निम्ति ठोस कार्यक्रमका साथ अगाडि बढ्छौँ ।

सम्झौतापत्रमा उल्लेख भएअनुसार तपाईंहरूका नेता, कार्यकर्ताहरू छुटे कि छुटेनन् ?

हाम्रा नेता, कार्यकर्तामध्ये दुईथरिका साथीहरू हुनुहुन्छ । एक सय ७३ जनाजति हाम्रा साथीहरू जेलमा र पूर्पक्षमा छन् । २१ फागुनको सम्झौताअनुसार उहाँहरूको रिहाइको प्रक्रिया अगाडि बढेको छ । देशको कानून बडो झमेलावाला भएकाले अलिकति समय लागिरहेको हो । जेलमा भएका साथीहरू पनि आत्तिने भए, बाहिर जनताले पनि आवाज उठाउने भए । यो कुरालाई सरकार र हामीले ध्यानपूर्वक सोचेका छौँ ।

अहिले सकारात्मक हिसाबले प्रक्रिया अगाडि बढेकाले मलाई लाग्छ अब छिट्टै जनताले अपेक्षा गरेअनुसार सबै साथी निस्कनु हुनेछ । अबको एक–दुई सातामा बाहिर आउनु हुनेछ ।

तपाईंको पार्टीले चुनावमा भाग लिन्छ कि लिँदैन् ? पार्टीको संरचना कस्तो छ ?

अहिले भइरहेको देशको राजनीति मुलधारको होइन । मुलधार त्यो हो, जसले राज्य र जनताको प्रतिनिधित्व गर्छ । अर्थात्, नेपालको राजनीति मुलधार नै होइन, मुलधार भन्न बाध्य पारिएको राजनीति हो यो । मुलधार नभएकाले त समस्या सिर्जना ग¥यो । यो देशको मुलधारको राजनीति हाम्रो पार्टीले अब बनाउँदै छ, जसले पूर्ण रूपमा जनता र राष्ट्रको प्रतिनिधित्व गर्छ ।

सीमित मानिसको परिकल्पना र अभ्यासलाई मुलधार भनिँदैन । मुलधार त बहुसंख्यक जनताको प्रतिनिधित्वमुलक राजनीतिको रूप हो, जुन अब सुरु हुन्छ । आम समाजले हिँड्ने, मान्ने धार नै मुलधार हो, त्यही बनाउन हामी आएका छौँ । अहिले भएको कथित मुलधार त सक्काउनुपर्छ ।

संसदीय दलको कोणबाट हेर्ने हो भने ओलीजीले चुनावमा जान्छु भन्नुभएको छ, राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउनुभयो, प्रधानमन्त्रीलाई राख्नुभयो, जुन अरू पार्टी सुन्न तयार छैनन् । नेपाल, खनाल, बाबुरामजीले त बहिष्कार नै गर्नुभयो । उहाँहरूले दिन खोेजेको निकास भन्नुभयो, तर यी दुईवटै निकासले जनताको प्रतिनिधित्व गर्न सक्दैनन् भनेका छौँ हामीले ।

उहाँहरूको आफ्नै कुर्सी र सत्ताको खेल हुनसक्ला । जनताको दृष्टिकोणबाट फोहोरी खेल हुन सक्ला तर फेरि पनि कागलाई बेल पाक्यो हर्ष न विस्मात । त्यसकारण यो रोक्नुपर्छ र देशमा जे समस्या छ, त्यसको निकास निम्ति नयाँ नीति र कार्यक्रम बनाउनुपर्छ । माथि उल्लेखित चारवटा विषयलाई परिवर्तन गर्नुपर्छ । त्यसको निम्ति तयार हुनुहुन्छ भने नेपाली जनताले आफ्नो अधिकारको फैसला गर्ने अधिकार दिऊँ, त्यो कार्यक्रम तय गरौँ ।

हाम्रो कार्यक्रम, योजनामा जनताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्था हुने भन्ने फैसला गर्न जनतालाई दिऊँ भन्ने छ । जनमत संग्रहमा जाऊँ, जसमार्फत जनताले दलाल पुँजीवाद संसदीय व्यवस्था रोज्छन् कि वैज्ञानिक समाजवादी । जनताको विचारलाई सम्मानका साथ स्वीकारेर अगाडि बढौँ । यो व्यवस्थामा अरू चुनाव या पुनःस्थापनाको कुनै अर्थ छैन । जनतामा गएर बुझौँ न ।

जनताले आफ्नोबारेमा आफैँ फैसला गर्ने प्रणाली दुनियाँमा सबैभन्दा लोकतान्त्रिक, समाजवादी हुन्छ । त्यसका लागि तयार हुनैपर्छ भन्ने अबको विकल्प हो । त्यसो हो भने उक्त कार्यक्रमलाई व्यवस्थापन गर्ने, त्यसविरुद्ध आउने चुनौती सामना गर्ने उपायहरू चाहिन्छ । त्यो उपाय भनेको प्रगतिशील संयुक्त सरकार बनाउने भन्ने छ, हाम्रो योजना । प्रगतिशील संयुक्त सरकारको नेतृत्व हामी गर्न चाहन्छौँ । त्यसमा इमानदार कम्युनिस्ट क्रान्तिकारीहरू, प्रगतिशील लोकतन्त्रवादीहरू, यो देशको शक्ति जनता, लामो समयदेखि समाज, राष्ट्र र जनताको निम्ति योगदान दिइरहेका स्वतन्त्र व्यक्तिहरू हुन्छन् ।

अहिलेको यही व्यवस्थामा त न चुनावमा जान्छौँ, न त सरकारमै । किनभने गएका कम्युनिस्टको अवस्था विचरा भइसक्यो, हामी सुरक्षित मानिस किन जान्छौँ ? दलाल पुँजीवाद र संसदीय व्यवस्थाको खिलाफमा भएकाले चुनावमा हामी जाँदैनौँ ।
 

 Published Date: Saturday, 20th March 2021 10:19:00 am