Kathmandu Press

राजनीति विकास केन्द्रित नहुन्जेल सम्भव छैन समृद्धि

राजनीतिक स्थिरता नभई विकास सम्भव छैन। अहिले प्रधानमन्त्री केपी ओलीले पाउनुभएको दुई तिहाइनजिकको बहुमत सत्ताका लागि मात्र थियो। त्यसैले दुई तिहाइ बहुमतप्राप्त दलले पनि विकासलाई अगाडि बढाउन सकेन।
राजनीति विकास केन्द्रित नहुन्जेल सम्भव छैन समृद्धि

नेपालमा विकासको मौलिक मोडेल निर्माण हुन सकेन। संविधान नै कस्तो बनाउने भनेर तत्कालीन संविधानसभाका सदस्यहरू भारत, युरोप, अमेरिका र अफ्रिका पुगे। स्वर्गीय डा. सौभाग्य शाहलाई उद्धृत गर्दा हलो जलाउने र ट्र्याक्टर नबनाउने विकास मोडेल भयो हाम्रो। यो अस्तव्यस्तता हो। हरेक मुलुकको माटो पनि सामाजिक हुन्छ। माटोको सामाजिकपन नहेरी विकासको बहस गर्दा मौलिकता प्राप्त गर्न सकिँदैन। नेपालको अहिलेको शिक्षा मौलिक नभएकैले विकासको मोडेल पनि मौलिक हुन नसकेको हो। नेपालका भूभाग बुझिने हिज्जे नै बेलायतीले तयार पारिदिएका छन् र हामीले त्यही स्वीकारेका छौँ। आफूलाई को हौँ भन्‍न नसक्ने प्राज्ञिक वर्ग, कर्मचारीतन्त्र र राजनीतिकर्मी यसमा जिम्मेवार छन्।

नेपालको विकास छिमेकी मुलुकको विकाससँग जोडिएको छ। सन् १९५२-५४ को जनगणना केलाउँदा ६५ प्रतिशत जनसंख्या पहाड र हिमालमा देखिन्छ। सन् २०११ को जनगणनासम्म आइपुग्दा तराई, मधेशमा ५० दशमलव ३० प्रतिशत जनसंख्या देखिन्छ। कारण- विकास तराई, मधेश र सहर केन्द्रित भयो। विद्यालय, कलेज, अस्पताल, सडकलगायत पूर्वाधार तराई क्षेत्रमा केन्द्रित भए। विकासको मोडेलमा पहाड र हिमाललाई हामीले जोडेनौँ।

विकास तराई, मधेश र सहर केन्द्रित भयो। विद्यालय, कलेज, अस्पताल, सडकलगायत पूर्वाधार तराई क्षेत्रमा केन्द्रित भए। विकासको मोडेलमा पहाड र हिमाललाई हामीले जोडेनौँ।

तराई, मधेशमा पनि मधेशी पिछडिएका छन्, बसाइँ सरेर त्यहाँ गएको जनसंख्याले राम्रो आर्थिक उन्‍नति गरिरहेको छ। मधेशीलाई जोड्ने विकास भएन। एउटा पुस्ता हिमाल र पहाडबाट तराई पुग्यो, अर्को पुस्ता काठमाडौं आयो अनि तेस्रो पुस्ता युरोप, अमेरिका गयो। आर्थिक हैसियत पनि बनाए अनि पढाइ लेखाइमा पनि अगाडि भयो, यो जनसंख्या। र, सबैभन्दा चलायमान पनि त्यही जनसंख्या देखियो।

त्यसैले हाम्रो विकास मोडेलमा मुख्य अवरोधक भूगोल पनि बनेको पाइन्छ। भारतसँगको खुला सिमानाले रोटी, बेटीको सम्बन्ध अगाडि बढ्यो। र, त्यही खुला सीमानजिक रेल र सडक लिएर आए। किनकि, उनीहरूलाई नेपालको प्राकृतिक सम्पदा दोहन गर्नु थियो। इस्ट इन्डिया कम्पनीले भारतलाई कब्जा जमाउनुको कारण पनि त्यहाँको प्राकृतिक सम्पदा दोहन गर्नु थियो। इस्ट इन्डिया कम्पनीको विकास मोडेलले नेपालको तराईका जंगल पनि सखाप बनायो। त्यसअघिसम्म नेपालको वनपैदावार प्रयोग नै भएको थिएन।

तिब्बती पठारको कुरा गरौँ। एक समय थियो, तिब्बतबाट नेपालमा नुन, सुन र ऊन पठाउँथ्यो अनि यताबाट खाद्यान्‍न लैजान्थ्यो। अहिले त उतैबाट खाद्यवस्तु आउन थालेका छन्। चीनले मेन ल्यान्डबाट तिब्बतसम्म सडक र रेल जोडिसकेको छ। केहीलाई अपवाद मान्‍ने हो भने वर्षको आधा समय चीनसँगका नाका बन्द रहन्छन्, हिमपातका कारण।

तथापि, हिमाली क्षेत्र पनि केही वर्षभित्र फरक हुने अपेक्षा गर्न सकिन्छ। किनकि, चीनतर्फका नाका धमाधम खुल्ने क्रममा छन्। र, भारतसँगको निर्भरता विस्तारै कम हुँदै जान्छ। त्यो नेपाल र चीन दुवैको आवश्यकता हो। आफ्ना कच्चा पदार्थ पठाएर नेपालमा सामग्री बनाई भारत पठाउँदा ठूलो आकारको व्यापार गर्न सकिने चीनले बुझेको छ। त्यसैले नेपालको विकासमा एउटा फ्याक्टर भूराजनीति पनि हो। भारत र चीनको विकास सँगसँगै नेपालको पनि विकास र अविकास गाँसिएको छ।

चीनतर्फका नाका धमाधम खुल्ने क्रममा छन्। र, भारतसँगको निर्भरता विस्तारै कम हुँदै जान्छ। त्यो नेपाल र चीन दुवैको आवश्यकता हो। आफ्ना कच्चा पदार्थ पठाएर नेपालमा सामग्री बनाई भारत पठाउँदा ठूलो आकारको व्यापार गर्न सकिने चीनले बुझेको छ। त्यसैले नेपालको विकासमा एउटा फ्याक्टर भूराजनीति पनि हो। भारत र चीनको विकास सँगसँगै नेपालको पनि विकास र अविकास गाँसिएको छ।

राष्‍ट्रिय योजना आयोगले अनुसरण गर्ने विकास मोडेल मौलिक छैन। आयोगले अन्य मलुकका विकास मोडेल लिएर आउँछ। जब कि, विकासका लागि नेपालकै माटो सामाजिक छ। त्यसैले भूकम्पका बेला ‘नारायण नारायण’ भन्दै चर्चबाट निस्किने प्रकृतिको भयो, हाम्रो विकास मोडेल।

समाजशास्त्रीय दृष्‍टिबाट हेर्दा हाम्रो स्वदेशी ज्ञानमा ह्रास आउनु पनि विकासलाई पछ्याउन नसक्नुको अर्को कारण हो। कुनै बेला कर्णाली प्रदेश समृद्ध थियो। कर्णालीको अर्थतन्त्रले काठमाडौंलाई पनि उछिनेको थियो। अहिले त्यही कर्णाली प्रदेश अहिले सबैभन्दा पिछडिएको छ।

त्यसको अन्तर्य खोतल्न युरोपको औद्योगिक क्रान्तिसम्म पुग्‍नुपर्छ। औद्योगिक क्रान्तिको बाई-प्रोडक्टका रूपमा उपनिवेशको लहर चल्यो। त्यही लहरसँगै बेलायतीहरू इस्ट इन्डिया कम्पनीमार्फत भारतमा प्रवेश गरे। र, नेपालको सीमाभन्दा रेल र सडक विस्तार गरे। तत्कालीन नेपालका बासिन्दाले त्यतै अवसर देखे। लाहुरे संस्कृति विकास भयो। स्वदेशमा निर्वाहमुखी मात्र बन्यो, कृषि। त्यसको व्यावसायीकरण हुन सकेन।

धानको चामलमा शक्ति जोडियो। राम्रो अन्‍न धानलाई मात्र मानियो। गहुँ, मकै र कोदो सुअन्‍नमा गनिएनन्। आलुको व्यावसायिक खेती हुन सकेन। चिनियाँ कृषकले बाह्रै महिना मकै उत्पादन गर्छन्। हामीकहाँ पनि प्रशस्त मकै फल्ने जमिन छ तर बाह्रैमास फलाउन सकेका छैनौँ। बाह्रैमास काठमाडौंका रेस्टुराँमा मकै ‘सर्भ’ गर्न सकिन्छ। चीनका पाँचतारे होटेलमा बाह्रैमास मकै पाइन्छ, हामीकहाँ किन पाइँदैन ? किनकि, हामीकहाँ व्यावसायिक चरित्र नै विकास भएन।

चिनियाँ कृषकले बाह्रै महिना मकै उत्पादन गर्छन्। हामीकहाँ पनि प्रशस्त मकै फल्ने जमिन छ तर बाह्रैमास फलाउन सकेका छैनौँ। बाह्रैमास काठमाडौंका रेस्टुराँमा मकै ‘सर्भ’ गर्न सकिन्छ।

मुलुकको शिक्षा प्रणालीको बाटो व्यावसायीकरण हुनुपर्ने हो। त्यस मार्गमा हामी उन्मुख छैनौँ। त्यो पथ नै हामीले पछ्याएका छैनौँ। राजनीतिक दल र नागरिक समाजको डिस्कोर्स त्यता हुनुपर्ने हो। आन्दोलन त्यहाँ हुनुपर्ने हो। कतै हामीले गरिरहेका आन्दोलन सही बाटोमा छैनन् कि ?

७० वर्षदेखि हामी आन्दोलनमै छौँ। ती आन्दोलन पनि युरोप र अमेरिकाबाट भारत हुँदै भित्र्याएका छौँ। हामीले कहिल्यै माटो र उत्पादनलाई केन्द्रमा राखेर बहस चलाएनौँ। स्वदेशीकरण गर्ने भनेको हरेक प्रदेश, जिल्ला र स्थानीय तहको सम्भाव्यता खोतल्ने हो। आधुनिकीकरणको अर्थ पश्‍चिमाकरण होइन। पुरानो सभ्यता र संस्कृतिमा असमानता, बेथिति र विकृति छ भने त्यसमा सुधार गर्दै त्यही ट्र्याकबाट अगाडि बढ्ने हो।

जस्तो- जापानमा पश्‍चिमा मुलुक फेल भएका हुन्। जापानीहरूले पश्‍चिमाको आवश्यक कुरा लिए र विकास मोडेललाई मौलिकता दिए। चिनियाँहरूले पनि पश्‍चिमा मुलुकबाट आवश्यक ज्ञान, सीप लिए र आफ्नै मौलिक विकास मोडेल अपनाए। हामीले भने विकासका नाममा आफ्ना सम्पूर्ण कुरा छाडिदियौँ। हाम्रो पुस्ताले न संस्कृत जान्दछ, न त नेपाली र अंग्रेजी नै।

चिनियाँ राष्‍ट्रपति सी जिनपिङले १५ मे २०१९ को ‘डायलग अफ एसियन सिभिलाइजेसन’ शीर्षक प्रवचनमा समाजशास्त्रको ‘कन्टेन्ट’ पनि सभ्यतासँग जोडिनुपर्ने बताएका थिए। त्यहीबेला भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको दोस्रो कार्यकाल सुरु गर्दै थिए। भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयको भाषणमा उनले भ्रष्‍टाचार, धर्मनिरपेक्षता र मूल्यवृद्धि हरेक निर्वाचनमा दोहोरिरहेको बताएका थिए।

भारतमा राजनीति कसरी मोडिएको छ भने स्वर्गीय राजीव गान्धिकी छोरी प्रियंकाले प्रधानमन्त्री मोदीकै शैलीमा नदीहरूमा डुबुल्की मारिरहेका तस्बिर, भिडियो सामाजिक सञ्‍जाल र सञ्‍चारमाध्यममा यत्रतत्र पाइन्छ। अर्थात्, अब भारतको राजनीतिमा पश्‍चिमा आधुनिकीकरण शैली संकटमा पर्ने देखिन थालेको छ। नेपालमा पनि मानिसको ‘सेन्टिमेन्ट’सँग जोडेर राजनीतिक गतिविधि गर्ने प्रवृत्ति सुरु भएको छ।

पहाडमा चामल तराईबाट आएको हो। तर, त्यही तराईमा कुपोषण चर्को छ। त्यसैले हाम्रो चेतना र विकासको मोडेलमा खानाको व्यावसायीकरण गर्ने कि नगर्ने ? र, कृषि उपजको उत्पादन बढाउने कि नबढाउने ? हिमालमा जे पाइन्छ, त्यसबारे अध्ययन गर्न त्यहाँ पुग्‍ने कि नपुग्‍ने ?

पहाडमा चामल तराईबाट आएको हो। तर, त्यही तराईमा कुपोषण चर्को छ। त्यसैले हाम्रो चेतना र विकासको मोडेलमा खानाको व्यावसायीकरण गर्ने कि नगर्ने ? र, कृषि उपजको उत्पादन बढाउने कि नबढाउने ? हिमालमा जे पाइन्छ, त्यसबारे अध्ययन गर्न त्यहाँ पुग्‍ने कि नपुग्‍ने ?

नेपालका विश्‍वविद्यालयहरूमा विदेशका राजनीतिक व्यक्तित्वहरूबारे बहस हुन्छ। तर, स्वदेशकै व्यक्तिबारे चर्चा पनि कम हुन्छ। नेपालमा पनि त समाज र राजनीतिलाई उचाइ दिएका व्यक्तित्व नभएका होइननन्। बीपी कोइराला र मदन भण्डारीले राजनीतिलाई नयाँ दिशा दिएका थिए। डोरबहादुर बिष्‍टजस्ता प्राज्ञिक व्यक्तित्वका बारेमा विश्‍वविद्यालयहरूमा कमै बहस हुन्छ। नेपालको राजनीतिक द्वन्द्व कहाँ छ भन्‍नेबारेमा विश्‍वविद्यालयहरूमा पढाइ हुनुपर्छ।

हाम्रो विकासको मोडेल कति असंगत छ भने काठमाडौंका वरिपरिका डाँडामा पानी संकलन गर्ने प्राकृतिक बुट्यान मासिए र त्यहाँ पानी जमिनमा पुग्‍नै रोकिने सल्लाको बोट लगाइयो। त्यसका लागि गैरसरकारी संस्थाहरूले सहयोग गरे। अनि, पानी मुहान धमाधम सुक्न थाले। त्यसबाट राजकुलोमार्फत सिँचाइ उपलब्ध गराउने प्रणाली पनि समाप्त हुन पुग्यो। आखिर प्रकृतिको पनि त ‘इन्डिजिनिटी’ र ‘नन् इन्डिजिनिटी’ हुन्छ नि।

बेलायतमा नागरिक चेतनाको विकास नौ सय २५ वर्षअघि सुरु भएको हो, जतिबेला अक्सफोर्ड युनिभर्सिटी स्थापना भयो। हाम्रोमा त्रिभुवन विश्‍वविद्यालय ६२ वर्षअघि मात्र स्थापना भएको हो। यो पाटो उल्लेख गर्नुको कारण हो- विकासको पहिलो शर्त नै शिक्षा हो। उनीहरूले नै बनाइदिएको ‘स्मल स्टेट’को अवधारणामा हामी खुम्चेर बसिरहेका छौँ। सार्वभौमिकताका हिसाबले विश्‍वका पुराना मुलुकमध्येमा पर्नेमा नेपालले ‘स्मल स्टेट’, गरिब मुलुक भनेर खुम्चिनुपर्ने थिएन होला।

हामी कहिल्यै उपनिवेश बनेनौँ तर अहिलेको अवस्था हेर्ने हो भने हामी कहिल्यै स्वतन्त्र पनि थिएनौँझैँ आभास हुन्छ। यहाँनेर कांग्रेस नेता प्रदीप गिरिको भनाइ सान्दर्भिक हुन सक्छ। एकपटक उहाँले भन्‍नुभएको थियो- ‘जतिबेला वसन्तपुर दरबारमा कोत पर्व हुँदै थियो, राजा राजेन्द्र तत्कालीन बेलायती दूतावासको ढोका ढकढक्याउन पुगे। तर, ढोका खुलेन र नेपालमा राणा शासन आयो। जतिबेला राजा त्रिभुवन भागेर भारतीय दूतावास गए, ढोका खुल्यो र नेपालमा प्रजातन्त्र आयो।’ यो अवस्थाबाट पार पाउन र हामी स्वतन्त्र रहन विकास नै मुख्य विषय हो।

चीनतिर बढिरहेको पहुँच भविष्‍यमा नेपालको विकास हुने आशाको त्यान्द्रो हो। नेपालको राजनीतिक अस्थिरता र त्यससँगै विकासले गति नपाउनुका कारकतत्व विस्तारै कम हुँदै छन्।

चीनतिर बढिरहेको पहुँच भविष्‍यमा नेपालको विकास हुने आशाको त्यान्द्रो हो। नेपालको राजनीतिक अस्थिरता र त्यससँगै विकासले गति नपाउनुका कारकतत्व विस्तारै कम हुँदै छन्।

राजनीतिक स्थिरता नभई विकास सम्भव छैन। अहिले प्रधानमन्त्री केपी ओलीले पाउनुभएको दुई तिहाइनजिकको बहुमत सत्ताका लागि मात्र थियो। त्यसैले दुई तिहाइ बहुमतप्राप्त दलले पनि विकासलाई अगाडि बढाउन सकेन। किनकि, त्यो दुई तिहाइ विकासका लागि थिएन। दातृ संस्था, मुलुकको शर्तसहितको मोडेल अपनाउनुपर्ने बाध्यताको चक्रब्युहले पनि हामीले विकास गर्न नसकेका हौँ।

(कुराकानीमा आधारित)
 

प्रकाशित मिति: ११:४८ बजे, शुक्रबार, फागुन ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्