शिक्षक श्रीमानले बनाएको खाना खाएर उपमेयर कार्यालय जान्छिन्

काठमाडौं, फागुन ९ :  गत माघ २६ गते बिहान कार्यालयमा ५ नम्बर वडा सदस्य गोमा रोक्का (बिसुन्के) सँग छलफलमा थिइन्, कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा। महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्नेबारे नगरपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम आयोजना गरेको थियो । त्यस कार्यक्रमबारे छलफलका लागि सदस्य रोक्का आएकी थिइन्।

उपप्रमुख पुडासैनी सदस्य रोक्कालाई भन्दै थिइन्, ‘कार्यक्रम सफल र प्रभावकारी बनाउनुहोला।’

वडा सदस्य रोक्कालाई बिदा गरेपछि उपप्रमुख पुडासैनीले हामीलाई समय दिइन्, काठमाडौं प्रेसको ‘महिला जनप्रतिनिधि’ शृंखलामा आफ्नो राजनीतिक यात्रा वा संघर्षको कथा सुनाउन।

‘बुवा बसाइँ सर्नुभयो’

बिन्दुको जन्म नुवाकोटमा भएको हो, ४ साउन २०२८ मा । पाँच दिदीबहिनी र तीन दाजुभाइमध्ये उनी साइँली हुन् । उनको बाल्यकाल भक्तपुरको दुवाकोटमा बित्यो। भक्तपुर आउनुको पनि कथा छ। उनका बुवा कृष्णप्रसाद पुडासैनीलाई पढ्ने रहर थियो, आर्थिक अवस्था लगायत विविध कारण उनले पढ्ने अवसर पाएनन् । त्यसैले उनी छोराछोरालाई पढाउन चाहन्थे। उनले पहिलो सन्तान छोरीलाई आधा घन्टाको बाटो बोकेर स्कुल लैजान्थे। उपप्रमुख पुडासैनी भन्छिन्, ‘सबै छोरीलाई बोकेर विद्यालय पढाउन सक्दिनँ भनेर बुवा भक्तपुर बसाइँ सर्नुभयो।’

यसरी बिन्दुको प्रारम्भिक शिक्षा भक्तपुर दुवाकोटस्थित चाँगुनारायण माविबाट भयो । हाल यो विद्यालय चाँगुरानायण नगरपालिकामा पर्छ । भक्तपुरमा बसाइ सरेपछि बिन्दुका बुवाले नापी विभागमा काम गर्न थाले । बिन्दुले ०४७ मा चाँगुनारायण माविबाट तेस्रो डिभिजनमा एसएलसी गरिन् । त्यसको लगत्तै उनको विवाह भयो, कागेश्वरी मनोहरा नगरपालिका–५ का श्यामप्रसाद सिम्खडासँग । विवाह हुँदा बिन्दु २० की थिइन् भने श्यामप्रसाद २६/२७ का ।

श्यामप्रसादका बुवाले कान्छी विवाह गरेर बेग्लै बस्न थालेका थिए । श्यामप्रसादको काँधमा आमा र एक बहिनीको पालनपोषणको जिम्मेवारी थियो । उनकी एक दिदीको विवाह भइसकेको थियो, बहिनीले स्कुल पढ्दै थिइन् । श्यामप्रसादले भने पढाइ सकेर स्थानीय चौलानारायण प्राविमा पढाउन थालेका थिए । उनी अप्रत्यक्ष रुपमा राजनीतिमा पनि सक्रिय थिए।

परिवारप्रति जिम्मेवार, पढाउने मास्टर केटो पाएपछि परिवारले बिन्दुको विवाह गरिदिएको थियो । ‘उतिबेला विवाहबारे छोरी मान्छेले खुलेर कुरा गर्ने चलन थिएन,’ बिन्दु विवाहबारे भन्छिन्, ‘परिवारले विवाह छिनिदिएपछि टाउको हल्लाएर हुन्छ भन्ने चलन थियो।’ बिन्दुले पनि परिवारले छिनिदिएको विवाहमा सहमति जनाएकी थिइन् । यद्यपि उनका श्रीमान उनले खोजेजस्तै थिए, उनलाई राजनीतिमा अगाडि बढ्न श्रीमानकै विशेष सहयोग रह्यो।

बिन्दुका अनुसार, कान्छीआमासँग श्यामप्रसादको सम्बन्ध त्यति सुमधुर थिएन । ‘ससुराबुवा कान्छी सासुआमालाई लिएर मूल घरमा बस्नुहुन्थ्यो। उहाँ  (श्यामप्रसाद) आमा र बहिनीसहित जस्ताको टहरोमा बस्दै आउनुभएको रहेछ,’ उपप्रमुख पुडासैनी भन्छिन्, ‘शिक्षकको तलबले लाउन खानको त समस्या थिएन । तर बेग्लाबेग्लै बसे पनि कान्छी सासुको परिवारले दिनहुँ अनेक किचलो झिक्ने र दुःख दिइरहने गर्थे।’

मदन भण्डारीको भाषणबाट प्रेरित

०४८ सालको एक दिन बिन्दुको घरनजिकै (थलीको चौरमा) मदन भण्डारी भाषण गर्न पुगे । उनको भाषण सुन्न थुप्रै मानिस उपस्थित थिए। आफ्नै घरछेउको चौरमा कार्यक्रम भएकाले बिन्दु पनि भाषण सुन्न पुगिन्। उनले मदन भण्डारीका बारेमा श्रीमानबाट सुनेकी थिइन्। मदन भण्डारीले श्रमजीवी जनताको पक्षमा बोले। शोषक र शासितको कुरा गरे। बिन्दुले मदनको भाषणबाट बोध गरिन्– कान्छीसासुबाट आफूहरूमाथि विभेद भएको छ, त्यसको विरुद्ध आफू बोल्नुपर्छ। ‘त्यसअघिसम्म बुहारी बोल्नु हुँदैन भनिएकाले घरमा झगडा हुँदा म चुप लाग्थेँ,’ बिन्दु भन्छिन्, ‘मदनको भाषणपछि म बोल्न थालेँ। मेरो श्रीमान् र सासुआमाले आफूले पाउनुपर्ने जति सम्पत्ति पाउनुभएको थिएन, पछि हामीले कान्छीसासु र ससुरासँग मुद्दा लडेर सम्पत्ति लियौँ।’

घरभित्र मात्रै होइन, परिआउँदा समाजमा हुने अन्याय–बेथितिमा पनि आफूले आवाज उठाउन थालेको उनी बताउँछिन्। यसरी उनी थाहै नपाई राजनीतितिर ढल्किएकी थिइन्। मदन भण्डारीको भाषणले उनलाई अन्यायविरुद्ध बोल्न मात्र होइन, अगाडि पढ्न पनि प्रेरित गरेको थियो। ०४८ सालमै उनी थलीस्थित कान्तिपुर कलेजमा भर्ना भइन् । यहीबेला ०४८ को चैतमा उनले पहिलो सन्तानलाई जन्म दिइन्। उनले छोरी हुर्काउँदै आइए पास गरिन्, राजनीतितिर पनि लागिरहिन्।

भर्खरै बहुदल आएको थियो । बिन्दुका श्रीमान् बहुदलका पक्षमा कम्युनिस्ट पार्टीबाट अप्रत्यक्ष रूपमा राजनीति गर्थे। उतिबेला शिक्षकहरू राजनीतिमा सक्रिय हुन्थे। बिन्दुलाई श्रीमानले राजनीतिबारे बुझाए । ‘म बिस्तारै संगठनका कार्यक्रममा झन्डा बोकेर हिँड्न थालेँ,’ उनी भन्छिन्, ‘संगठनका कार्यक्रममा हिँड्दै गर्दा राजनीति र पार्टीबारे उहाँ (श्रीमान्)ले धेरै सिकाउनुहुन्थ्यो।’

मनमोहन अधिकारीसँगको भेट

०५१ सालको कुरा हो, एकपटक काठमाडौंमा आन्दोलन थियो, बिन्दु आन्दोलनमा आएकी थिइन् । आन्दोलनबाट फर्कने क्रममा अन्य पार्टीका मानिस पनि बसमा सँगै परेका थिए, उनीहरूले एमालेले बूढापाकालाई सेती नदीमा फाल्छ भनेर गिज्याए । त्यतिबेला राजनीतिमा एकले अर्को पार्टीलाई सिध्याउन यस्तै अफवाह फैलाउने गरिन्थ्यो । सत्य के हो भन्ने बिन्दुलाई थाहा थिएन। भर्खर २२–२३ मा हिँड्दै गरेकी उनलाई यसबारे जान्ने मन भयो । त्यसको केही दिनमा तत्कालीन एमालेको काठमाडौंस्थित सभागृहमा कार्यक्रम थियो । कार्यक्रममा वक्ता प्रधानमन्त्री मनमोहन अधिकारी थिए । बिन्दु मनमोहन अधिकारीलाई भेट्न सभागृह पुगिन् । त्यहाँ उनले आफूले मनमोहन अधिकारीलाई भेट्न चाहेको खबर पु¥याइन् । मनमोहनले सभागृहमै उनलाई समय दिए। बिन्दुले मनमोहन अधिकारीलाई भेटेर सोधिन्, ‘मनमोहन बा, हाम्रो पार्टीले बूढापाका मानिसलाई उठाएर सेती नदीमा फाल्छ रे, हो?

मनमोहन अधिकारीले भने, ‘मेरो अनुहारमा हेर त नानी, के म बूढो भएको छैन ! मलाईचाहिँ सेती नदीमा फाल्नुपर्दैन ? त्यस्तो हो भने सबैभन्दा पहिला मलाई फाल्नुपर्ने हो। अरुको कुराको पछि लाग्नुहुँदैन । हाम्रो पार्टीले त बूढापाकालाई सम्मान गर्छ, सेवा–सुविधा दिन्छ।’

 

#महिला_जनप्रतिनिधि


‘आफ्नै कार्यालयका निर्णय सञ्चारमाध्यमबाट थाहा पाउँदा दुःख लाग्छ’


‘महिलालाई बालबालिका हुर्काउँदै राजनीति गर्न कठिन छ’


‘मेयरबाट मैले कुनै विभेदको अनुभूति गर्नुपरेको छैन’


‘महिला आत्मनिर्भर भएमा महिलाहिंसा कम’

 

मनमोहनले यति भनेपछि आफू विश्वस्त भएको बिन्दु बताउँछिन् । उनी भन्छिन्, ‘त्यतिबेला मैले उहाँलाई वृद्धवृद्धाका लागि पनि केही गर्न आग्रह गरेकी थिएँ।’

संयोग कस्तो मिल्यो भने, मनमोहनकै सरकारले वृद्धभत्ता दिन थाल्यो।

श्रीमानको सहयोग

०५४ सालसम्म आइपुग्दा बिन्दु तत्कालीन नेकपा एमालेको ‘अखिल नेपाल महिला संघ’को सदस्य भइन् । जिम्मेवार पदमा भएपछि उनी विभिन्न कार्यक्रममा हिँडिरहनुपथ्र्याे । त्यसरी हिँड्दा खर्च हुन्थ्यो, श्रीमानको कमाइले मात्र पुग्दैनथ्यो । त्यसैले पार्टीको काममा हिँड्नका लागि खर्च जुटाउन आफूले रुमाल बुन्ने, पोते उन्ने काम गरेको उनी बताउँछिन् । उनलाई राजनीतिमा लाग्न श्रीमान्को त सहयोग थियो, तर समाजमा उनको कुरा काटिन्थ्यो– आफ्नो खेतबारी बाँझो राखेर झन्डा बोकेर हिँडेकी छे भनेर । ‘समाजको कुरा सुनेर नन्द र सासुआमा पनि खुसी हुनुहुन्नथ्यो,’ बिन्दु भन्छिन्, ‘तर मैले राजनीति छाडिनँ।’

उनलाई श्रीमानको पूर्ण सहयोग थियो । उनका श्रीमान् (श्यामप्रसाद) पेसाका कारण राजनीतिमा सक्रिय हुन पाएका थिएनन्, त्यसैले उनले श्रीमती राजनीतिमा सक्रिय भएको हेर्न चाहन्थे।

श्यामप्रसाद भन्छन्, ‘कम्युनिस्ट पार्टीप्रति मेरो लगाव थियो । पेसाका कारण म आफू पार्टीमा सक्रिय हुन पाइनँ, त्यसैले मैले श्रीमतीलाई पार्टीमा लाग्न उत्प्रेरित गर्थें। म खाना बनाउँछु, तिमी कार्यक्रममा जाऊ भनेर पठाउँथेँ।’

श्यामप्रसाद अहिले पनि शिक्षण पेसामै छन् । अझै पनि आफूले खाना बनाएर श्रीमतीलाई सहयोग गर्ने उनी बताउँछन् । ‘कार्यालयको काम सकेर उनी भर्खर घर आइपुगेकी छन्,’ अघिल्लो साताको सोमबार साँझ उनले फोनमा भने, ‘आज पनि म खाना बनाउँदै छु ।’

हाल तीन छोरी, श्रीमान र सासुआमासँग खुसीको जीवन बिताइरहेको बिन्दु बताउँछिन्।

‘महिलालाई नपत्याउनेहरूलाई जवाफ’

बिन्दुका अनुसार, उनको पालामा पार्टीले कार्यकर्ता महिलालाई निकै सम्मान गर्थ्यो। आन्दोलनमा गएका महिलालाई पार्टीकै साथीहरूले घरघरमा पुर्‍याइदिन्थे। पार्टीभित्र हरेकले महिलालाई सम्मान गरेर बोल्थे। छलफलमा महिलालाई विचार राख्न प्राथमिकता दिइन्थ्यो।

‘त्यतिबेला महिलालाई सहभागिता बढाउनुपर्छ भन्ने सोच आइसकेको थियो,’ उनले भनिन्, ‘त्यसैले महिलालाई राजनीतिमा ल्याउनका लागि पनि सम्मानपूर्वक व्यवहार गरिन्थ्यो। आर्थिक अवस्था कमजोर भएका महिला राजनीतिमा सक्रिय हुन चाहे आर्थिक सहयोग संकलन गरेर पनि दिइन्थ्यो।’

राजनीतिमा सक्रिय भई उनी जिल्लासचिव, क्षेत्रीय सचिव भएकी थिइन्, यत्तिकैमा ०६२/६३ को आन्दोलन सुरु भयो । उनी त्यस आन्दोलनमा सक्रिय भएर लागिन् । पार्टीमा सक्रिय रहेकाले ०७४ को स्थानीय चुनावमा उनलाई पार्टीले टिकट दियो र उनी कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुखमा विजयी भइन् । उनी भन्छिन्, ‘महिला राजनीतिमा लागेर केही गर्न सक्दैनन् भन्नेहरूका लागि राम्रो जवाफ भयो।’

प्रमुख र उपप्रमुखको एउटै पार्टीबाट भएकाले काममा खासै समस्या छैन । तर, कार्यालयका कतिपय निर्णयमा आफूलाई नसोधिने पनि उनी बताउँछिन्। ‘महिला भएका कारण मलाई सोधिराख्न आवश्यक नसोचेको पनि देखिन्छ,’ उनी भन्छिन्, ‘आफूलाई नसोधी बनाइएका योजना तथा निर्णयबारे प्रमुखलाई सोध्छु ।’

उपप्रमुख पुडासैनीको बुझाइमा राजनीति भनेको समाज परिवर्तन गर्ने माध्यम हो, तर पदको दुरुपयोग गरी व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेहरू बढेकामा उनी चिन्ता व्यक्त गर्छिन्।

अहिले उनी नगरवासी महिलालाई सक्षम र आत्मनिर्भर बनाउन सिलाइ–बुनाइ, ब्युटिपार्लर, केक बनाउने, पोते उन्ने, कम्प्युटर तालिम लगायत सीप सिकाएको उनको भनाइ छ। आगामी दिनमा महिलालाई सीप सिकाउने मात्र होइन, त्यसबमोजिमको अन्य सहयोग र सुविधा पनि उपलब्ध गराउने योजना रहेको उनी बताउँछिन्।

 Published Date: Sunday, 21st February 2021 5:37:00 pm