Kathmandu Press

‘कांग्रेसी शिक्षक भनेर पञ्चायतकालमा जेल हालियो’

हिँड्दाहिँड्दै जहाँ रात पर्छ, त्यहीँ वरपरको घरमा गएर ‘बास पाइन्छ हजुर’ भनी सोध्ने चलन थियो । यसरी दुई दिन हिँडेर काठमाडौं आएपछि मेघराजका दिदीभाइले डिल्लीबजारमा कोठा भाडामा पाए, मासिक १६ रुपैयाँ तिरेर । त्यहीँ बसेर उनीहरूले एसएलसी दिए।
‘कांग्रेसी शिक्षक भनेर पञ्चायतकालमा जेल हालियो’

७२ वर्षीय मेघराज कोइराला ३९ वर्ष (२०२६–२०६५) शिक्षणसेवामा समर्पित रहे । उनले २०२० सालमा एसएलसी दिएका हुन् । उतिबेला उनी एसएलसी दिन सिन्धुली दुप्चादेखि हिँडेर काठमाडौं आएका थिए । आज उनले पढाएका विद्यार्थी विभिन्न क्षेत्रमा छन्।

अवकाशपछि (२०६५ देखि) उनले सर्लाहीमा ‘पिस जोन बोर्डिङ स्कुल खोलेका छन् । हिजो उनी स्वयंले कसरी पढे त ? गत साता काठमाडौंमा भेटिएका मेघराजसँग काठमाडौं प्रेसले भलाकुसारी गरेको छ, उनको अध्ययन र अध्यापन यात्राबारे । पाका मानिसका कुरामा केही न केही अवश्य हुन्छ । आशा छ, उनको कथा तपाईंलाई पनि जानकारीमूलक र ऊर्जामूलक हुनेछ।

एसएलसी दिन सिन्धुलीदेखि हिँडेर काठमाडौं

२०२० सालमा माघको १ गते एसएलसी परेको थियो । सिन्धुली, दुप्चाको कमला माविमा पढेका मेघराजको एसएलसी सेन्टर काठमाडौं दरबार हाई स्कुलमा पर्यो । उनकी दिदी (प्रतिभा)ले पनि त्यही साल एसएलसी दिँदै थिइन् । यी दिदीभाइ मंसिरमै सिन्धुलीबाट काठमाडौंका लागि हिँडे।

करिब डेढ महिनापछि (माघमा) एसएलसी भए पनि काठमाडौंमा बासको व्यवस्था मिलाउन उनीहरू छिटो आएका थिए ।  त्यतिबेला सिन्धुलीबाट काठमाडौं आउन दुई दिन लाग्थ्यो । बाटोमा खानबस्नका लागि दिदीभाइले केही खानेकुरा (चिउरा, घिउ सक्खर), ओढ्ने लुगा बोकेर हिँडेका थिए । बाटोमा विभिन्न काम विशेषले काठमाडौं आउने थुप्रै भेटिन्थे।

सिन्धुलीबाट हिँडेपछि पहिलो दिन दाप्चा भन्ने ठाउँमा आएर बास बस्नुपथ्र्यो । उतिबेला हिँड्दाहिँड्दै जहाँ रात पर्छ, त्यहीँ वरपरको घरमा गएर ‘बास पाइन्छ हजुर’ भनी सोध्ने चलन थियो । उनीहरूले पनि त्यसरी नै सोधे । एउटा घरमा बास पाए र बसे । ‘त्यो बेला सजिलै बास पाइन्थ्यो,’ मेघराज भन्छन्, ‘जुन घरमा बास मागेको हो, त्यहाँ बास बस्ने अवस्था छैन भने उनीहरूले अर्को घरसम्म पुर्याइदिन्थे।’

बास बसेको घरमा खाना खान पनि दिन्थे । कतै भने आफैँले लगेको चामल–गुन्द्रुक पकाउनुपथ्र्यो । सुत्दा आफैँले लगेको दोलाई ओढ्नुपथ्र्यो । दाप्चाबाट बिहानै हिँडे साँझसम्म काठमाडौं पुगिन्थ्यो । दुई दिन हिँडेर काठमाडौं आएपछि मेघराजका दिदीभाइले डिल्लीबजारमा कोठा भाडामा पाए, मासिक १६ रुपैयाँ तिरेर । त्यहीँ बसेर उनीहरूले एसएलसी दिए । मेघराज भन्छन्, ‘त्यतिबेला सस्तोमा पाँच रुपैयाँसम्ममा कोठा भाडामा पाइन्थ्यो।’

एसएलसीपछि मेघराजले नपढ्ने सोचेका थिए, तर उनका बुवाले दिएनन् । क्याम्पसको अध्ययन गर्न पनि दिदी र उनी पुनः काठमाडौं आए । त्यो समयमा बनेपादेखि भक्तपुरसम्म लहरीले एक रुपैयाँमा ल्याइदिन्थ्यो। तर, कैयौँपटक उनीहरू एक रुपैयाँ जोगाउन बनेपादेखि हिँडेर आउँथे । त्यतिबेला पैसा जोगाउन आफूहरू जस्तै अरु पनि हिँड्ने गरेको उनी सुनाउँछन् ।

एसएलसीपछि दिदीभाइले लाजिम्पाटस्थित चेत भवनबाट ‘केलज अफ एजुकेसन’बाट आइए र बिएड गरे । चेतशमशेरको दरबार भएकाले क्याम्पस भवनको नाम चेतभवन रहेको मेघराज बताउँछन्। उक्त कोर्स पढ्दा कलेजले सबै विद्यार्थीलाई महिनाको ४५ रुपैयाँ भत्ता दिन्थ्यो । यस्तो व्यवस्था नेपाल र अमेरिकाको संयुक्त पहलमा भएको थियो । त्यतिबेला अन्यत्र थुप्रै जिल्लाका मानिस आएर काठमाडौंमा पढ्थे । कलेज पढ्ने महिला भने निकै कम हुन्थे।

क्याक्पस पढ्दा मेघराजले एक कप चिया १० पैसामा पिउँथे । ‘कुनै कुनै पसलमा त हामीकहाँ १० पैसामा एक कप चियाको साथमा एउटा पाउरोटी सित्तैमा पाइन्छ भनी ग्राहक तानिन्थ्यो,’ मेघराज भन्छन्, ‘एक कप चियासँगै एउटा पाउरोटी पाउने आशामा हामीहरू त्यही पसलमा झुम्मिने गर्थ्यौ।’

२०२२ तिर काठमाडौं एकदमै खुला थियो । शनिबारको दिन उनी लुगा धुन साइकल चढेर कहिले कमलपोखरी, कहिले सुन्धाराको ढुंगेधारामा पुग्थे । सधैँ एकै ठाउँमा के नुहाउनु भनी कहिलेकाहीँ उनी साथीहरूसँग बाजालुको बाइसधारा पनि पुग्थे।

बुवाको चेतना

मेघराजका तीन दाजुभाइ, दिदी र बहिनीले सिन्धुलीको गढीमा रहेको कमला हाई स्कुलबाट टेस्ट दिएका हुन् ।उनको जमानामा पाटीमा अँगारले लेख्ने चलन थियो । सानो छँदा बिहान उठ्नेबित्तिकै उनले काठको पाटीमा अँगारले लेखेर अभ्यास गर्थे । उनी स्कुल जाँदा पनि पाटी र खरी हातमा झुन्ड्याएर जान्थे।  

उनका बुवा रविप्रकाश कोइरालाले संस्कृत भाषाको दुर्गा, चण्डी पाठ गर्न तथा तमसुक, चिठी लेख्न जान्दथे। मेघराज सानो छँदा घरमा बुवाले पनि लेखपढमा केही सघाए ।  
रविप्रकाशले तीन छोरा र दुई छोरीलाई भेदभाव नगरी विद्यालय पठाएका थिए । रविप्रकाशलाई गाउँलेले जेठा भन्थे। छोरीहरूलाई पनि पढाएको देखेर उनलाई गाउँलेले भने, ‘जेठाले छोरीहरू पढाएको छ, अब यसका छोरीहरू पोइला जान्छन्।’

रविप्रकाश जवाफ दिन्थे, ‘मेरा छोरी पोइला गए पनि योग्य केटा छानेर जान्छन्, किनकि उनीहरूले पढेका छन् ।’

मेघराजको पालामा निकै कम छात्राले पढ्थे । उतिबेला छोरी पढाउनुपर्छ भन्ने सोचको विकास भइसकेको थिएन ।

मेघराजकी आमा टीकादेवी गृहिणी थिइन्, उनलाई लेखपढ आउँदैनथ्यो । त्यसैले मेघराज ९–१० वर्षको हुँदा आमालाई राष्ट्रकवि माधवप्रसाद घिमिरेको गौरी शोककाव्य पढेर सुनाउँथे । सुन्दै गएपछि उनकी आमा धुरुधुरु रुन्थिन् । यो सम्झेर मेघराज केहीबेर मौन भए ।

बेलुकीको खाना खाएपछि उनकी आमाले सधैँ टुकीको छेउमा बसेर बत्ती कातिरहेकी हुन्थिन् । एकपटक उनकी आमाले देउरानीलाई भनिन्, ‘माइली, नेपाल (काठमाडौं)मा त बिजुली बत्ती बल्छ रे, त्यहाँका आइमाईले रातभर नसुती नसुती कति बत्ती काट्दा होलान् !’

आमाले यसो भन्दा मेघराजलाई पनि लागेको थियो, बिजुली बत्ती कस्तो होला ! उनकी आमाको २०१७ सालमा निधन भयो । आमा खसेको पाँच वर्षपछि काठमाडौंमा बिजुली बत्ती देख्दा मेघराजलाई आमाको सम्झना भएको थियो।

आमाको मृत्यु हुँदा मेघराजका बुवा ५१ वर्षका थिए । उनलाई छरछिमेकी र आफन्तले भने, ‘तेरो उमेर छ, अर्को विवाह गर्।’

तर उनका बुवाले दोस्रो विवाह गर्न मानेनन् । मेघराज भन्छन्, ‘बुवाले मेरा पाँचजना छोराछोरी छन् । यिनलाई सुनचाँदी, अन्नपात जे छ, बेचेर पढाउनुपर्छ । अर्की आमा ल्याउँदा उसले यिनीहरूलाई कस्तो व्यवहार गर्ने हो, त्यसैले अहिले अहिले बिहेको कुरै नगर भनेर गाउँलेलाई चुप लगाउनुभयो । हामी सबैको शिक्षा र बिहेदान भएपछि भने बुवाले दोस्रो विवाह गर्नुभयो। अर्की आमातर्फ एउटा भाइ छ।’

मेघराजले विद्यालय पढ्ने समयमा पार्कर कलमले लेख्ने व्यक्तिलाई हुनेखाने र गन्यमान्य मानिन्थ्यो । मेघराज भने निगालो काटेर बनाइएको चुच्चो कलमलाई कालो मसीमा चोपेर लेखी हुर्केका हुन् ।

उनको गाउँमा गर्मी मौसममा औलोको डर हुन्थ्यो । त्यसैले गर्मी यामको दुई महिनाजति औलोबाट जोगिन डाँडामाथि विद्यालय सारेर बिहानी कक्षा पढाउने चलन थियो । उनीहरूलाई गणित, विज्ञान विषय पढाउने शिक्षक जनकपुर र पूर्वतिरबाट आउँथे । उतिबेला गाउँमा शिक्षक पनि उत्पादन भएका थिएनन् । उनले विद्यालय अध्ययन गर्दा कहिले पनि शिक्षिका देखेनन्।

मेघराजको बाल्यकाल सिन्धुलीमै बित्यो । तर, २०११ सालमा सुनकोसीमा आएको बाढीले धेरैको बालीनालीमा क्षति पुर्यायो । त्यो वर्ष गाउँका धेरै मानिस तराई क्षेत्रमा बसाइँ सरे। उनको परिवार भने २०३० मा सर्लाहीको लालबन्दी गाउँपालिका–२ मा बसाइँ सर्‍यो।

कांग्रेसी शिक्षक भनेर जेल हालियो

मेघराजले आइएड गरेदेखि गाउँमा छोरी दिनेको भीड लागेको थियो, पढे–लेखेको केटो भनेर । २०२३ सालमा गाउँकै १४ वर्षीया हीरा कोइरालासँग उनको विवाह भयो । केटाको बाबुले केटीको बाबुको हातमा जनै–सुपारी दिएपछि विवाहको स्वयंवर भएको ठहर हुन्थ्यो । उनको घरभन्दा आधा घन्टा पैदल यात्रा दूरीमा पर्ने गाउँमा उनी घोडा चढेर बेहुली लिन गएका थिए।

विवाहपछि उनले काठमाडौंबाट बिएड गरे । त्यसपछि २०२६ सालमा दोलखा भीमसेनस्थान नजिकै रहेको भीम पब्लिक हाइस्कुलबाट शिक्षण पेसा सुरु गरे । १ देखि १० कक्षासम्म पढाइ हुने त्यस विद्यालयमा उनी हेडमास्टर थिए, त्यहाँ उनले दुई वर्षजति अंग्रेजी विषय पढाएर छाडे।
 
त्यस समय दोलखा बजारमा नेवार समुदायका बाहुल्य रहेको उनी बताउँछन्। ‘दोलखाको नेवार समुदायमा बोल्ने भाषा काठमाडौं, भक्तपुर र ललितपुको नेवारी भाषासँग मिल्दैन,’ उनी भन्छन्, ‘द्वापर युगमा पाँच पाण्डव १२ वर्षको वनवासपछि एक वर्ष विराट राजाको दरबारमा गुप्तबास बसेका थिए । कसैले नबुझोस् भनी बोलिएको भाषा नै यहाँ नेवार समुदायमा बोल्ने गरेको भनिन्छ।’

उक्त स्थानमा बोलिएका केही नेवारी भाषा उनलाई अझै पनि सम्झना छ । त्यहाँ कहाँबाट आउनुभयो भनेर सोध्दा ‘गिवीलाल झायन दिर्घु ?’ भनिने मेघराज बताउँछन्।

शिक्षण पेसा गरिरहेकै बेला उनलाई कांग्रेसमा लागेको मान्छे भनी तत्कालीन पञ्चायत सरकारले २०२९ सालमा काठमाडौंको केन्द्रीय कारागारमा राखेको थियो । एक वर्ष जेल सजाय भोगेर उनी २०३० मा काभ्रे जिल्लाको प्रभा हाइस्कुलमा हेडमास्टर बन्न पुगे । त्यहाँ उनले नौ महिना बिताए।
 
उनकी दिदी प्रभा कोइराला पोखरामा सरकारी अधिकृत थिइन् । त्यतिबेला पश्चिमाञ्चलमा नयाँ शिक्षा लागू भएर बिएड गरेका मास्टरको दरबन्दी खुलेको थियो । दिदीको सहयोगमा मेघराजले पनि आवेदन दिए । त्यसपछि उनी तनहँुको दमौली सदरमुकामको निर्मल माध्यमिक विद्यालयमा हेडमास्टर भए । यहाँ पनि कक्षा ६ देखि १० अंग्रेजी विषय पढाउँथे।

यहाँ दुई वर्ष पढाएपछि उनको सरुवा बन्दीपुुरको भानु माविमा भयो । यस विद्यालयमा उनले पढाएका धेरै विद्यार्थीसँग उनको भेट अहिले पनि हुन्छ । जसमा जिल्ला शिक्षा अधिकारी बद्रिनारायण अधिकारी, डाक्टर बनेका भोलाराम श्रेष्ठ, सिभिल इन्जिनियर कुमार श्रेष्ठ हुन् । हेडमास्टरकै रुपमा पाँच वर्षमा पढाएपछि उनी जनमतसंग्रहपछि (२०३७ मा) उनी पुन सर्लाही पुगे । सर्लाहीको नवजीवन विद्याश्रममा २०४३ सम्म पढाउँदै थिए । जिल्ला प्रशासनले कांग्रेसको समर्थक भनी विद्यालय छोड्न आदेश  दियो।
 
त्यसपछि उनी जागिर खोज्दै भौँतारिएर रौतहट पुगे । जहाँ आफ्नै विद्यार्थी जीवनको साथी कृष्णप्रसाद शर्मा सिडियो थिए । साथीको भनसुनमा उनले त्यहाँको जनजागृति माविमा पढाउन थालेको तीन वर्ष मात्र भएको थियो, त्यही बेला २०४६ जनआन्दोलन सुरु भयो, उनको जागिर पनि छुट्यो।

त्यसपछि उनले सर्लाहीको नारायण जनता माविमा पढाउन थाले । यहाँ पढाउँदा पढाउँदै २०६० सालमा उनी एक महिनाका लागि जापान जाने अवसर पाए, ‘फ्रेन्डसिप फर ट्वान्टी फस्र्ट सेन्चुरी’ कार्यक्रमका लागि । त्यसपछि उनी सर्र्लाहीकै शिशुकल्याण जनता माविमा सरुवा भए । यही विद्यालयबाट उनले २०६५ मा अवकाश लिएका हुन्।

प्रकाशित मिति: १२:३१ बजे, शनिबार, फागुन १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्