‘सम्बन्ध बग्दै गएपछि समुद्र बन्छ, छाल आउँछ, तर डगमगाउँदैन’
सुरु–सुरुमा एक–अर्कालाई बुझ्न नसक्दा सम्बन्ध खहरे खोलाजस्तै अस्थिर हुँदो रैछ– छिनमै रिसाउने, छिनमै भड्किने खालको । अलिअलि एक–अर्कालाई बुझ्न थालेपछि नदीको रूप लिँदो रैछ । बुझ्दै जाँदा, एक–अर्कालाई भोग्दै जाँदा सम्बन्ध समुद्रजस्तो विशाल बन्दो रैछ— जसलाई हल्लाउन पनि महाविपत्ति नै आउनुपर्छ।सम्बन्ध एउटा बिन्दुमा पुगेपछि समुद्रजस्तो हुँदो रैछ । सुरु–सुरुमा एक–अर्कालाई बुझ्न नसक्दा सम्बन्ध खहरे खोलाजस्तै अस्थिर हुँदो रैछ– छिनमै रिसाउने, छिनमै भड्किने खालको । अलिअलि एक–अर्कालाई बुझ्न थालेपछि नदीको रूप लिँदो रैछ । बुझ्दै जाँदा, एक–अर्कालाई भोग्दै जाँदा सम्बन्ध समुद्रजस्तो विशाल बन्दो रैछ— जसलाई हल्लाउन पनि महाविपत्ति नै आउनुपर्छ ।
अहिले मेरो र विनोदजी (श्रीमान् विनोद मानन्धर)को सम्बन्ध पनि समुद्रजस्तै छ । आज आएर हामी छुटिने कुरा असम्भवजस्तै हुन्छ । सानातिना छाल, तरङ्ग त आउँछन् नै ।
परिवारभित्र
परिवार एउटा यस्तो संस्था हो— परिवारको कुनै सदस्य कहीँकतै कमजोर हुन पुग्यो, समस्यामा प¥यो भने परिवारभित्र छलफल गरेर समाधान खोजिन्छ । सदस्यको जस्तोसुकै समस्यामा परिवारले साथ दिन्छ, एक्सन लिन्छ । हामीकहाँ परिवारको महत्त्व छ र हामी मानसिक र आन्तरिक हिसाबले शक्तिशाली छौँ । पारिवारिक नाता–सम्बन्ध, पारिवारिक प्रेम–भावना र विश्वासकै कारण हामी नेपाली बलिया छौ, हामीलाई सानातिना दुःखले छुन सक्दैन ।
मेरो सानो परिवार छ– श्रीमान् (विनोद) मानन्धर), छोरी कविता, सासूआमा र मेरीआमा । मेरीआमा मसँगै त बस्नुहुन्न, आफ्नै घरमा बस्नुहुन्छ । तर, मेरो घर र उहाँको घर नजिकै छ, दिनरातजसो सम्पर्कमा रहन्छौँ ।
माइती–मावली
परिवारको कुरा गर्दा चेलीले माइतीलाई भुल्न सक्दैनन् । अलिकति बाल्यकालतिर फर्कंदा म सानैदेखि मावली हजुरआमाकी प्यारी थिएँ ।
मेरो बुवा आर्मी हुनुहुन्थ्यो, इलामको गणपति । म दुई वर्षकी हुँदा बुवा खस्नुभएको हो रे । बुवाको दुई विवाह हो, मेरी आमा कान्छी हुनुहुन्छ । म ललितपुरको झरासीमा जन्मेकी हुँ । मेरी आमातिर म र एउटी बहिनी मात्र हौँ । म जेठी हुँ ।
बुवा खसेपछि हामी मावलीतिर नजिक भयौँ । आमालाई दुइटी छोरी हेर्न गाह्रो हुन्छ भनेर सानैमा मलाई मावली हजुरआमाले सिन्धुपाल्चोक लैजानुभएको रे । मेरा मावली सिन्धुपाल्चोकका थापाहरू हुन् । मामाकहाँ ७–८ वर्षको उमेरसम्म बसेँ । त्यसपछि काठमाडौं आएँ । त्यसकारण पनि सानोमा मेरो निकटता हजुरआमासँग थियो । अहिले मावली हजुरआमा हुनुहुन्न ।
अर्की हुनुहुन्छ, अञ्जुलीदिज्यु, उहाँ मेरी गडमदर नै हुनुहुन्छ । मावलीबाट फर्केपछि म आमासँग बानेश्वरको घरमा बसेँ । बानेश्वर बस्दा म अञ्जलीदिज्यू (अञ्जली श्रेष्ठपछि सुब्बासँग बिहे गर्नुभयो) सँग निकट भएँ । उहाँ हाम्रो छिमेकी हुनुहुन्थ्यो । अञ्जलीदिज्यू मेरो जीवनमा किन–किन, कसरी–कसरी आउनुभयो र आमाजत्तिकै विश्वासिली बन्नुभयो । उहाँले मलाई जीवनका महत्त्वपूर्ण घुम्तीमा साथ, सल्लाह दिनुभयो । उहाँकै सल्लाहमा म फिल्म क्षेत्रमा आएँ । मैले बिहे पनि उहाँकै सल्लाहमा गरेकी हुँ । म १४ वर्षको उमेरमा फिल्म खेलेँ, सन्तान । त्यसपछि बम्बई गएँ, अभिनय सिक्न । बम्बई बस्दा सुरुका केही दिन अञ्जलीदिज्यूले साथ दिनुभयो । त्यसैले मैले उहाँलाई परिवारकै सदस्यको रूपमा लिन्छु । अहिले उहाँ अमेरिका हुनुहुन्छ ।
बिहेको कथा
हाम्रो बिहे १९९१ मा बिहे भएको हो, जतिवेला म १८ वर्षकी थिएँ, पाँच–सातवटा फिल्म खेलिसकेकी थिएँ ।
कस्तुरी फिल्मको सुटिङका लागि बेलायत जानुपर्ने भयो । कस्तुरीको निर्मातामध्ये विनोदजी पनि एक हुनुहुन्थ्यो । यसरी हाम्रो भेट भयो । विनोदजीको बुुवा ईश्वर मानन्धर पहिलेदेखि नै बेलायत बस्ने, बाबुछोराकै होटल व्यवसाय थियो– बुवाको नटराज रेस्टुरेन्ट, छोराको ओरेन्ज नेप्लिज रेस्टुरेन्ट ।
मभन्दा अलि पाको भएकाले पनि त्यो भेटमा विनोदजीले मसँग कुरैकुरामा ठट्टा गर्नुहुन्थ्यो, जिस्क्याउनुहुन्थ्यो । हाम्रो त्यस्तै १८–२० वर्षको उमेर फरक छ ।
पछि फिल्मकै कामले विनोदजी नेपाल आउनुभयो । तर, छिटै बेलायत फर्कंदै हुनुहुन्थ्यो । सिनेमा अलिकति हल्लाको क्षेत्र पनि हो । विनोदजी र मलाई नाम जोडेर हेर्न थालियो । अफेयर नै भएजस्तो हल्ला हुन थाल्यो, तर, हामीबीच त्यस्तो केही थिएन । हल्लाले मलाई पनि सोच्ने बनायो ।
फिल्म इन्डस्ट्रीमा यस्तो कुरा हुन थाल्यो– विनोद मानन्धरको बेलायतमा रेस्टुरेन्ट छ । परिवार पनि राम्रो छ । उसले नेपाली हिरोइन्सँग बिहे गर्दैन होला ।’
यो हल्लाले मलाई छोयो । इगो पनि आयो— उसले मलाई किन बिहे नगर्ने ? ममा के कमी छ ? भन्याजस्तो भयो ।
विनोदजी पर्सि बेलायत फर्कने कुरा थियो, मैले फोन गरेर भनेँ, ‘विनोद, बिहे गर्ने भए भोलि बिहान गरौँ । नत्र म गर्दिनँ, माइन्ड चेन्ज गर्छु ।’
उहाँले पनि जिस्क्याइरहने, इन्डस्ट्रीमा हल्ला उस्तै । फेरि म त्यतिवेला त्यति परिपक्व निर्णय गर्न सक्ने पनि थिइनँ । फोन गरेर भनिहालेँ । अनि, घरमा ममीलाई भनेँ, ‘ममी म त भोलि बिहान बिहे गर्दै छु, फलानोसँग ।’ आमा पनि छक्क पर्नुभयो । हामी क्षेत्री, विनोदजी मानन्धर । उतिवेला आजभन्दा कडा किसिमले जातभात हेरिन्थ्यो । तैपनि आमाले भन्नुभयो, ‘तिमी खुसी हुन्छौ भने गर ।’
म सानै हुँदा बुवा खसेकाले पनि आमाले मेरो सुन्दर घरबार भएको हेर्न चाहनुहुन्थ्यो । त्यहीवेला अञ्जलीदिज्यूको बिहे भयो र उहाँ भिनाजुसँग अमेरिका जाँदै हुनुहुन्थ्यो । अञ्जलीदिज्यूले मलाई हर कुरामा गाइड गर्ने, उहाँले भन्नुभयो, ‘अहिले नै भन्न सकिँदैन कि फिल्ममा भविष्य कस्तो हुने हो ? राम्रो केटा पाए बिहे गर्दा हुन्छ ।’
उहाँकै सल्लाहअनुसार पनि मैले बिहे गर्ने निर्णय गरेकी हुँ । जेठी छोरी, मेरो बुवा नभएको र मेरी आमातिर दाजुभाइ नभएकाले पनि मलाई भरपर्दो अभिभावक चाहिएको थियो । विनोदलाई अभिभावकजस्तै देखेर पनि मैले बिहे गर्ने निर्णय गरेकी थिएँ ।
फोन गरेर भोलि बिहे ग¥यौँ भनेपछि विनोदजीले पनि सोच्नुपर्ने भयो । बुवाआमासँग सल्लाह पनि गर्नुपथ्र्यो । तर, मैले भनेपछि कसैसँग सल्लाह नगरी भोलिपल्टै हामीले बिहे ग¥यौँ, बंगलामुखी मन्दिरमा गएर । बिहेमा मेरी आमा, फोटोग्राफर राजिव श्रेष्ठ र अञ्जलीदिज्यूको आमा मात्रै हुनुहुन्थ्यो ।
अझ अनौठो त यो भयो कि बिहेपछि म आमासँगै बसेँ । भोलिपल्टबाट सुटिङमा जान थालेँ, फिल्म अरुणिमाको सुटिङ भइरहेको थियो । विनोदजी पनि बिहेको भोलिपल्टै बेलायत जानुभयो ।
एउटा चिठी
विनोदजीले मसँग विवाह गर्दा आमाबुवासँग सल्लाह गर्नुभएन । अनि, बेलायत गएर पनि उहाँले आफूले बिहे गरेको कुरा बुवाआमालाई भन्न सक्नुभएन । तर, बिहे भएको हल्ला पुगिसकेको थियो ।
विनोदजी एक मात्र छोरा । आफूहरूलाई नसोधी बिहे गरेकाले बुवा विनोदजीसँग रिसाउनुभएछ, बोलचालै बन्द भएछ । यसरी नै दुई महिना बित्यो । उहाँ छिटै फर्कने कुरा थियो । तर, फर्कन ढिला गरेपछि फेरि यता इन्डस्ट्रीमा हल्ला चल्न थाल्यो । विभिन्न मान्छेहरूले भन्न थाले, ‘त्यो मान्छे त बौलाहा हो रे, बिहे गर्दै हिँड्छ रे ।’
त्यसपछि मैले बिहे र घरबारबारे गम्भीर रूपमा सोच्न थालेँ । बिहेको महत्त्व बुझ्न थालेँ । बिहे गरेपछि श्रीमान्को घरमा बस्नुपर्छ, अनि मात्रै मान्छेले कुरा काट्न सक्दैनन् भन्ने बुझेँ ।
विनोदजी दुई महिनामा बेलायतबाट फर्कनुभयो । अनि, म उहाँकै घरमा बस्न थालेँ । परिवारको कोही नहुँदा पनि उहाँको घर सहयोगीहरूले हेर्थे ।
बिहेपछि परिवारसँग विनोदजीको सम्बन्ध त्यति राम्रो भएन । एकजना मेरो नन्द नेपालमै हुनुहुन्छ, उहाँ पनि हामीलाई भेट्न नआउने । त्यसले गर्दा मलाई राम्रो लागेन ।
अनि, मैले ससुराबुवा (ईश्वर मानन्धर) लाई चिठी लेखेँ—
‘नमस्ते ईश्वर मानन्धरजी, मैले तपाईंको छोरासँग बिहे गरेकी छु । त्यस्तै प¥यो र हामीले हतारमा बिहे ग¥यौँ । तपाईंको छोराले तपाईंहरूसँग सल्लाह गर्न पनि भ्याउनुभएन । यसको मतलब यो होइन कि तपाईंको छोराले तपाईंहरूलाई असम्मान गर्नुहुन्छ । अनि, मसँग बिहे गरेकै कारण तपाईंहरू आफ्नो छोरासँग रिसाएको थाहा पाउँदा दुःख लाग्यो । ममा के कमी छ र ? तपाईंहरूले स्विकार्नयोग्य बुहारी हुन सकिनँ ?’ चिठी यस्तै भावमा थियो । यो चिठी अझै पनि छ । उहाँको देहान्तपछि मात्रै नेपालबाट पठाएका थुप्रै चिठी भेटिए ।
चिठीमा मुख्य त ‘धनी–गरिब, जात, अनि पेसाको कुरामा के नै छ र ?’ भन्ने आसय थियो । चिठीले उहाँको मन पग्लिएछ । उहाँले मलाई फोन गर्नुभयो, ‘बुहारी’ भनेर सम्बोधन गर्नुभयो ।
त्यसपछि पारिवारिक सम्बन्ध राम्रो हुन थाल्यो । छोरी कबु जन्मेपछि मात्रै हाम्रो बिहेको पार्टी भयो, परिवारका सबै सदस्य भेटियौँ ।
विनोदजी मात्रै होइन, मेरी जेठी नन्दको बेलायत बस्ने मलेसियनसँग अफेयर चलेछ । तर, बिहे गर्न १० वर्ष कुर्नुप¥यो— जात–धर्म, संस्कार फरक परेकाले ।
बिहेपछि विनोदजी नेपालमै बस्न थाल्नुभयो । आमाबुवा बेलायतमै बस्नुहुन्थ्यो, हामी दसैँ–तिहारमा भेट्न जान्थ्यौँ ।
समय बित्दै गयो, म क्रमशः उहाँहरूको संस्कारमा घुलमिल हुँदै गएँ । बेलायतबाट बुवाआमा आउँदा, म उता जाँदा मैले बुहारीको भूमिका निभाएँ । क्रमशः हाम्रो पारिवारिक सम्बन्ध पनि गाढा बन्दै गयो ।
छोटो समय भए पनि विनोदजीकी हजुरआमासँग मेरो गाढा सम्बन्ध थियो । उहाँले मलाई विशेष माया गर्नुहुन्थ्यो । उहाँ प्रायः बेलायतमै बस्नुहुन्थ्यो । तर, जीवनका अन्तिम क्षण उहाँले मसँगै बिताउनुभयो । उहाँ सन् १९९४ मा मेरै घरमा बित्नुभयो । त्यतिवेला कबु गर्भमा थिई ।
पछि बुवाले पनि रेस्टुरेन्ट बेच्नुभयो, हेर्ने कोही भएन । अहिले ससुराबुवा हुनुहुन्न । सासुआमा हामी सँगै नेपालमा हुनुहुन्छ । सासुआमा निकै सौम्य हुनुहुन्छ ।
कबु
सन् १९९४ को डिसेम्बरमा छोरी कबु (कविता) जन्मिई । कबु जन्मेपछि झनै मेरो फिल्मी करिअर राम्रो भयो, धेरै फिल्म पाउन थालेँ । मलाई मावली हजुरआमाले हुर्काएजस्तै कबुलाई मेरीआमाले हेर्नुप¥यो । छोरी मभन्दा हजुरआमासँग नजिक छ । त्यतिवेला आमाको घर चावहिलमा थियो । सुटिङ सकेर म सीधै चावहिल जान्थेँ, कबुलाई भेट्न ।
सन् २००३ को अन्तिमतिर म अमेरिका गएँ । आठ महिनाजति लाग्यो, मेरो ग्रिन कार्ड बन्न । त्यसपछि कबुलाई पनि अमेरिका झिकाएँ । उसले तीन वर्ष अमेरिकाकै स्कुलमा पढी । अनि, नेपालकै शुभतारा स्कुलबाट ९ कक्षादेखि पढेर एसएलसी गरी ।
हुर्कंदो उमेरमा उसले नेपाली संस्कार सिकोस् भनेर मैले नै नेपाल पठाएकी थिएँ । त्यसले राम्रो पनि भयो । उसले पश्चिमा र पूर्वीय दुवै संस्कार, संस्कृति बुझेकी छ । अमेरिकामा ऊ नायिका पूजा चन्दकी छोरी दिव्यासँग बस्छे ।
हाम्रो एक मात्रै सन्तान हो, कबु । चलचित्रमा यति व्यस्त भएँ कि अर्को सन्तान जन्माउने समय नै पाइनँ । हाम्रो समाजमा छोरालाई महत्त्व दिइन्छ । तर, हाम्रो परिवारलाई छोराछोरी बराबरी हो । विनोदजीलाई पनि छोरै हुनुपर्छ भन्ने लागेन, मैले त झनै त्यसरी सोचिनँ । सासुआमाले भने कहिलेकाहीँ नाति भइदिए हुन्थ्यो भन्ने कुरा गर्नुहुन्थ्यो, तर कहिल्यै कसैले छोराका लागि दबाब दिनुभएन ।
आमाछोरी जोक्स
कब्बुसँग मेरो सम्बन्ध साथीको जस्तो छ । मैले फेसबुकमा पोस्ट गरेको फोटो मनपरेन भने उसले म्यासेज गर्छे । यो भएन, त्यो भएन भनेर हटाउन भन्छे ।
सपिङ जाँदा पनि रमाइलो हुन्छ । म जाने पसललाई उसले ‘बूढी पसल’ भन्छे । किनभने, टिनएजर्सको सपमा मेरा लागि सामान पाइँदैन, उसलाई सपिङ गरेपछि मेरा लागि अर्को पसल जानुपर्ने हुन्छ । त्यस्तो वेला उसले ‘अब बूढी पसल जाउँ’ भन्छे ।
छोरी र मेरा धेरै रमाइला घटना छन् । सन् २०११ तिर उसलाई कलेज भर्ना गर्न अमेरिका गएकी थिएँ । हामी आमाछोरी काम विशेषले हिँडिरहेका थियौँ । अमेरिकामा बाटोमा हिँडिरहेको कोही मनप¥यो भने सीधै फोन नम्बर माग्ने गरिन्छ । एउटा केटाले भन्यो, ‘ओ, आई लाइक यु । क्यान आई ह्याभ योर नम्बर प्लिज ?’
मैले कबुलाई भनेँ, ‘बच्चालाई पनि के भन्या होला !’ अनि, कबुले भनी, ‘ममी, तपाईंका लागि पो म बच्चा भएँ त, उसका लागि त म केटी हो नि !’
अर्को दिन, हामी त्यसरी नै घुमिरहेका थियौँ । एकजना मान्छे आएर उसरी नै मेरो नम्बर माग्यो । अनि, कबुले भनी, ‘कस्तो होला, मेरो ममीको नम्बर उसलाई किन चाहियो ?’
मैले भनेँ, ‘तिम्रा लागि पो म ममी हो, उसका लागि त म पनि एउटी केटी हो नि !’
हामी आमाछोरीभन्दा पनि बढी साथीजस्तै छौँ । टिन एजमा स्वभावैले प्रायः केटाकेटी आफ्ना आमाबुवासँग झर्कने, रिसाउने गर्छन् । आमाबुवालाई मन पराउँदैनन् । बढ्दो उमेरसँगै एकपटक उनीहरूमा आफ्नो कुरा मात्रै ठीक लाग्ने भावना आउँछ । तर, कबुले कहिल्यै पनि मसँग त्यस्तो व्यवहार देखाइन् । अहिले पनि दिनहुँजसो भिडियो च्याट भइरहन्छ ।
अमेरिका यात्रा
हाम्रो विवाहले नै विनोदजीलाई नेपाल फर्कने बाटो खुल्यो । बेलायतको रेस्टुरेन्ट बेचेर उहाँ नेपाल फर्कनुभयो । नेपाल टेलिभिजन सिनेसम्बन्धी कार्यक्रम ‘क्ल्याप’ चलाउनुभयो । पछि ‘ढुकढुकी’ र ‘बाबुसाहेब’ चलचित्र बनायौँ ।
बाबुसाहेब चलचित्र गरेपछि म अमेरिका जान चाहेँ । एक बिहान चिया पिउँदै उहाँलाई भनेँ, ‘म अमेरिका जान्छु, सिनेमाबाटै ब्रेक लिन्छु । अर्कै केही गर्न चाहन्छु । म सानैदेखि सिनेमामा लागेँ, यसबाहेक अरु नै गरेर जीवनलाई बुझ्न चाहन्छु ।’
उहाँले सहजै मेरो प्रस्तावलाई मान्नुभयो । वास्तवमै मैले केही फरक अनुभव लिन चाहन्थेँ । विदेश बस्ने भए त मलाई बेलायत छँदै थियो, आफ्नै होटल छँदै थियो ।
अमेरिकामा सुरुमा म एक्लै बस्थेँ । पछि नायिका पूजा चन्द आइन् । ऊसँग बस्न थालेँ । पछि छोरीलाई पनि झिकाएँ ।
म अमेरिका पैसा कमाउन गएकी थिइनँ । यता, विनोदजीले पनि म छिटै फर्कन्छु भन्ने सोच्नुभएको थियो । तर, म काम गरेर बस्न थालेँ । सुरुमा सब–वे स्यान्डविच पार्लरमा काम गरेँ, स्यान्डविच बनाउने । पछि त्यसकै म्यानेजमेन्टको काम गरेँ । म्यानेजमेन्टलाई बुझेपछि मलाई आफ्नै बिजनेस सुरु गर्न मन भयो । एउटा फेसनसम्बन्धी पसल खोलेँ, मसँग पनि अलिअलि पैसा थियो, यता विनोदजीसँग पनि मागेँ । एकजना पार्टनर पनि हुनुहुन्थ्यो । तर, बिजनेस राम्रो भएन । त्यो बिजनेस सुरु गरेपछि म झनै होलटाइमर भएँ । विनोदजीले पनि धेरै दुःख नगर, नेपाल आऊ भन्न थाल्नुभयो । ५–६ वर्ष अमेरिका बसेर फर्कें ।
अमेरिका हुँदा मैले धेरै नै मिस गरेको परिवारलाई नै हो— जिन्दगी सुन्दर हुन एउटा बलियो सम्बन्धसहितको परिवार चाहिँदो रैछ ।
०००
विनोदजीले मलाई ठूलो स्वरले गाली त गर्नुहुन्न, हात छाड्ने धेरै परको कुरा हो । म नै बढी रिसाउँछु । उहाँले सधैँ बच्चा सम्झेर व्यवहार गरेको मलाई मनपर्दैन । सुरुदेखि नै नुनदेखि सुनसम्म उहाँले किन्नुभयो । अहिले उहाँ नभए मैले केही गर्नै सक्दिनँजस्तो हुन्छ । अहिले आएर मलाई लाग्न थालेको छ कि मेरो पनि डिसिजन चल्नुपर्छ । उहाँले मसँग कुनै पनि कुरामा सल्लाह लिनुहुन्न । उहाँको सोच छ कि मैले केही व्यवहार गर्न सक्दिनँ । यही सोच सतहमा देखिँदा कहिलेकाहीँ हाम्रो सानोतिनो झगडाजस्तो हुन्छ ।
मेरो रिसाउने तरिका गज्जबको छ, रिस उठ्यो भने मैले उसको कम्प्युटरको स्क्रिनमा लेखिदिन्छु— मसँग नबोल, डिस्टर्ब नगर । यसो गर्नु पनि पर्दोरैछ । नत्र मान्छेले अर्काको भ्यालु भुल्दै जान्छ ।
हाम्रो सम्पत्ति कसको नाममा छ भन्ने मैले अहिले ख्याल गरेकी छैन । सायद सासुआमाको नाममा छ कि ? नभए विनोदजीकै नाममा होला । तर, मेरो नाममा छैन । मलाई उहाँले एउटा बैंकको कार्ड दिनुभएको छ ।
प्रायः हामीले एक–अर्कालाई ‘तिमी’ भनेर सम्बोधन गर्छौं । तर, आज अन्तर्वार्ता दिँदा कतै तिमी, कतै हजुर भयो होला ।
उदारता
विनोदजीसँग मेरो सम्बन्ध श्रीमान् र श्रीमतीभन्दा बढी साथी र अभिभावकको जस्तो छ । नेपाली समाजमा श्रीमान्ले श्रीमतीलाई आफ्नो काबुमा राख्ने जुन प्रवृत्ति छ, त्यो हामीबीच बिल्कुलै छैन । उहाँले मलाई बुझ्नुभएको छ । उहाँले मलाई निसर्त माया गर्नुहुन्छ र म फिल्म क्षेत्रमा सफल भएँ ।
हाम्रो समाज पुरुषप्रधान छ, तर उहाँले मेरो स्वतन्त्रतामा कुनै बाधा गर्नुभएन । म स्वतन्त्र रूपमा चलचित्र क्षेत्रमा लागिरहेँ ।
बीचमा मैले विदेश जान्छु भनेँ, त्यसमा पनि कुनै बाधा गर्नुभएन । उहाँको ठाउँमा अरु हुन्थ्यो भने डिभोर्ससम्म पुग्थ्यो होला । उहाँले श्रीमान्को मात्रै नभएर अभिभावकको भूमिका खेल्नुभयो । मेरो स्वतन्त्रतालाई उहाँले जुन महत्त्व दिनुभयो, यसमा मैले आफूलाई भाग्यमानी सम्झन्छु ।
कुराकानीमा आधारीत