Kathmandu Press

‘मेयरबाट मैले कुनै विभेदको अनुभूति गर्नुपरेको छैन’ 

‘बिदामा आएर नेपालका भवन तथा मठ–मन्दिरको अध्ययन गर्थें र डेनमार्क फर्केर सुनाउँथे । त्यसो गर्दा मलाई आफ्नो देश, यहाँको कला–संस्कृतिको माया बढेको थियो।’ 
‘मेयरबाट मैले कुनै विभेदको अनुभूति गर्नुपरेको छैन’ 
Hardik ivfHardik ivf

काठमाडौं, माघ १५ : भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले डेनमार्कमा आर्टिटेक्चरको अध्ययन गरेकी हुन् । चार वर्षजति डेनमार्क बस्दा प्रत्येक वर्ष उनले घर आउने बिदा पाउँथिन् । तर, फर्केपछि उनले नेपालका परम्परागत घरहरुको डिजाइन, मठ–मन्दिरको शैलीबारे आफूले पढ्ने कलेजमा सुनाउनुपथ्र्यो।
 
उपप्रमुख जोशी भन्छिन्, ‘बिदामा आएर नेपालका भवन तथा मठ मन्दिरको अध्ययन गर्थें र डेनमार्क फर्केर सुनाउँथे । त्यसो गर्दा मलाई आफ्नो देश, यहाँको कला–संस्कृतिको माया बढेको थियो।’ 

डेनमार्क रहँदा उनलाई देशको माया मात्रै बढेन, देशका लागि केही गरौँ भन्ने भावना पनि जागेको थियो । आज उनी कला र संस्कृतिको नगर भक्तपुरमा उपप्रमुख छन् । उनले यो कला र सभ्यताको नगरको उपप्रमुख भएर के गर्दै छन् त? 

‘पर्यटकीय क्षेत्र भएकाले पुरानो कला र संस्कृतिलाई जोगाउन पहल गरिरहेका छौँ,’ उनी भन्छिन्, ‘०७२ को भूकम्पले भक्तपुरको सांस्कृतिक सम्पदा ध्वस्त पारेको थियो । उक्त संरचनाको पुनर्निर्माण कार्य भइरहेको छ।’ 

बिदामा आएर नेपालका भवन तथा मठ मन्दिरको अध्ययन गर्थें र डेनमार्क फर्केर सुनाउँथे । त्यसो गर्दा मलाई आफ्नो देश, यहाँको कला–संस्कृतिको माया बढेको थियो।’ 

उपप्रमुख जोशीले ‘काठमाडौं प्रेस’को जनप्रतिनिधि महिला शृंखलामा कुरा गर्न हामीलाई आइतबार समय दिएकी थिइन् । यो शृंखलामा हामी जनप्रतिनिधि महिलाको व्यक्तिगत संघर्षको कथा प्रस्तुत गर्छौं। 

नयाँ संविधानसँगै स्थानीय तहमा महिला सहभागितालाई अनिवार्य गरिएको छ । तर, धेरैजसो ठाउँमा पुरुष प्रमुख वा अध्यक्ष र महिला उपप्रमुख वा उपाध्यक्ष भएको अवस्था छ । यो अवस्थामा जनप्रतिनिधि महिलाबाट गुनासो पनि आउने गरेको छ, ‘प्रमुख (पुरुष)ले कार्यालयका काम र निर्णयमा आफूलाई सोधपुछ नै गरेनन्, एकलौटी निर्णय गरे ।’ भक्तपुरकी उपप्रमुख जोशीसँग भने यस्तो कुनै गुनासो छैन । उनी भन्छिन्, ‘हामी (प्रमुख–उपप्रमुख) दुवै एउटै पार्टी (नेपाल मजदुर किसान पार्टी)बाट आएका हौँ । नगरपालिकाले गर्ने हरेक गतिविधिमा प्रमुखले सोध्नुहुन्छ । उहाँ (मेयर सुनील प्रजापती)ले मलाई महिला हुँ भन्ने अनुभूति हुन दिनुभएको छैन।’ 

आफूले उप–प्रमुखको पदभार ग्रहण गरेसँगै सरकारले तोकिदिएको काम, कर्तव्य र अधिकार प्रयोग गर्दै आएको उनको भनाइ छ । उनी भन्छिन्, ‘प्रमुखले पहिले कानुनसँग नजिक रहेर काम गर्नुभएको छ । कानुन बुझेको व्यक्ति भएकाले होला, उहाँले कार्यालयका सबै काम छलफल र सहमतिमा अगाडि बढाउनुहुन्छ । नेपाल मजदुर किसान पार्टीको एजेन्डा नै महिला र पुरुषबीच विभेद हटाउनुपर्छ भन्ने हो।’ 

विदेशमा गएर स्वदेशको चर्चा गर्दा उपप्रमुख जोशीलाई समाजका लागि केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । आज उप–प्रमुख भएर जनताको सेवा गर्ने मौका पाएकामा उनी सन्तुष्ट छन् । उनी यहाँसम्म के कस्तो पृष्ठभूमि, सोच र संघर्षले आइन् त?  

प्रेम, विवाह र विदेश

रजनीको जन्म ललितपुरको मंगलबजारनजिकै भएको हो, २०२२ असार २९ मा । उनका बुबा नारायणराज जोशी विद्यालयहरूको अडिटिङ गर्थे, आमा (मौसम) गृहिणी थिइन् । तीन दाजु र एक दिदीमध्ये उनी कान्छी हुन्। 

अडिटिङको सिलसिलामा उनका बुवा जावलाखेलस्थित सेन्ट म्यारिज स्कुल गइरहन्थे । एक दिन स्कुलको कसैले भन्यो, ‘तपाईंकी छोरी भए ल्याउनू, हामी पढाउँछौँ।’

त्यतिबेला रजनी मंगलबजारस्थित आदर्श निकेतनमा भर्ना भएर पढ्न सुरु गरेकी थिइन् । बुवाले उनलाई सेन्ट म्यारिज स्कुल लिएर गए । त्यहाँ उनले १ देखि १० कक्षासम्म निःशुल्क पढिन् । 

रजनीले सेन्ट म्यारिजबाट २०४० मा एसएलसी पास गरिन्, दोस्रो श्रेणीमा । त्यसपछि उनी पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा भर्ना भइन् । त्यहाँ दुई वर्षको अध्ययनपछि प्राक्टिकलका लागि दुई–तीन वर्ष फिल्डमा काम गर्नुपथ्र्यो। 

कलेज पढ्दै गर्दा सँगै पढ्ने सरोजप्रसाद वैद्यसँग उनको प्रेम–सम्बन्ध भएको थियो । तीन वर्षजति फिल्डमा सँगै हुँदा उनीहरूको प्रेम अझ झ्यांगिन पुग्यो । अन्ततः उनीहरुले आफूहरुको प्रेम–सम्बन्धलाई मागी विवाहमा परिणत गरे, २०४७ मंसिरमा।

सरोजको पुरानो घर हाल भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा थियो । यसरी रजनी भक्तपुरकी बुहारी हुन पुगिन्। 

अध्ययनलाई अगाडि बढाउने समझदारीमा उनीहरुले बिहे गरेका थिए । त्यतिबेला इन्जिनियरिङको थप अध्ययन नेपालमा थिएन, विदेश जानुपथ्र्यो । अर्कोतिर छोरी मान्छेलाई एक्लै विदेश पठाइँदैनथ्यो । त्यसकारण रजनी र सरोजले सल्लाह गरे– विवाह गरौँ र दुवै विदेश पढ्न जाउँ।

डेनमार्कबाट डेनिस आर्किटेक्चरको रूपमा मिल्स् एक्सल पिटर्सनको टोली आएको थियो । अध्ययनपछि फिल्डमा काम गर्दा त्यो टोलीसँग सरोजको राम्रो सम्बन्ध बनेको थियो । त्यतिबेला ‘डेनिडा फेलोसिप’ भन्ने डेनमार्कको संस्था नेपालमा प्रचलित थियो । उक्त फेलोसिपबाट थप अध्ययनका लागि डेनमार्क जाने सल्लाह गरे, रजनी र सरोजले। 

दुवैको परिवारबीच कुरा भयो, उनीहरुले आफूहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पाए । विवाहको एक वर्षपछि उनीहरु अध्ययनका लागि डेनमार्क पुगे, चार वर्ष ‘रोयल डेनिस एकेडेमी अफ् फाइन आर्टस्’ अन्तर्गत अध्ययन गरेर नेपाल फर्किए। 

प्राध्यापन र राजनीति 

डेनमार्कबाट अध्ययन गरेर जोशी नेपाल फर्किन्, सन् १९९५ मा । त्यसपछि डेनिस आर्किटेक्चरहरूसँग मिलेर काम गर्न थालिन् । उनीहरुले ललितपुरका पाटनमा आर्किटेक्चरसम्बन्धी कन्सल्टेन्सी पनि खोले। 

सन् १९९६ मा उनले पहिलो सन्तानका रुपमा छोरा जन्म दिइन् । छोरालाई जन्म दिन र आफू सुत्केरीबाट तंग्रिन उनलाई तीन महिनाजति लाग्यो । त्यसपछि छोरालाई परिवारको जिम्मामा छाडेर उनी दिनमा केहीबेर काममा निस्कन थालिन् । महिलाहरु पुरुषजस्तो स्वतन्त्र भएर घर बाहिरको काममा निस्कन पाउँदैनन् । छोराछोरी जन्माउन र हुर्काउन समय दिनैपर्छ।  

सन्तान हुर्काउने र आफ्नो पेसाको काम पनि गर्दै थिइन्, ०५८ सालमा भक्तपुरमा ख्वप इन्जिनियर कलेज खुल्यो, उनले त्यहाँ पढाउन थालिन् । ०६६ देखि ०७३ सम्म यहाँको सहायक प्रधानाध्यापकको जिम्मेवारी पनि सम्हालिन् । यो बीचमा उनले नेपाल मजदुर किसान पार्टीको सदस्य लिएकी थिइन्।


 
ख्वप इन्जिनियर कलेजको विकास र प्रवद्र्धनमा उनले आवाज उठाइरहन्थिन् । उनी भन्छिन्, ‘मेरो सक्रियता र केही गरौँ भन्ने भावना देखेर होला, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मलाई स्थानीय तहमा आउन प्रस्ताव गर्नुभयो । समाजसेवा गर्ने चाहना भएका कारण मैले उहाँको प्रस्तावलाई सहजै स्वीकार गरेँ।’
 
पार्टीबाट उनले ०७४ स्थानीय तहको निर्वाचनमा टिकट पाइन् र झक्तपुर नगरपालिकाको उप–प्रमुखमा निर्वाचित भइन् । त्यसपछि उनी भक्तपुरवासीको सेवा र विकासमा लागेकी छन्।

‘घर–परिवार, श्रीमान् बुझ्ने र शिक्षित भएकाले मैले घरायसी महिलाको रुपमा जीवन जिउन परेन । सधैँ आफ्नो उद्देश्य र काममा स्वतन्त्र रुपमा अगाडि बढ्न पाएँ,’ उनी भन्छिन्, ‘महिलाले प्रगति गर्न श्रीमानसँगै घर–परिवार सहयोगी हुनुपर्छ।’

हाल उनी छोरा र श्रीमान्सँग सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएकी छन्। 

कला, संस्कृति र महिला उत्थान 

उपप्रमुख जोशीलाई सांस्कृतिक नगरको कला–संस्कृति जोगाउनु त छँदैछ, योसँगै महिला उत्थानमा पनि काम गर्नुछ । आफूहरु स्थानीय तहको जिम्मेवार पदमा आएसँगै शिक्षा, स्वास्थ्य र सरसफाइमा परिवर्तन आएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘नगरपालिकाले नगरवासीलाई २५ प्रतिशत छुट दिई अध्ययनमा सहज वातावरण बनाएको छ । सात स्थानमा विद्यालय निर्माण गरेको छ।’ 

आफूहरुले पर्याप्त संख्यामा नर्स र इन्जिनियर उत्पादन गरिरहेको उनको भनाइ छ । ‘नगरपालिकाले महिला स्वास्थ्यमा पनि जोड दिएको छ,’ उनी भन्छिन्, ‘महिलाको स्वास्थ्य परीक्षणका लागि नर्सहरूलाई नगरवासीको घर–घर पठाउने गरेका छौँ । सातामा एकपल्ट जाँच गरिन्छ।’ 

विशेषगरी महिलाहरूको पाठेघर लगायत समस्या, बालबालिकाको समग्र अवस्था, वृद्धवृद्धाको श्वासप्रश्वास आदिको चेकजाँच गर्न हप्तामा एकपटक घरघर नर्स तथा स्वयंसेवक पठाउने गरेको उनको भनाइ छ । उनी भन्छिन्, ‘नगरपालिकाबाट दिने सेवा–सुविधामा महिला–पुरुषबीच विभेद गरेका छैनौँ । आवश्यकता अनुसारको सेवा र तालिम प्रदान गरिरहेको छौँ।’

उनका अनुसार, भक्तपुर नगरपालिकाका १० वडामध्ये ६ वटा वडामा शिशु स्याहार केन्द्र स्थापना भइसकेको छ । हाल एक शिशु स्याहार केन्द्रमा ३० देखि ४० बालबालिका छन् । ‘जागिर वा कुनै पेसामा जानुपर्ने महिलाले स्याहार केन्द्रमा बच्चा छाडेर जान्छन् । प्रत्येक बालबालिका अभिभावकबाट मासिक एक हजार रुपैयाँ शुल्क लिन्छौं,’  उनी भन्छिन्, ‘उक्त शुल्कले बच्चालाई पौष्टिक खानेकुरा खुवाउने गरिन्छ।’ 
 

प्रकाशित मिति: ११:४८ बजे, बिहीबार, माघ १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्