ज्ञानमालाले सगरमाथा टेक्दा...
शिखरसम्म पुग्दा उनले बाटोभरि थुप्रै शव देखिन् । हिउँमा जस्ताको तस्तै रहेको शव देख्दा उनलाई लाग्यो– जीवनको मूल्य त सास फेर्दासम्म मात्र रहेछ ।काठमाडौं, माघ १० : एउटी महिलालाई साहसिक काम गर्न के कुराले प्रेरणा दिन्छ ? अनि कस्ता कुराले निरुत्साहित बनाउँछ ? महिलामा हुनुपर्ने गुण, जसलाई समाजले निर्धारण गरेको हुन्छ, उक्त निर्धारित मान्यताभन्दा फरक काम कुनै महिलाले गर्दा समाजसँग कसरी जुध्नुपर्ला ? धेरै तीतामीठा अनुभव छन्, ज्ञानमाला रणपालसँग ।
२०५० वैशाख १० गते पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाले सगरमाथाको शिखर चुमेको समाचार ज्ञानमालाले सुनिन् । त्यो समाचारले उनलाई सगरमाथाप्रति चासो जगायो । त्यसपछि उनले शेर्पा र सगरमाथाको विषयमा सोधखोज गर्न थालिन् । उनलाई पनि सगरमाथाको शिखर चुम्ने रहरले उक्साउन थाल्यो ।
५.३ उचाइ, खाइलाग्दो जिउडालकी ज्ञानमालाले सगरमाथा चढ्छु भन्दा धेरैले पत्याएनन् । ‘एउटी महिला, त्यसमाथि मोटी, अझ उमेर कटिसकेकी, कसरी चढ्न सक्छे ? वर्षौंसम्म चढिरहेका शेर्पाहरू त चढ्न नसकेर फर्किराछन्’ उनले यस्तै सुन्नुपर्याे । तर उनले सगरमाथा आरोहण गर्ने जिद्दी छाडिनन् । उनी भन्छिन्, ‘सक्दिनौँ भनेर दुरुत्साहित गर्ने जति थिए, प्रोत्साहित गर्नेहरू पनि उत्तिकै थिए, जसले मलाई सपना साकार गर्न प्रेरित गरिरह्यो ।’
- शिखरसम्म पुग्दा उनले बाटोभरि थुप्रै शव देखिन् । हिउँमा जस्ताको तस्तै रहेको शव देख्दा उनलाई लाग्यो– जीवनको मूल्य त सास फेर्दासम्म मात्र रहेछ ।
यसरी २०३८ सालमा कपिलवस्तुमा जन्मिएकी ज्ञानमालाको सानैदेखिको सपना बन्न पुग्यो, सगरमाथा आरोहण । घरबाट बुवा र दाइ आर्मीमा थिए । मानिसमा अभिभावकको स्वभावको छाप पर्नु अस्वाभाविक होइन । ज्ञानमाला सानैदेखि हक्की स्वभावकी थिइन् । उनको लवाइखवाइ पनि त्यस्तै थियो । उनलाई भाडाकुटी खेलमा कहिले चासो लागेन, बरु उनी कराँते खेल्थिन् । उनका अधिकांश साथी पुरुष थिए ।
२०५४ मा एसएलसी दिएपछि उनले नेपाल प्रहरीमा आवेदन दिइन् र नाम निकाल्न सफल भइन् । तर, देशको राजनीतिक अवस्था सहज थिएन । १० वर्षे माओवादी सशस्त्र विद्रोह अर्थात् संकटकालमा ज्ञानमालालाई आफ्नो जागिर प्रिय लागेन । त्यसैले उनले प्रहरीको जागिर छाडेर बसिन् । र, २०६४ मा उनी रोजगारीका लागि इजरायल पुगिन् । विदेश जानुको प्रमुख उद्देश्य थियो, सगरमाथा चढ्नका लागि रकम जम्मा गर्नु । करिब नौ वर्ष इजरायलमा बिताएर उनी ०७५ मा स्वदेश फर्किन् ।
इजरायलमा काम गर्दा पनि उनले इन्टरनेटमा सगरमाथालाई सर्च गर्थिन् । ‘अहो, कत्रो होला त्यो अजंगको सगरमाथा ? सगरमाथामा टेक्दा के सोच आउँछ होला ? त्यहाँसम्म पुग्न सकुँला कि नसकुँला ?’ यस्तै जिज्ञासाले उनमा जोस र जाँगर भर्थ्याे । ‘अझ अनौठो त मानिसहरु जीवनकै दाउ राखेर सगरमाथा चढ्ने साहस किन गर्छन् ? मानिसको खुसी कुन कुरामा अडिएको हुन्छ ?’ ज्ञानमाला भन्छिन्, ‘यस्ता प्रश्न मनमा खेलिरहन्थे, त्यसैले ममा सगरमाथा चढ्ने हुटहुटी झनै बढायो ।’
सगरमाथाको आरोहण गर्नु कुनै उकालो पहाड उक्लनुजस्तो प्रयास होइन । त्यसका लागि लागत, लगाव र साहस चाहिन्छ । विशेषतः लागतका लागि उनले विदेशको भूमिमा पसिना बगाउँदै थिइन् । ‘सगरमाथा आरोहण गर्ने मेरो जीवनको सपना थियो, त्यसका लागि रातदिन खटिएर काम गर्नुको मसँग विकल्प थिएन,’ उनी भन्छिन् ।
सगरमाथा आरोहण गर्न के के तयारी र प्रक्रिया गर्नुपर्छ ? विदेशमै छँदा उनले एकजना सगरमाथा आरोहण गरिसकेको साथीसँग जानकारी लिइरहेकी थिइन् । नेपाल फर्केर उनले पासाङ ल्हामु प्रशिक्षण केन्द्र र अन्य क्लाइम्बिङ वालमा तालिम लिइन् ।
‘सगरमाथा आरोहणका लागि शारीरिक र मानसिक रुपमा तयार हुनुपर्छ,’ उनी भन्छिन्, ‘म तराईमा जन्मे–हुर्केको परेँ, पहाड र हिमालसँग त्यति अभ्यस्त थिइनँ । त्यसमाथि नौ वर्षभन्दा बढी विदेश बसेर आएको, त्यसैले मैले निकै मेहनत गर्नुपर्याे ।’
सर्वोच्च शिखर टेक्दाको त्यो पल
विदेशमा कमाएको पैसाले ज्ञानमालाले यता कपिलवस्तुमा जग्गा जोडेकी थिइन् । सगरमाथा चढ्ने बेला जग्गा बेच्नुपरे बेचौँला भन्ने उनलाई लागेको थियो ।
अन्नतः उनले सगरमाथा आरोहण गर्ने दिन आयो, त्यसका लागि ४५ लाख रुपैयाँ खर्च लाग्ने भयो । सबै खर्च जुटाएर ०७६ जेठमा उनी सगरमाथाको यात्रा सुरु गरिन् ।
‘सगरमाथा बेस क्याम्पबाट हाम्रो पदयात्रा सुरु भएको थियो, क्याम्प वान पुग्दा शरीरले नै साथ छाड्छ कि जस्तो लाग्यो,’ उनी भन्छिन्, ‘तर बिस्तारै क्याम्प टु, थ्री र फोरसम्म पुग्दा शरीरले त्यहाँको वातावरणसँग घुलमिल हुन सक्यो । हिम्मत जुटाएर अगाडि बढ्दै थिएँ, सेताम्मे बरफमा जमेका शवहरू देख्न थालेँ । पाँच जनाको शवमध्ये एउटा शव महिलाको रहेछ, कता कता नरमाइलो महसुस भयो, घरपरिवारलाई सम्झेँ ।’
शिखरसम्म पुग्दा उनले बाटोभरि थुप्रै शव देखिन् । हिउँमा जस्ताको तस्तै रहेको शव देख्दा उनलाई लाग्यो– जीवनको मूल्य त सास फेर्दासम्म मात्र रहेछ ।
उनी सगरमाथा चढ्दा सगरमाथामा जाम परेको थियो, यो समाचार उनको घरसम्म पनि पुगेको रहेछ । उनको घरमा सबै अत्तालिएछन् । सगरमाथाको चुचुरोमा पाइला टेक्नु भनेको ज्यान दाउमा राख्नु हो भन्ने बुझेकी ज्ञानमालाले अदम्य साहस बटुलेर शव हेर्दै अगाडि बढिन् । आखिर उनी आफ्नो जीवनकै प्रमुख गन्तव्यमा पुगिन्, जेठ ९ गते, बिहान १०ः१० मा ।
सानै उमेरमा आमा गुमाएकी ज्ञानमालाले सगरमाथा शिखरमा टेक्दा बुबालाई सम्झिइन् । बुवाको साथ, सहयोग, दाजुभाइको हौसला नभएको भए आज म यहाँ हुन्नथेँ, यही सम्झेर उनको आँखा रसाए, त्यो सर्वोच्च हिमाल चढेको तातो हर्षाश्रुलाई उनको तन र मनले महसुस गर्याे ।
- ज्ञानमालाले सगरमाथा चढ्छु भन्दा धेरैले पत्याएनन् । ‘एउटी महिला, त्यसमाथि मोटी, अझ उमेर कटिसकेकी, कसरी चढ्न सक्छे रु वर्षौंसम्म चढिरहेका शेर्पाहरू त चढ्न नसकेर फर्किराछन्’ उनले यस्तै सुन्नुपर्यो।
‘चुचुरोमा मोबाइल नेटवर्क उपलब्ध हुँदो हो बुवालाई फोन गरेर त्यो खुसी साट्थेँ,’ उनी भन्छिन्, ‘चुचुरोमा टेक्नासाथ हतार–हतार बुवाको फोटो हेरेँ । बुवाकी बहादुर छोरीको रुपमा सपना पूरा गरेको खुसी शब्दमा बयान गर्न सक्दिनँ । शिखर टेक्दा सक्दिनस् भन्नेहरुलाई जवाफ दिएँ भन्ने लागेको थियो । ’
उनले पछि थाहा पाइन्, सगरमाथा आरोहण गर्ने दलित समुदायबाट आफू पहिलो महिला भएको । उनले हाँस्दै भनिन्, ‘मेरो समुदायको पहिलो सगरमाथा आरोही महिला हुँ भन्दा गर्व महसुस त हुन्छ ।’
यी पढ्नुहोस् :
‘राजा त्रिभुवनका लागि राणाशासकले दुई सय जति केटी राखिदिएका थिए’
‘उतिबेला प्रेम–विवाह गरी भागेको उजुरी धेरै आउँथ्यो’
उहिलेकाे नेपाल ७ : आँखा अगाडि झुन्डिएको शुक्रराज शास्त्रीको शव...
‘स्कुलबाट साँझ घर फर्कंदा बिहे छिनिएको थाहा पाएँ’