Kathmandu Press

मन्दिरमा हात फैलाउँदा भेटेको माया

२०६५ सालमा थापाथलीस्थित गोकर्णेश्वर मन्दिरमा पहिलोपटक लक्ष्मीले फुलकुमारीलाई देखे । लक्ष्मीले त्यहीँ बसेर माग्ने काम गर्थिन् । पहिलोपटक देख्दा नै फुलकुमारीलाई आफ्नो ठाने । मनले आफ्नो ठान्ने पनि धेरै आधार हुन्छन् । झट्ट हेर्दा मधेसी महिला, एक्लै माग्न बसेकी– लक्ष्मीको मनमा अनेक कुरा खेले।
मन्दिरमा हात फैलाउँदा भेटेको माया
लक्ष्मी यादव आफ्नी पत्नी र छोरीका साथ
Hardik ivfHardik ivf

काठमाडौं, माघ ३० : ‘आज धेरै चिसो छ, यति लुगाले थेग्दैन,’ पत्नी फुलकुमारीले आँगनमा निकालेको ‘ह्विलचेयर’ बसेका ६० वर्षीय लक्ष्मी यादवले भने । ४८ वर्षीया फुलकुमारी केही बोलिनन् । उनले चुपचाप श्रीमान् सवार ह्विलचेयर धकेल्दै अघि बढिन्, श्रीमान लक्ष्मीलाई नियमित काम गर्ने थलोमा पुर्याउनु उनको दैनिकी जस्तै हो । लक्ष्मीको पनि नियमित काम जस्तै हो– सडकमा बसेर माग्नु । 

गएको हप्ताको दृश्य हो यो, थापाथलीस्थित सानो झुरुप्प परेको सुकुम्बासी बस्तीको । यस बस्तीभित्र एउटा झुपडी छ, त्यस झुपडीमा पाँच जनाको परिवार बस्छ– लक्ष्मीका दम्पती र तीन सन्तान ।

बिहान सबेरै उठ्नु, भात–तिहुन बनाई तीनजना केटाकेटीलाई विद्यालय पठाउनु, अनि श्रीमानलाई सडकसम्म पुर्याउनु फूलकुमारीको दैनिकी हो ।

२३ माघमा नारायणहिटी संग्रहालयअघि बनाइएको भव्य मञ्चबाट प्रधानमन्त्री केपी ओलीले भने, ‘सडकमा अब कोही असहसाय छैन । सबैलाई हेर्ने सरकार छ ।’ 

तपाईंलाई सरकारले हेर्दैन ? हिजो (बुधबार) आफ्नै झुपडीमा भेटिएका लक्ष्मीको जवाफ दिन्छन्, ‘मलाई दया गरेर जसले पाँच रुपैयाँ दिन्छ, उही मेरो सरकार हो ।’

लक्ष्मी यादव आफ्नी पत्नी र छोरीका साथ

लक्ष्मी अपांगता भएका व्यक्ति हुन्, जन्मँदै दुइवटै घँुडाभन्दा मुनिको भाग थिएन । तर सरकारले अपांगता भएकाका लागि गरेको कुनै पनि सहयोग आफूले नपाएको उनी बताउँछन् । उनी भन्छन्, ‘तीन सन्तानको पढाइ खर्च र घरखर्च मागेरै चलाउँदै आएको छु । सरकारले केही गर्ला भन्ने आशा छैन ।’

लक्ष्मीलाई आफ्ना तीन सन्तानको पीर छ । सन्तानलाई शिक्षा दिएर जागिरे बनाउनु उनको उद्देश्य हो । उनी भन्छन्, ‘यिनीहरुले मैले जस्तै मागेर खान नपरोस् ।’ 

लक्ष्मी आजभन्दा ३५ वर्षअघि धनुषाबाट काठमाडौं आएका हुन् । उनको उद्देश्य ठूलो थिएन, केवल आशा थियो– कसैबाट सहयोग पाउँछु कि, कुनै तालिम लिएर बसेरै गर्ने काम पाउँछु कि ! तर, उनी सडकमा ‘माग्ने’ बनेँ । अहिले उनी लगनखेल बसपार्कमा माग्न बस्छन् र दैनिक ३ सय देखि ५ सय रुपैयाँसम्म कमाउँछन् । 

‘बा, आमा भइन्जेल हुर्काए, सहारा दिए । बा–आमा नभएपछि कसले हेर्ने ? त्यही भएर काठमाडौं आएँ,’ उनी भन्छन्, ‘जहाँ मानिसको भीड हुन्छ, त्यहीँ बस्थेँ । काठमाडौं मल, सिभिल मल, सुन्धारातिर पनि बसेँ ।’ 

यसरी मागेर उनले आफूले मात्र निर्वाह गरेनन्, गाउँमा दाजुलाई खर्च पनि पठाइदिन्थे । अहिले भने आफ्नै परिवारलाई हेर्न मुस्किल परेको छ । लक्ष्मी भन्छन्, ‘महामारी आयो नि, माग्न पनि पाइएन ।’ 

‘लभ एट फस्र्ट साइट’जस्तो

फुलकुमारी भारतमा जन्मेकी हुन्, उनको सानै उमेर (१५ वर्ष)मा बारामा बिहे भएको थियो, परिवार र श्रीमानले हेला गरेपछि उनी घर छाडेर माइत गइन् । तर माइतीले शरण दिएनन्, ‘सहेर बस्’ भनेर पठाइदिए । त्यसपछि उनी बहकिँदै काठमाडौं आइपुगिन् । ‘माइतीले वास्ता नगरेपछि काठमाडौं आएँ, यहाँ आइपुग्छु भन्ने पनि थाहा थिएन, भाग्यले ल्यायो ।’ फुलकुमारी नेपाली भाषामा उति खुल्दिनन् । उनी हिन्दी लबजमा भन्छिन्, ‘काम केही नाइँ, चिनेको कोही नाइँ मागेर बाँच्न थालेँ । त्यही बेला बूढासँग भेट भयो ।’ 

फुलकुमारी र लक्ष्मीको भेट पनि सुन्दर थियो, चलन चल्तीको ‘लभ एट फस्र्ट साइट’जस्तो । 

२०६५ सालमा थापाथलीस्थित गोकर्णेश्वर मन्दिरमा पहिलोपटक लक्ष्मीले फुलकुमारीलाई देखे । लक्ष्मीले त्यहीँ बसेर माग्ने काम गर्थिन् । पहिलोपटक देख्दा नै फुलकुमारीलाई आफ्नो ठाने । मनले आफ्नो ठान्ने पनि धेरै आधार हुन्छन् । झट्ट हेर्दा मधेसी महिला, एक्लै माग्न बसेकी– लक्ष्मीको मनमा अनेक कुरा खेले । 

लक्ष्मी यादव आफ्नाे निवासमा

एउटा घर होस्, कोही आफूलाई माया गर्ने जीवनसाथी होस् र बालबच्चा होऊन्, घरखर्च धान्ने कामधन्दा होस्– आम नेपालीको सपना यस्तै हुन्छन् । काठमाडौं आउनुअघि अथवा बैँसालु जीवनमा प्रवेश गर्दै गर्दा लक्ष्मीले पनि करिब–करिब यस्तै सपना देखेथे । उनले आफ्नो सपना फुलकुमारीको आँखामा देखे । 

लक्ष्मीले सीधै फुलकुमारीलाई भन्न पनि सकेनन् । साँचो प्रेम कहाँ शब्दमा सीधै व्यक्त हुन्छ र ? उनले साथीको सहारा लिए । उनले फुलकुमारीलाई बिहे गर्न चाहन्थे । यही प्रस्ताव उनले साथीमार्फत फुलकुमारीसम्म पुर्याए । फुलकुमारीलाई पनि कोही आफ्नो मान्छे भेटेको आभास भयो, दुवैले बिहे गरे ।

यो दम्पती सुकुम्बासी बस्तीमा बस्न थालेको चार वर्ष भयो । साथीले रोकेर राखेको यस छाप्रोमा परिवारसहित बस्न पाउँदा लक्ष्मी खुसी छन् ।
जुन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले असहायको सरकार छ भनेर भाषण गरेका  थिए, त्यस दिन लक्ष्मी आफ्नो काममा जान पाएनन् । हिजो २८ गतेको प्रचण्ड–दाहाल पक्षको आन्दोलनमा उनी आफ्नो काममा गएनन् ।    

‘आज पनि खोइ कसको आन्दोलन छ रे,’ लक्ष्मीले भने, ‘आज नजाने ।’
 

प्रकाशित मिति: १०:०६ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्