‘उलिनकाठ चढेर पटना पढ्न गएँ, महिनावारी भएपछि फर्किएँ’

काठमाडाै‌ं, माघ ३ : ‘आउनुस्, यतै बसौँ,’ हामीलाई एउटा कोठामा लैजाँदै ८० वर्षीया शशिले भनिन्, ‘यो मेरा श्रीमान् (शंकरनाथ रिमाल)को कार्यकक्ष हो, यहाँ उहाँ फुर्सदको समयमा चित्र बनाउनुहुन्छ ।’ 

त्यस कोठाको ढोकाछेउ लेखिएको थियो : शशि–शंकर निवास । उनका श्रीमान् शंकरनाथ रिमाल नेपाल कला परिषद्का महासचिव तथा राष्ट्रिय झन्डाका डिजाइनर हुन् । 

‘काठमाडौं प्रेस’को ‘उहिलेको नेपाल’ शृंखलामा कुरा गर्न शशि रिमालले हामीलाई सोमबार नक्साल नागपोखरीस्थित आफ्नै घरमा डाकेकी थिइन्।

शशिको जन्म २८ पुस १९९७ सालमा काठमाडौं कमलपोखरीमा भएको हो, लोकनाथ जोशी र लोकप्रियादेवी जोशीका आठ सन्तान (तीन छोरी र पाँच छोरा)मध्ये कान्छी छोरीका रुपमा । 

शशि रिमाल

आमाको नाम लिनेबित्तिकै उनले नजिकै रहेको डिल्लीराम मिश्रद्वारा लिखित ‘नेपाली पुरस्कारको इतिहास’ पुस्तक देखाउँदै भनिन्, ‘यसमा मेरी आमाको बारेमा छापिएको छ।’ 

शशिकी आमा लोकप्रियादेवी (वि.सं. १९५५–२०१७) पण्डित तिलमाधव देवकोटाकी छोरी र महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी हुन् । यस्तो पारिवारिक माहोलका कारण मात्रै होइन, आफ्नै प्रतिभाले लोकप्रिया कवयित्री थिइन्, त्यसैले इतिहासका पानामा उनको नाम अंकित छ। 

लोकप्रियाको चिनाको नाम ‘हुतलक्ष्मी’ र घरमा बोलाउने नाम ‘काइँलीमैयाँ’ थियो, विवाहपछि श्रीमान् (लोकनाथ जोशी)ले आफ्नो नामको अघिल्लो शब्द ‘लोक’मा ‘प्रिया’ थपेर ‘लोकप्रिया’ नाम राखिदिएका थिए । लोकनाथ जोशी तत्कालीन समयका मानिएका व्यापारीसँगै राणाकालीन राज्यसभाका सदस्य थिए । 

तत्कालीन पत्रपत्रिकामा लोकप्रियादेवीका सिर्जना छापिन्थे । शशि भन्छिन्, ‘आमाले धेरै कविता लेखे पनि कमै मात्र प्रकाशित भएका थिए । उहाँका सिर्जना नमरोस् भनेर मैले संकलन गरी ‘कवयित्री लोकप्रियादेवी’ (कविताकथा संग्रह ः २०४०) प्रकाशन गरिदिएकी छु।’

महाकवि मामा, कवयित्री आमा

लोकप्रियादेवीले ४५ वर्षको उमेरमा शशिलाई जन्म दिएकी थिइन् । त्यसैले आफू बुवाआमाको बुढेसकालको सहारा भएर जन्मेको शशि बताउँछिन् ।  

‘बिहेको अघिल्लो दिन घरमा केटाभन्दा केटी धेरै सानी छे भनेर कुरा हुँदैथ्यो । मनमा केटा कस्तो होला भन्ने लागेको थियो । लुकेर केटाका लागि सिलाएको लुगा हेर्न गएँ । लुगाको साइज हेरेर केटा कति ठूलो होला भनेर अनुमान गर्ने सोचेकी थिएँ, लुगा हेर्दै गर्दा आफन्तले देखे र उत्ताउली भनेर जिस्काए ।’ 

महाकवि लक्ष्मीप्रसादकी भान्जी, कवयित्री लोकप्रियादेवीकी छोरी शशिसँग सम्झनाका तरेली थुप्रै छन् । उनलाई आफ्नी आमा र मामा (लक्ष्मीप्रसाद)को सम्झनाले भावुक बनाउँछ । 

‘मेरो मामा र मेरी आमा खुबै मिल्नुहुन्थ्यो,’ शशि भन्छिन्, ‘मेरी आमाले कविता लेख्नुभएको आफ्नो भाइबाटै प्रभावित भएर हो । उहाँहरू भेट हुँदा कविताका बारेमा छलफल गरिरहनुहुन्थ्यो ।’ 

महाकवि देवकोटाले मासु र चुरोट धेरै खाने शशि बताउँछिन् । मामाको घर (डिल्लीबजार धोबीधारा)मा शशि कहिलेकाहीँ विशेष अवसरमा मात्रै जान्थिन् । 

शशि भन्छिन्, ‘म सानोमा मामाघर जाँदा देख्थेँ– मामा सेतो धोती लगाएर गुन्द्रीमा बस्नुहुन्थ्यो, उहाँको एउटा हातमा चुरोट कहिल्यै टुट्दैनथ्यो । बढीजसो उहाँले चुरोट तान्दै कपीमा केही लेखिरहनुहुन्थ्यो ।’ 

सानो छँदासम्म शशिलाई मामाको लेखनबारे कुनै चासो भएन । पछि मामाको लेखनबारे चर्चा सुन्न थालेसँगै आफूलाई मामाप्रति थप सम्मान बढेको र गर्व महसुस भएको उनी बताउँछिन् । 

उलिनकाठ चढेर भीमफेदी 

शशिका बुवा लोकनाथ चार दाजुभाइमध्ये कान्छा थिए । चारै दाजुभाइ मिलेर काठमाडौंमा विभिन्न व्यवसाय गरेका थिए । पेट्र««ोलपम्प, फुलमार्क भन्ने चुरोट कारखाना र खाद्य सामग्री व्यापार थियो उनीहरूको । 

‘२०११ सालतिर काठमाडौं उपत्यकामा जम्मा तीनवटा पेट्रोलपम्म थिए– बिजुली अड्डा, त्रिपुरेश्वर र न्युरोेडमा,’ शशि भन्छिन्, ‘त्यतिबेला अन्य पसल पनि कमै मात्रामा थिए । हाम्रो चाहिँ खाद्यान्नको होलसेल पसल थियो ।’ 

#उहिलेकाे_नेपाल शृङ्खला

उहिलेको काठमाडौं १: ‘पाँच मोहोरमा एक भारी दाउरा बेच्थें’

उहिलेको काठमाडौं २ : ‘मान्छेले गाडी बोकेर ल्याएको हेर्न जान्थेँ’

उहिलेकाे नेपाल - ३ : ‘डोकोमा चढेर काठमाडौं आएको हुँ’

शशिलाई कुनै कुराको दुःख थिएन । तर त्यतिबेला छोरीहरू विद्यालय जाने चलन थिएन । 

राणाहरूसँग उनका बुवाको राम्रो सम्बन्ध थियो । ‘त्यसैले म ६ वर्षकी हुँदा जंगबहादुरको परिवारले मलाई छोरी बनाउन लगेका थिए,’ शशि भन्छिन्, ‘त्यतिबेला राणाका परिवारका बालबालिकाले ‘फस्र्ट पुस्तक’ नामको पुस्तक पढ्ने गर्थे । जसमा अंग्रेजीदेखि नेपाली वर्णमाला हुन्थ्यो । त्यही पुस्तकबाट मैले अक्षर चिनेकी हुँ ।’

उनी राणा परिवारमा तीन वर्षजति बसिन् । घर फर्केपछि पनि उनलाई पढ्ने इच्छा जाग्यो । त्यतिबेला राणा परिवारले विदेशी शिक्षक ल्याएर छोराछोरीलाई घरमै पढाउँथे । कतिपय व्यवसायी र उच्च खान्दानका व्यक्तिहरूले भने भारत छोराछोरालाई पढाउन भारतमा पठाउँथे । 

शशि रिमाल

शशि पनि ९ वर्षको उमेरमा पढ्नका लागि भारतको पटना जाने भइन् । उनका बुवा व्यवसाय सिलसिलामा भारतको पटना आउजाउ गरिरहेका हुन्थे । त्यसैले उनले छोरीलाई पटना पठाउने निर्णय गरेका थिए । 

शशिलाई त्यतिबेला काठमाडौंदेखि पटना पुग्न पाँच दिन लाग्यो । पहिलो दिन उनी उलिनकाठ (डोली) चढेर भीमफेदीसम्म पुगेर बास बसिन् । त्यतिबेला उलिनकाठ बोक्ने भरिया हुन्थे । एउटा उलिनकाठ बोक्न चार जनादेखि ६ जनासम्म हुन्थे । शशि भन्छिन्, ‘पातलो मान्छेलाई बोक्नुपर्दा चारजना र मोटोलाई ६ जनाले पालैपालै बोक्थे ।’ 

उनको बुवाको गाडी त थियो तर सडक थिएनन् । सानासाना गल्लीबाट दक्षिणकाली, कुलेखानी हुँदै मकवानपुरको भीमफेदी पुगिथ्यो । 

‘उलिनकाठमा काठमाडौंदेखि भीमफेदीसम्म पुगेबापत एउटा व्यक्तिको १५ देखि २० रुपैयाँ लाग्थ्यो,’ शशि भन्छिन्, ‘अन्य मानिसहरू हिँडेर आवातजावत गरिरहेका हुन्थे ।’ 

शशिका अनुसार, त्यतिबेला भीमफेदीमा बस्नका लागि ठूलो धर्मशाला थियो । टाढाटाढा जाने मानिसहरू त्यहीँ रात बिताउने गर्थे । मानिसहरू यात्रा गर्दा आफूलाई आवश्यक ओढ्ने–ओछ्याउने र खानेकुरा आफैँले लैजान्थे । 

#उहिलेकाे_नेपाल शृङ्खला

उहिलेकाे नेपाल - ४ :‘एसएलसी दिन १३ दिन हिँडेर काठमाडौं आएँ’

उहिलेकाे नेपाल - ५ : युवराज वीरेन्द्रलाई भनेँ, ‘हजुरले फेरि भात खुवाएजस्तो गर्नुपर्‍यो’

उहिलेकाे नेपाल  ६ : राजकुमारी श्रुति फूल किन्न आइन् र भनिन्- ‘सरकार होइन, छोरी भन्नुस्, आमा’

भीमफेदीबाट सामान ओसारपसार गर्ने ट्रकमा बसेर शशि एक दिनमा रक्सोल पुगिन् । रक्सोलबाट भने पटना जाने रेल चल्थ्यो । 

पटनामा उनी ‘सेन्ट जोसेफेस् कनभेन्ट’ स्कुलमा भर्ना भइन् । जहाँ बस्ने–खाने सबै सुविधा थियो । बालबालिकाको हकमा हेरविचार गर्ने कर्मचारीको पनि व्यवस्था थियो । 

क्रिस्चियनको सहयोगमा खुलेको विद्यालय भएकाले त्यहाँ शशिले यशुको बारेमा पनि जान्न–बुझ्न पाइन् । त्यहाँ तीन वर्ष पढेपछि उनलाई बुवाले काठमाडौं ल्याए । 

‘बुबा गएर एक्कासि सबै सामान प्याक गर भन्दा म अचम्भित भएकी थिएँ । केही काम छ, काम सकेर फेरि पढ्न आउने भन्नुभएको थियो,’ शशि भन्छिन्, ‘नेपाल फर्किएपछि फेरि जान पाइनँ ।’ 

पहिलो महिनावारीको खबर आएपछि...

पटनाबाट घर आइपुगेपछि उनले थाहा पाइन्, घरमा उनको बिहेको कुरा चलेको रहेछ । उनकी ठूली माइजु लमी बनेकी रहिछन् । शशि भन्छिन्, ‘गौरीधारा घर भएका इन्द्रनाथ रिमाल र सीतादेवी रिमालका छोरा शंकरनाथ रिमालसँग मेरो बिहे पक्का भइसकेको रहेछ । उतिबेला सकेसम्म महिनावारीअघि नै बिहे गर्ने चलन थियो ।’ 

पटनामा छँदा उनी पहिलो महिनावारी भएकी थिइन् । त्यहाँ उनलाई डाक्टर र नर्सले हेरविचार गरेका थिए । ‘पटनामा भएका कारण मैले पहिलो महिनावारीको केही समस्या भोग्नुपरेन,’ शशि भन्छिन्, ‘म महिनावारी भएको खबर घरमा आएकाले मेरो विवाह गर्न हतार गरिएको रहेछ । आमाले भनेर थाहा पाएँ । उतिबेला अहिलेजस्तो विवाह गर्दिनँ भन्न पाइँदैनथ्यो । केटालाई हेर्न र बुझ्न त झन् परको कुरा हुन्थ्यो । परिवारको सदस्यले हुन्छ भनेपछि बिहे हुन्थ्यो ।’ 

शशिका अनुसार, त्यतिबेला काठमाडौंमा बिहे गर्न तीन दिन लाग्थ्यो । विवाहको कुरा पक्का भएपछि पहिले पाँचजना पण्डित लिएर केटा पक्ष केटी पक्षको घरमा आउँथे र आँगनमा बसेर ‘हजुरको छोरी दिनु मेरो छोरालाई’ भन्दै आवाज दिन्थे । केटी पक्षले छोरी दिने भनेपछि पण्डितहरू केटाको घर फर्कन्थे । केटी पक्षले त्यही दिन बेहुलाबेहुलीका लागि लुगा तयार गर्थे । 

शशिको बिहे २०११ वैशाख २२ गते तय भएको थियो । ‘बिहेको अघिल्लो दिन घरमा केटाभन्दा केटी धेरै सानी छे भनेर कुरा हुँदैथ्यो । मनमा केटा कस्तो होला भन्ने लागेको थियो,’ शशि लजाएको पारामा बोलिन्, ‘म लुकेर केटाका लागि सिलाएको लुगा हेर्न गएँ । लुगाको साइज हेरेर केटा कति ठूलो होला भनेर अनुमान गर्ने सोचेकी थिएँ, लुगा हेर्दे गर्दा आफन्तले देखे ।’ 
त्यसपछि परिवारमा सबैले उत्ताउली भई भनेर जिस्काउन थालेको उनी सम्झन्छिन् । 

छोरा र छोरीको विवाहमा विभेद भएको उनी बताउँछिन् । ‘छोराको विवाह हुँदा खसी काटेर मासु खुवाउने चलन थियो,’ उनी भन्छिन्, ‘छोरीको विवाहमा खसी काट्न हुँदैन भनिन्थ्यो । छोरीको विवाहमा तरकारी, हलुवा पुरी, सेलरोटी आदि खुवाउने चलन थियो ।’ 

उतिबेला अहिलेजस्तो बिहानमा चिया खाने चलन थिएन । 

टिनको बट्टाको शौचालय 

शशिले समय निकै बदलिएको महसुस गरेकी छन् ।  उनका अनुसार, ५० वर्षअघिसम्म घरमा शौचालय हुँदैनथ्यो । मानिसहरू आफ्नो घरबाट जंगलमा, घरबाट अलि टाढा आफ्नो बारीमा र सडकमा शौचालय गर्ने गर्थे । 

#उहिलेकाे_नेपाल शृङ्खला

उहिलेकाे नेपाल ७ : आँखा अगाडि झुन्डिएको शुक्रराज शास्त्रीको शव...

उहिलेकाे नेपाल ८ :‘दर्शनशास्त्रमा विद्यावारिधि गरेर राजा महेन्द्रसँग जागिर मागेँ’

उहिलेकाे नेपाल १० :राधादेवी जोशी

‘बिहान शौचालय गर्न जाँदा सडकका वरिपरि पुरुषहरू शौचालय गरिरहेका हुन्थे,’ शशि भन्छिन्, ‘महिलाहरू भने अलि जंगल तथा झाडीमा पानी बोकेर जाने गथ्र्यौं ।’ 

केही धनी व्यक्तिले भने टिनको बट्टाको शौचालय बनाएर प्रयोग गर्ने उनले सुनाइन् । ५–६ फिट माटोको गारो उठाएर त्यसको बीचमा दायाँबायाँ खुट्टा टेक्न मिल्ने गरी काठ राख्ने र तल टिनको बट्टा राखेर शौचालय बनाइन्थ्यो । ‘एक सय लिटर जाने टिनको बट्टा भरिएपछि पोडेहरूले मलको रुपमा प्रयोग गर्न लिएर जान्थे,’ उनी भन्छिन्, ‘टिनको बट्टा राखेर शौचालय बनाउन नसक्नेहरू खाल्डो खनेर एक निश्चित स्थानमा शौचालय गर्थे ।’ 

२०२२ मा एसएलसी 

२०१८ सालमा शशिले घरमै पढ्न थालेकी थिइन् । त्रिचन्द्र कलेजमा पढाउने शिक्षक उनको घरमा पढाउँथे । ‘ससुराबुवाले बुहारी अन्य पुरुषसँग बोल्नुहुँदैन भन्नुभयो,’ उनी भन्छिन्, ‘त्यसपछि पढ्न छाडिदिएँ ।’ 

पढ्न छाडेपछि उनी छोराछोरी छोराछोरी हुर्काउनतर्फ लागिन् । उनले एक छोरी र दुई छोरालाई जन्म दिइसकेकी थिइन् । 

०१२ मा पहिलो सन्तानलाई जन्म दिँदा परम्परा अनुसार सुस्केरी भएको ११ दिनसम्म घाम नहेरी एउटा कुनामा बसेको उनी सुनाउँछिन् । ‘छोरा पाए पनि, छोरी पाएपनि ११ दिन कुनामा बसेपछि मात्र बच्चालाई कपडा लगाइदिने चलन थियो,’ उनी भन्छिन्, ‘११ दिनसम्म बच्चालाई बाक्लो सिरक, पछौरीमा बेरेर राख्नुपथ्र्यो ।’ 

घरमा, पटनामा पढेको अनुभवले उनले २०२२ मा पद्मोदय स्कुलबाट टेस्ट दिएर एसएलसी दिइन् र तेस्रो श्रेणीमा उत्तीर्ण पनि भइन् । एसएसली पास भएपछि भने उनले रत्नराज्य कलेजबाट राजनीति र नागरिकशास्त्र विषय लिएर अध्ययन गर्न थालिन् । 

‘तर, आइए पास हुन सकिनँ । पढ्नुपर्छ भनेर हौसला दिने कोही थिएनन्,’ उनी भन्छिन्, ‘त्यसपछि अध्ययन त्यसै रोकियो ।’ 

हाल उनका जेठा छोरा र छोरी अमेरिका छन् भने कान्छा छोरा एग्रिकल्चर पढेर काठमाडौंमा व्यवसाय गरिरहेका छन् । 

साहित्य र समाज सेवामा सक्रिय

शशि आज ८० वर्षको उमेरमा पनि नन्दी रात्रि माध्यमिक विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष छन् । आफू जीवनमा सधैँ केही न केही गरिरहने उनी बताउँछिन् । 

उनले २०४० मा वीर अस्पतालमा स्वयंसेवक रुपमा जागिर सुरु गरेकी थिइन् । त्यहाँ केही समय काम गरिन् । त्यतिबेला वीर अस्पतालप्रति मानिसको निकै ठूलो विश्वास थियो । राजाका परिवारदेखि सामान्य व्यक्ति त्यहाँ उपचार गर्न आउँथे । 

उमेर ढल्कँदै गएपछि शशिलाई साहित्य सेवामा रुचि हुन थाल्यो । आफ्नी आमाको रचना आफैँ सम्पादन गरेर प्रकाशन गरेपछि आफूलाई पनि साहित्यमा रुचि बढ्न थालेको उनी बताउँछिन् ।

केही पत्रपत्रिकामा उनका फुटकर रचना छापिएका छन् । एउटा कविता संग्रह निकाल्ने उनको धोको छ । अहिले त्यतातिर ध्यान दिएको उनी बताउँछिन् । 

समाजमा भने उनी उनी सधैँ सक्रिय रहिन् । साथीहरू र आफन्तको सहयोगमा ‘नेपाल महिला साहित्य सेवा केन्द्र’ स्थापना गरेर उनले आफ्नी आमाका रचना प्रकाशन गरेकी थिइन् । त्यसपछि समाजकल्याण परिषद् अन्तर्गत महिला आदर्श सेवा केन्द्रमा आजीवन सदस्य भइन् । नन्दी माध्यमिक विद्यालय नक्सालको व्यवस्थापन समिति सचिव हुँदै अध्यक्ष भइन् । साथै, साहित्य पत्रकार संघको आजीवन सदस्य, निःसहायक वृद्धाश्रम बानेश्वरको आजीवन सदस्य भइन् । २०४६ सालतिर उनी नेपाली कांग्रेसबाट राजनीतिमा पनि सक्रिय भइन् । तर, राजनीतिप्रति उनको रुचि त्यति बढेन ।

(‘उहिलेको नेपाल’ स्तम्भ मार्फत हामीले ८० बर्ष उमेरको हाराहारी पुगेका हजुरबा र हजुरआमाबाट नेपाली समाजको कथाहरु खोतल्ने प्रयाश गरेका छौ । तपाईहरुसँग पनि आफ्नो जीवनका कथाहरु भन्न सक्ने  हजुरबा अथवा हजुरआमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामीले प्रत्येक हप्ता ‘उहिलेको नेपाल’ स्तम्भ प्रकाशित गर्नेछौ। –प्रधानसम्पादक)
 

 Published Date: Saturday, 16th January 2021 5:35:00 pm