Kathmandu Press

खानेपानी मन्त्रीको आश्वासन– मधेश प्रदेशका आठ जिल्लाको खानेपानी संकट समाधान हुन्छ

‘विपद्को यस घडीमा हामी नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न खटिएका छौँ । यहाँको खानेपानी समस्या चाँडै समाधान गरिने म आम नागरिकहरुमा विश्वास दिलाउन चाहन्छु,’ उनले भने।
खानेपानी मन्त्रीको आश्वासन– मधेश प्रदेशका आठ जिल्लाको खानेपानी संकट समाधान हुन्छ

पर्सा, साउन ९ : खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन्। 

शुक्रबार पर्सास्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसंकटको सामना गरिरहेका बताए ।

‘तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर संकट उत्पन्न भएको छ। अब सहानुभूति होइन, साझा जिम्मेवारी आवश्यक छ,’ उनले भने, ‘खानेपानी संकट मधेश प्रदेशको मात्रै समस्या होइन, यो हाम्रो साझा चुनौती हो। संकट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ।’

मन्त्री यादवले तराई–मधेशमा विकराल समयमा पनि आफूसहित सिंगो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराए। 

‘विपद्को यस घडीमा हामी नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न खटिएका छौँ । यहाँको खानेपानी समस्या चाँडै समाधान गरिने म आम नागरिकहरुमा विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

मन्त्री यादवले आफूले नेतृत्व गरेको खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्बाट मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको बताए। 

‘यो संकटलाई केवल सहानुभूतिका रूपमा होइन, साझा जिम्मेवारीका रूपमा हेर्ने र समाधानका लागि हातेमालो गर्ने बेला आएको छ। दातृ निकाय, संघसंस्था र नागरिक समाजलाई आवश्यक सहयोग गर्न म हार्दिक आग्रह गर्दछु,’ मन्त्री यादवले भने।

मन्त्री यादवले ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजना ठोरी क्षेत्रको दीर्घकालीन खानेपानीको संकट अन्त्यको लागि मन्त्रालयले दिगो र रणनीतिक समाधानतर्फ गरेको प्रयासको प्रतिबद्धताको मुल  प्रतिबिम्ब भएको दाबी पनि गरे। 

यस आयोजना मार्फत ठोरीका कम्तिमा पनि दुई हजार १६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए। 

प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, साउन ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्