Kathmandu Press

संकटमा एमाले : अब एक रहला त पार्टी?

लोकतान्त्रिक अभ्यासको तीन दशकको यात्रामा एमाले अहिले अर्को जटिल मोडमा देखिन्छ। यसअघि ०५४ सालमा पार्टी विभाजन भई एमाले र माले गठन हुँदा पनि यस्तै जटिल परिस्थिति उत्पन्‍न भएको थियो।
संकटमा एमाले : अब एक रहला त पार्टी?
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २८ : १ चैतमा बोलाइएको केन्द्रीय कमिटी बैठकअघि शुक्रबार पुनःस्थापित एमाले अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गरेका छन्। २-६ मंसिर ०७८ मा पार्टीको दशौँ महाधिवेशन आयोजना गर्ने निर्णयसहित ओलीले उठाएको यो कदमले उनी इतरको माधवकुमार नेपाल-झलनाथ खनाल समूहलाई थप चिढ्याएको छ। ओली पक्षको दाबीअनुसार अध्यक्ष र महासचिव कायम राखेर महाधिवेशन आयोजक समिति गठन गरिएको हो भने पनि नेपाल-खनाल समूहलाई त्यसबारे जानकारी दिन ओलीले आवश्यक ठानेनन्।

शुक्रबारसम्म १ चैतको बैठक कहाँ बस्‍ने भन्‍ने विवाद देखिन्थ्यो। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक राखिए नेपाल-खनाल समूह सहभागी नहुने सम्भावना थियो। धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयलाई बैठकस्थल बनाइए मात्र उक्त समूह सहभागी हुने थियो। अब विवादले नयाँ मोड लिएको छ। कारण- आफूविरोधी समूहलाई भित्तामै पुर्‍याउन एमाले अध्यक्ष ओली उद्यत देखिएका छन्, जसले पार्टीलाई विभाजनको मोडतर्फ धकेलिदिएको छ।

सर्वोच्च अदालतको फैसलाबाट नेकपाको दर्ता खारेज भएर एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि सबैभन्दा सकसमा एमाले छ भन्‍ने यसबाट पनि ठम्याउन सकिन्छ।

खासमा, लोकतान्त्रिक अभ्यासको तीन दशकको यात्रामा एमाले अहिले अर्को जटिल मोडमा देखिन्छ। यसअघि ०५४ सालमा पार्टी विभाजन भई एमाले र माले गठन हुँदा पनि यस्तै जटिल परिस्थिति उत्पन्‍न भएको थियो।

तर, त्यतिबेलाजस्तो पार्टी फुटाएर माले गठन गर्ने सहाना प्रधान, वामदेव गौतम, सीपी मैनालीलगायत नेताकै पथ अनुसरण गर्ने मनस्थितिमा अहिलेको नेपाल-खनाल समूह देखिँदैनथ्यो। तर, पार्टीभित्र अध्यक्ष केपी ओली समूहबाट सम्मानजनक व्यवहार नहुँदा एमालेमै अल्झिएर बस्‍ने कि नबस्‍ने भन्‍ने द्विविधामा पनि उक्त समूहका कतिपय नेता देखिन्छन्।

ओली समूहका कतिपय नेताको अभिव्यक्तिका कारण पार्टीभित्र सम्मानजनक व्यवहार हुनेमा नेपाल-खनाल समूह विश्‍वस्त हुन सकेको थिएन। जस्तो- एमाले महासचिव तथा उपप्रधानमन्त्री ईश्‍वर पोखरेलले बिहीबार वीरगञ्‍ज पुगेर नेपाल-खनाल समूहलाई आत्मालोचनाको अवसर दिइने आशयको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री ओलीनिकटस्थ कतिपय नेताले सामाजिक सञ्‍जालमा नेपाल-खनाल समूहविरुद्ध अशिष्‍ट पोस्ट गर्न छाडेका छैनन्, जसले तिक्तता अझ बढाएको छ।

अहिले एमाले यस्तो मोडमा छ, जसबाट बाहिर निस्किन दुवै पक्षले पछिल्ला तीन महिनाको तिक्तता मेटाउने प्रयास थाल्नुपथ्र्यो। त्यसबाट मात्र पार्टी एकढिक्का रहिरहन सक्छ। त्यसको साटो थप तिक्तता बढाउने अभिव्यक्तिले एमालेलाई कतै दुर्घटनाको बाटोतर्फ त उन्मुख गराइरहेको छैन ? नेपाल-खनाल समूहका एक नेता त्यसैमा जोड दिन्छन्। भन्छन्, ‘पार्टी खतरनाक मोडतर्फ उन्मुख छ।’

वरिष्‍ठ नेता नेपालले आफ्नो समूहका नेता-कार्यकर्तालाई बोलाएर निरन्तर छलफल गरिरहेका छन्। त्यसक्रममा पार्टी दुर्घटनातर्फ उन्मुख रहेको आशय उनले व्यक्त गर्ने गरेका छन्। सत्ता समीकरणमा जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री ओलीलाई समर्थन गर्‍यो भने पनि खनाल-नेपाल समूहले नमान्‍ने सम्भावना रहेको ती नेता बताउँछन्। त्यो भनेको सांसद पद त्यागेर पार्टीबाट बाहिरिने कठोर निर्णय हुन सक्ने उनको बुझाइ छ।

‘पञ्‍चायत कालको भूमिगत संघर्ष पद प्राप्तिका लागि थिएन, विचार, आस्था र सिद्धान्तका लागि लडेका नेताहरू अपमानजनक व्यवहार झेलेर बस्लान् भन्‍ने लाग्न छाडेको छ,’ नेपाल-खनाल समूहका ती नेता भन्छन्, ‘केपी ओली समूहको दमन र अपमानजनक व्यवहार सहेर बस्‍न सक्लान् र ?’

तथापि, ओली समूहले चाहेको पनि त्यही हुन सक्छ। तत्काल उक्त समूहको चाहना पूरा गरिदिने मनस्थिति पनि नेपाल-खनाल समूहमा देखिँदैनथ्यो। ‘ओली समूहबाट नेपाल-खनाल समूहमाथि सम्मानजनक व्यवहार नहुने निश्चित छ, पार्टीभित्रको संघर्ष भनेकै त्यही हो। सम्मानजनक व्यवहार भएन भनेर पार्टी नै छाडेर हिँड्ने कुरा पनि उचित हुँदैन,’ नेपाल-खनाल समूहका अर्का केन्द्रीय सदस्य भन्छन्।

उनको बुझाइ फरक छ। नेपाल-खनाल समूह ‘यू-टर्न’ भएर एमालेमै फर्किने विश्‍वास ओली समूहलाई नभएको उनको भनाइ छ। ‘एकाएक एमालेमै फर्केर ओली समूहविरुद्ध संघर्ष गर्ने नेपाल-खनाल समूहको कदमले प्रधानमन्त्री ओलीलाई झड्का लागेको छ, त्यसैले उक्त समूह खिसिट्युरी गर्दै नेपाल-खनाल समूहलाई चिढ्याउन लागिपरेको छ,’ उनी भन्छन्, ‘नेपाल-खनाल समूह बाहिरिँदा पार्टी आफ्नो कब्जामा रहने मनोविज्ञानमा प्रधानमन्त्री ओली थिए, हामी एमालेमै फर्किँदा त्यो सम्भावना बाँकी रहेन। अब हरेक निर्णयमा फरक मत आउने भयो।’

एमालेको संसदीय दल एक सय २१ सदस्यीय छ। एकजना समानुपातिक सांसदको मृत्यु भएकाले एमालेसँग हाल एक सय २० सांसद मात्र छन्। तीमध्ये नेपाल समूहसँग ३८ सांसद मात्र छन्। बाँकी ८२ सांसद ओली समूहमा छन्।

यस्तै, १९ असार-१ साउन ०७१ मा काठमाडौंमा सम्पन्‍न नवौँ महाधिवेशनबाट एक सय ५९ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो। केन्द्रीय समितिमा पनि झिनो अन्तरमा ओली समूहकै बहुमत रहेको नेपाल समूहका एक नेताले जानकारी दिए।

तत्कालीन एमालेका १६ जना पदाधिकारीमध्ये नेपाल समूहमा नौजना थिए। उपाध्यक्ष विद्यादेवी भण्डारी राष्‍ट्रपति बनेपछि उनको स्थान रिक्त छ। उपाध्यक्ष वामदेव गौतम तटस्थ बसेका छन्। ओली समूहमा अध्यक्ष केपी ओली, महासचिव ईश्‍वर पोखरेल, उपमहासचिव विष्‍णु पौडेल, सचिव प्रदीप ज्ञवाली र सचिव पृथ्वी सुब्बा गुरुङ थिए। यस्तै, नेपाल समूहमा वरिष्‍ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष अष्‍टलक्ष्‍मी शाक्य, उपाध्यक्ष भीम रावल र उपाध्यक्ष युवराज ज्ञवाली थिए। यस्तै, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, सचिव गोकर्ण बिष्‍ट र सचिव भीम आचार्य नेपाल समूहमा थिए।

स्थायी समितिमा वामदेव गौतम ओली समूहमा लाग्दा ११-११ र तटस्थ बसिरहँदा नेपाल-खनालतर्फ ११ र ओलीतर्फ १० सदस्य हुनेछन्।

यसमा अर्को ‘फ्याक्टर’ पनि छ। ०५४ सालमा एमालेबाट अलग्गिएको मालेमा सीपी मैनालीलगायत केही केन्द्रीय सदस्यलाई बाहिरै छाडेर सहाना प्रधान, वामदेव गौतमलगायत नेता ३ मंसिर ०५८ मा एमालेमा फर्किए। तर, लामो समय एमालेभित्र माले समूहलाई अलग व्यवहार भइरह्यो। ०७१ सालमा काठमाडौंमा सम्पन्‍न नवौँ महाधिवेशनपछि मात्र एमाले र माले समूहबीचको तिक्तता मेटिएको अनुभूति भएको थियो। के अहिले पनि ओली समूहबाट नेपाल-खनाल समूहलाई यस्तै व्यवहार भइरहने हो ? प्रधानमन्त्री ओलीको अन्धभक्तझैँ देखिएका कतिपय नेताले नेपाल-खनाल समूहप्रति निरन्तर गरिरहेको कटाक्षले त्यस्तै संकेत गर्छ।

त्यसको उत्कर्ष २५ फागुनमा कैलाली धनगढीमा देखियो। ओली पक्षका नेता कर्णबहादुर थापा नेतृत्वको समूहले नेपाल-खनाल पक्षका भीम रावल र भानुभक्त जोशीको नेमप्लेट हटाएर लेखराज भट्ट र कर्णबहादुर थापाको नेमप्लेट राख्यो। परिणाम- दुई पक्षबीच झडपको वातावरण बन्यो।

नेपाल-खनाल समूह अहिलेसम्म केही दिन ओली समूहको व्यवहारप्रति ‘पर्ख र हेर’को र रणनीतिमा देखिन्छ। ‘अझै १-२ दिन हेरौँ न,’ नेपाल-खनाल समूहका एक केन्द्रीय सदस्य भन्छन्, ‘त्यसपछि कसरी अगाडि बढ्ने भन्‍ने तय गर्नेछौँ।’

यही मेसोमा माओवादी केन्द्रमा पार्टीको नाम परिवर्तन गर्नेबारे छलफल सुरु भएको छ। नेपाल-खनाल समूह एमाले परित्याग गरेर आफ्नो पार्टीमा आउन सक्ने आकलन माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्डको हुन सक्छ। प्रधानमन्त्री ओलीले खोजेकै त्यही हुन सक्छ। तर, उनलाई अनुकुल हुने निर्णय नेपाल-खनाल समूहले तत्काल लिइहाल्ने सम्भावना कमजोर देखिन्छ। र, प्रचण्ड नेतृत्वको पार्टीमा गएर नभई एमालेमै बसेर विस्तारै मजबुत स्थान तयार पार्नेतर्फ लाग्ने नेपाल-खनाल समूहको सोच देखिन्थ्यो।

नेपाल-खनाल समूहका कतिपय नेता यस विकल्पमा सहमत देखिन्थे। पार्टीका हरेक कमिटीमा फरक मत, आगामी निर्वाचनमा हरेक क्षेत्रमा बागी उम्मेदवारीलगायत डरको मनोविज्ञान निरन्तर पैदा गर्न सक्दा ओली समूहलाई गलाउन सकिने आकलन उनीहरूको थियो।

शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली समूहको व्यवहारबाट आजित बनेका एमालेका नेताहरूलाई आफ्नो पार्टी तानिहाल्ने हतारो नगर्न निर्देशन दिए। त्यसबाट एमालेको नेपाल-खनाल समूहमा माओवादी केन्द्रप्रति शंका बढ्न सक्ने उनको भनाइ थियो। र, एमालेका कोही नेता-कार्यकर्ता माओवादी केन्द्रमा आउन चाहेमा पार्टी हेडक्वार्टरसँग सल्लाह गर्न उनले निर्देशन दिए। त्यसको अर्थ माओवादी अध्यक्ष प्रचण्डले नेपाल-खनाल समूहलाई चिढ्याउन चाहिरहेका छैनन्।

र, एमाले यही स्थितिमा रहन नसक्ने दाबी पनि उनको थियो। या त नेपाल-खनाल समूहले एमाले कब्जा गर्ने या विद्रोह गर्ने उनको ठम्याइ एमाले अध्यक्ष ओलीले सत्य सावित गरिदिएका छन्।
 

प्रकाशित मिति: १७:२५ बजे, शुक्रबार, फागुन २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्