Kathmandu Press

‘महिला आत्मनिर्भर भएमा महिलाहिंसा कम’

‘हिँड्दै जाँदा कहिले जंगल त कहिले कसैको घरमा बास मागेर बस्थ्यौँ । हिँड्नेहरूको समूह–समूह हुन्थ्यो । त्यसैले जंगलमा बस्नुपर्दा पनि डर लाग्दैनथ्यो।’
‘महिला आत्मनिर्भर भएमा महिलाहिंसा कम’

काठमाडौं, माघ २९ : सोमबार बिहान बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख रमादेवी राई आफ्नै कार्यकक्षमा व्यस्त थिइन्, सेवाग्राहीसँगको छलफलमा । काठमाडौं प्रेसको ‘जनप्रतिनिधि महिला’ शृंखलामा आफ्नो संघर्षको कथा सुनाउन उनले हामीलाई समय दिएकी थिइन् । उनीसँग समय लिन हामीले उनलाई यस शृंखलाको अवधारणा स्पष्ट पार्नुपरेको थियो । अलिकति अन्तर्मुखी स्वभावकी लाग्ने उनी सुरुमा कतिपय निजी कुरामा खुल्न चाहिनन् ।

कोही कुनै पनि राजनीतिक वा प्रशासनिक पदमा पुग्न धेरथोर व्यक्तिगत संघर्ष आवश्यक हुन्छ । त्यो संघर्षको कथालाई वर्ग, लिंग, भाषा, भूगोल, धर्म–संस्कृतिसँगै राजनीतिक र सामाजिक व्यवस्था आदिले प्रभावमा पारेको हुन्छ । अझ पुरुषवादी समाजमा महिलाको संघर्षमा धेरै कुराले प्रभाव पार्छन् । एउटी महिला राजनीतिमा आउनुको कथामा धेरै पाटा हुन सक्छन्, जुन एकातिर कतिपय महिलाका लागि ऊर्जा हुन सक्छ भने, अर्कोतिर कतिपयका लागि सामाजिक र राजनीतिक अवस्थाको जानकारी हुन सक्छ । यसरी अन्तर्वार्ताको अवधारणा बुझाएपछि उनी हामीलाई समय दिन राजी भएकी थिइन्।

६७ वर्षीया उपप्रमुख राईमा बोली र व्यवहारमा निकै परिपक्वता देखिन्छ । उनी यो गरिमामय पदमा आएसँगै विशेषतः महिलाका विषयमा के कस्ता काम हुँदै छन् त ? यस प्रश्नमा उनले विस्तारमा बताइन् । नगरपालिकाभित्र १३ वटा वडा छन् । ‘सुरुवातमा पिछडिएको वर्ग तथा लक्षित वर्गलाई घरेलु उद्योग सुरु गर्न तीन लाख रुपैयाँ ऋण दिएका थियौँ । त्यसबाट खासै उपलब्धिमूलक काम भएजस्तो लागेन । त्यसपछि महिलालाई विभिन्न सीप सिकाउन थालेका छौँ,’ उनले भनिन्, ‘महिलालाई सामूहिक रूपमा काम गरी उत्पादन बढाउन पनि प्रोत्साहन गरेका छौँ । सामूहिक रूपमा काम लगाउँदा केही आशाजनक देखियो।’

महिलालाई सीप सिकाएर सामूहिक रूपमा घरेलु उद्योग सञ्चालनमा जोड दिइरहेको उनी बताउँछिन् । उनका अनुसार, महिलालाई टपरी–दुना बनाउने, बेकरी, सिलाइबुनाइ आदिको तालिम दिइएको छ । तालिम लिएकाहरूलाई समूह–समूहमा रहेर आफ्नो सीपलाई उद्योगको रूपमा सञ्चालन गर्न प्रोत्साहन गरिएको छ।

महिलाहरूलाई तालिम दिन तथा उद्योग सञ्चालन गर्न भवन समेत बनाइरहेको उनले जानकारी दिइन् । ‘वडा ८ मा २५ लाख रुपैयाँको लगानीमा महिला भवन निर्माण भइरहेको छ,’ उनले भनिन्, ‘जसमा महिलालाई उद्योग सञ्चालन गर्न कोठा उपलब्ध गराइनेछ।’

वस्तु उत्पादनका लागि कम शुल्क लिएर स्थानीय महिलालाई कोठा भाडामा दिने योजना रहेको छ । ‘महिला आत्मनिर्भर भएमा महिलाहिंसा कम हुने अपेक्षा छ,’ उनी भन्छिन्, ‘महिला आफैँ सक्षम भए परिवार तथा पुरुषहिंसा सहनु्पर्दैन । महिलालाई रोजगारी दिने योजना प्रथामिकता साथ अगाडि बढाएका छौँ।’

उनका अनुसार, नगरपालिकाभित्र न्यायिक समिति गठन भएपछि तीन वर्षमा लगभग दुई सय महिलाहिंसाका उजुरी परेका छन् । न्याय समितिको तथ्यांक अनुसार, ०७५÷७६ मा ७५ वटा मुद्दा परेका थिए । जसमा पारिवारिक तथा सम्बन्धविच्छेदको धेरै उजुरी आएको उनको भनाइ छ । त्यसमध्ये सम्बन्धविच्छेदका २० मुद्दा थिए ।

सबै उजुरीमध्ये ९० प्रतिशतभन्दा बढी मेलमिलापमा टुंग्याइएको थियो । त्यस्तै, २०७६÷७७ मा ८६ महिलाहिंसाका मुद्दा दर्ता भएका छन् । त्यस वर्ष भने ५० प्रतिशत मात्र न्याय समितिबाट मेलमिलाप गराउन सकेको उनको भनाइ छ।

चालू आर्थिक वर्षको हालसम्म महिलाहिंसाका ३४ मुद्दा दर्ता भएका छन् । उनी भन्छिन्, ‘अधिकांश मुद्दा दर्ता नै नगरी छलफल गरेर, दुुवै पक्षलाई सुझाव दिएर पनि टुंग्याइन्छ।’

महिलालाई घरेलुहिंसा तथा अन्य हिंसाबाट जोगाउन रोजगारी र शिक्षा आवश्यक पर्ने उनको बुझाइ छ । ‘त्यसैले आफ्नो तहबाट सक्ने प्रयास गरिरहेकी छु,’ उनले भनिन्।

उनको कार्यालयमा प्रमुख र उपप्रमुखबीच सहयोग, सल्लाह–सुझावमै हरेक निर्णय हुन्छ । त्यसैले उनलाई काम गर्न कुनै बाधा–अप्ठेरो छैन । यस नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै एउटै पार्टीबाट छन्।

उपप्रमुख राईको बुझाइमा राजनीति भनेको सामाजिक पेसा हो । समाजमा विभिन्न आवश्यकता परिपूर्ति गर्ने तथा समाज परिवर्तन गर्ने माध्यम हो।

खोटाङ, भोजपुर र धरानको पढाइ

उपप्रमुख राईको जन्म खोटाङको सिमपाने गाउँपालिका–१ मा भएको हो, २०१० मंसिर १४ मा । दुई दाजु र ६ दिदीबहिनीमध्ये उनी साइली हुन् । उनका बुुवा धनप्रसाद राई २०२३ सालमा भूमिसुधार अधिकारीमा नियुक्ति भएका थिए । त्यसअघि पनि उनी सरकारी जागिरमै थिए ।

धनप्रसाद पढेलेखेको र सरकारी जागिरे भएकाले उनले छोराछोरीलाई पढाउन जोड गरे । छोराछोरीले पढ्न चाहेमा उच्च शिक्षा दिने धनप्रसादको चाहना थियो । रमादेवीले बुवासँग आफूलाई पढ्न र अगाडि बढ्न इच्छा भएको बताइन् । धनप्रसादले छोरीको इच्छापूर्तिमा कुनै कमी हुन दिएनन् ।
 
सिमपानेको श्रीकृष्ण प्राथमिक विद्यालयबाट रमादेवीको शिक्षा सुरु भएको थियो । त्यतिबेला खोटाङमा माध्यमिक शिक्षा पढ्ने स्कुल थिएनन्, त्यसैले उनी आफ्नो दाइसँग भोजपुर पढ्न आइन् । त्यहाँ उनीहरूले कोठा भाडामा लिएर बसेका थिए । भोजपुरको विद्योदय माविबाट उनले २०२५ सालमा एसएलसी दिइन् र तेस्रो डिभिजन पास गरिन् । त्यही विद्यालयमा मानवशास्त्र लिएर आइए पढ्न थालिन् । आइएको परीक्षा भने धरानबाट दिनुपथ्र्यो । त्यतिबेला भोजपुरबाट धरान आउन दुई दिन हिँड्नुपथ्र्यो । परीक्षा दिन टाढा जानुपर्ने भएकाले घरबाट उनका बुवा आएका थिए । सामान भरियालाई बोकाएर उनी बुवासँग आईएको परीक्षा दिन धरान आएकी थिइन् । उनी भन्छिन्, ‘हिँड्दै जाँदा कहिले जंगल त कहिले कसैको घरमा बास मागेर बस्थ्यौँ । हिँड्नेहरूको समूह–समूह हुन्थ्यो । त्यसैले जंगलमा बस्नुपर्दा पनि डर लाग्दैनथ्यो।’

धरान पुगेर विद्यालय नजिकै कोठाभाडामा पाइन्थ्यो, उनले परीक्षा अवधिभरका लागि कोठा भाडामा लिइन् । त्यहाँ बस्दा उनलाई सघाउन घरबाट दाइ–दिदी आएका थिए । उनको परिवारबाट उनीबाहेक अरुले भने गाउँकै शिक्षा लिएर अगाडि पढेनन्।

आईएको परीक्षा दिएपछि उनलाई बुबाले खोटाङमा शिक्षण गर्न भने । २०३०÷३१ तिर उनले खोटाङ सिमपाने माविमा पढाउन थालिन्, ६–७ कक्षासम्मलाई । त्यतिबेला उनको मासिक तलब दुई सय ९२ रुपैयाँ थियो।

त्यहाँ दुई वर्षजति पढाएपछि सरकारले शिक्षक–शिक्षिकालाई बिएडको तालिम दिने योजना ल्यायो । तालिम दिँदा पनि तलब पाउने व्यवस्था थियो । रमादेवीले सो तालिम लिने अवसर पाइन् । २०३२ सालतिर उनी काठमाडौं कीर्तिपुरस्थित महिला छात्रावासमा बसेर तालिम लिइन् । दुई वर्षको तालिम सकेर उनी ०३५ सालतिर पुनः खोटाङ फर्किइन्।

यतिबेलासम्म उनी माविको स्थायी शिक्षक भइसकेकी थिइन्। उनको तलब पनि मासिक सात सय रुपैयाँ पुगेको थियो । काठमाडौंमा अध्ययन गरेर गएपछि उनलाई काठमाडौंमै अध्ययन गराउने इच्छा जाग्यो । शिक्षा कार्यालय गएर उनले आफ्नो सरुवा मागिन्, तर पाइनन् । उनी भन्छिन्, ‘एक वर्षजस्तो शिक्षा कार्यालय धाउँदा सरुवा हुन अनुमति नदिएपछि राजीनामा दिएर ०३७ सालमा सिमपाने स्कुल छाडेँ।’
त्यसपछि (०३७ देखि) उनी काठमाडौं ज्ञानेश्वरस्थित सहिद स्मारक माविमा पढाउन थालिन् । त्यतिबेला उनको मासिक तलब ५–६ सय रुपैयाँ थियो।

काठमाडौं आएर सहजै जागिर पाउने अवस्था थिएन, तर सरुवाका लागि शिक्षा कार्यालय धाइरहँदा उनको भेट सहिद स्मारकका प्रधानाध्यापकसँग भएको थियो । त्यही सम्पर्कले उनले सहिद स्मारकमा पढाउन पाइन्।

त्यतिबेला उनी ज्ञानेश्वरमै डेरा गरेर बस्थिन् । सहिद स्मारकमा उनले ०४१ सालसम्म पढाइन् । त्यसपछि चार वर्ष उनले खाद्य संस्थानमा अधिकृतको पदमा काम गरिन्।

प्रेमविवाह

भोजपुर बसेर पढ्दा रमादेवीको चिनजान भोजपुर बोखिप–१ का जयबहादुर राईसँग भएको थियो । थप अध्ययन र जागिरका लागि त्यतिबेला जयबहादुर पनि काठमाडौंमा आएका थिए, उनी ठमेलमा बस्थे।

जयबहादुर रमादेवीका दाइका साथी थिए । त्यसैले जयबहादुर र रमादेवीबीच देखभेट, बोलचाल भइरहन्थ्यो । यही सम्बन्धले बिस्तारै प्रेमको रूप लिन थाल्यो । उनीहरूले २०३७ सालमा बिहे गरे, जतिबेला रमादेवी २७ र जयबहादुर ३२ का थिए।

दुवैको जात मिल्ने र पारिवारिक सम्बन्ध राम्रै भएका कारण उनीहरूले घरमा कुरा चलाएर बिहे गरेका थिए । विवाहपछि दुवै ज्ञानेश्वरमा बस्न थाले । त्यतिबेला जयबहादुर पनि सरकारी जागिरे थिए।

२०३८ मा उनीहरूले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिए । सानो सन्तान हुर्काउन केही महिना लाग्छ नै, तर शिक्षण पेसामा आबद्ध रमादेवी एक महिनामै काममा फर्किइन्, बच्चा हेर्न एकजना महिला राखेर । उनको बसाइ र विद्यालय नजिकै थियो । दिउँसो खाजा खाने समय उनी बच्चालाई दूध चुसाउन डेरा आउने गर्थिन् । २०३९ मा उनले दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिइन् । यसपटक पनि उनले घरमा बच्चा हेर्ने मान्छे राखेर काममा फर्किइन्।

अहिले उनका चार सन्तान अध्ययनका सिलसिलामा बेलायत र अष्ट्रेलियामा छन ।

शिक्षासेवी हुँदाहुँदै राजनीतिमा

२०५० सालमा उनले धोबीधारा पुतली सडकमा विद्यालय सञ्चालन गरिन् । हाल एपेक्स कलेज भएको नजिकै उनको विद्यालय थियो । उनले अन्य एकजनासँग मिलेर तीन लाख रुपैयाँ लगानीमा निजी विद्यालय सञ्चालन गरेकी थिइन्, जहाँ १ देखि ७ कक्षा पढाइ हुन्थ्यो । त्यहाँ उनी ०६३ सालसम्म आबद्ध रहिन् । त्यसपछि केही शिक्षकलाई जिम्मा लगाएर उनले विद्यालय छाडिन्।
०५५ सालमा उनीहरूको दम्पतीले कपन–१० मा आधा रोपनी जग्गा किनेको थियो, पाँच लाख रुपैयाँमा । त्यहाँ घर बनाएर रमादेवीको परिवारले स्थायी बसोबास गर्न थाल्यो।

रमादेवीका दाइ केदार राई विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए । उनी काठमाडौं बस्थे । यही पृष्ठभूमिले रमादेवीको झुकाव राजनीतितिर हुन पुग्यो । उनी विद्यार्थी संगठनतिर आबद्ध भइन् । अनि, ०५५ सालतिर नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिइन् । तर, काम–पेसाले गर्दा उनी बढी सक्रिय भएर राजनीतिमा लाग्न पाएकी थिइनन्, पार्टीप्रति आस्था र सदस्यता छँदै थियो।

०६३ मा उनले कपनमा ‘माउन्ट एभरेस्ट इंग्लिस स्कुल’ स्थापना गरिन् । त्यसपछि भने उनको स्थानीय मानिससँग घुलमिल र सम्पर्क बढ्न थाल्यो । त्यहाँ उनी प्रधानाध्यापक भएकाले विद्यार्थीका अभिभावकसँग उनको चिनजान बढ्दै गयो । उनले स्थानीय विभिन्न कार्यक्रममा सहभागिता जनाउन थालिन् । उनको राजनीतिक परिचय पनि बन्दै गयो । पछिल्लो राजनीतिक परिवर्तनपछि स्थानीय तहमा महिला सहभागिता अनिवार्य गरिएको छ, जसका लागि स्थानीय तहमा उनको परिचय बन्दै गएको थियो । ०७४ को स्थानीय तहको चुनावमा उनले पार्टीबाट टिकट पाइन् र चुनाव जितेर बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख भइन् । उनी भन्छिन्, ‘राजनीतिमा सक्रिय नभए पनि समाजसेवा गर्ने रहरले उप–प्रमुख बनेँ।’

बुवा शिक्षित, सरकारी जागिरे र दाइको राजनीतिक चेत भएका कारण रमादेवीलाई राजनीति बुझ्न र त्यसमा झुकाव राख्न समस्या भएन । त्यसमाथि विवाहपछि श्रीमान्बाट पनि सहयोग पाइरहिन्।

‘पुरुषवादी समाजमा महिलालाई घर व्यवहार र बाहिरी काम सबै भ्याउनुपर्छ । दुवै जिम्मेवारीलाई एकसाथ अगाडि बढाउनु चुनौतीपूर्ण काम हो,’ उनी भन्छिन्, ‘महिलालाई राजनीतिमा लाग्न सहज वातावरण अझै छैन।’

 

प्रकाशित मिति: १२:०५ बजे, बिहीबार, माघ २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्