Kathmandu Press

प्रधानमन्त्री कप क्रिकेट : बाग्मती र गण्डकी प्रदेश विजयी

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएका दुई खेलमा बाग्मती प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् ।
प्रधानमन्त्री कप क्रिकेट : बाग्मती र गण्डकी प्रदेश विजयी
Hardik ivfHardik ivf

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएका दुई खेलमा बाग्मती प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा बाग्मतीले सुदूरुपश्चिम प्रदेशमाथि १८० रनको फराकिलो जित निकाल्दा मूलपानी क्रिकेट मैदानमा गण्डकीले प्रदेश १ लाई २ विकेटले हरायो । 

टियू मैदानमा पहिला ब्यटिङ गर्दै बाग्मतीले दिएको  ३ सय रहेका विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिमले २१ ओभरमा अलआउट हुँदै ११९ रन मात्र बनाउन सक्यो । सुरुवाती ४ ब्याट्सम्यान डकआउट भएपछि सुदूरपश्चिम दबाब आएको थियो । उसका लागि नारायण जोशीले सर्वाधिक ४४ रन बनाए भने अर्जुन साउदले ३१ र किरण ठगुन्नाले २४ रनको योगदान दिए । अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । सुदूरपश्चिमको इनिङ ध्वस्त बनाउने क्रममा बाग्मतीका रामनेश गिरीले ४ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए ।  

पृथु बास्कोटा र अदिल खानले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि बागमतीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २९९ रन बनाएको थियो । ९४ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरेका पृथुले सर्वाधिक ८५ रन बनाए भने अदिलले ८६ बल १० चौका प्रहार गर्दै ६३ रन बनाए । 

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन बनाउँद पारस खड्काले २० रन बनाए । सुदूरपश्चिमका नारायण जोशीले ३ तथा सन्तोष भट्ट र भोजराज भट्टले समान २ विकेट लिए । बाग्मतीको यो लागातार दोस्रो जित हो । 

प्रदेश १ माथि गण्डकी हावी
प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ । सोमबार मूलपानीमा भएको खेलमा प्रदेश १ लाई २ विकेटले हराउँदै उसले प्रतियोगितामा पहिलो जित निकालेको हो । 

प्रदेश १ ले दिएको १०३ रनको सामान्य लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो । उसका लागि अर्जुन कुमाल र दीपक डुम्रेले समान ३५ रनको योगदान दिए । प्रदेश १ का शुभांकर उराव र मनिष थापाले समान २ लिए । 

पहिला ब्याटिङ गरेको प्रदेश १ले २७।४ ओभरमा अलआउट हुँदै १०२ रन मात्र बनाउन सक्यो । उसका कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रन बनाउँदा मनिष थापाले २२ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । गण्डकीका सुवास भण्डारी र विशाल पौडेलले समान ४ विकेठ लिँदा विपिन खत्रीले २ विकेट लिए । 

प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन् । टियू मैदानमा लुम्बिनी र प्रदेश २ भिड्दा मुलपानीमा गण्डकी र कर्णाली प्रदेश भिड्ने छन् ।

प्रकाशित मिति: १७:०७ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्