Kathmandu Press

माटोका भाँडामा कुँदिएको संस्कृति‍‍

‘पहिले सूर्यविनायकबाट खर्पनमा माटो ल्याउँदा कुनै शुल्क तिर्नुपर्दैनथ्यो, अहिले माटो किन्नुपर्ने अवस्था आएको छ । सूर्यविनायकमा माटो पाउन छाडेपछि साँखु, हरिसिद्धि लगायत क्षेत्रबाट माटो ल्याउने गरेका छौँ । दुई टन माटो बराबर पाँचदेखि १० हजार रुपैयाँसम्म तिर्नुपर्छ।’
माटोका भाँडामा कुँदिएको संस्कृति‍‍

कोही माटो मुछ्न, कोही बनेका भाँडा सुकाउन त कोही माटोलाई विभिन्न आकारमा ढाल्न व्यस्त छन् । खुला परिसर र आ–आफ्ना पसलमा माटोका कलात्मक भाँडा, मूर्ति तथा सजावटका सामग्री रहरलाग्दो गरी लहर मिलाएर राखिएका छन् ।  काँचो माटोका खुत्रुके, गमला, मूर्ति लगायत सामग्री बनाएको र सुकाएको हेर्दा पुरानो युगमा फर्केको जस्तो पनि आभास हुन्छ ।

भक्तपुरको पाँचतले मन्दिरबाट सूर्यविनायक जाँदा तीन सय मिटरपर ‘पोटरी स्क्वायर’मा सोमबार दिउँसो देखिएको दृश्य हो यो । यस स्थानलाई स्थानीय भाषामा भोलाछेँ भनिन्छ । यो ठाउँ विशेषतः माटोका भाँडाहरू बनाउने प्रजापतिहरूको टोलको रुपमा चिनिन्छ । 

‘पोटरी स्क्वायर’मा रहेको एउटा चारतले पुरानो घरको भुइँतलामा माटोलाई चिया खाने गिलास (मट्का चियाका लागि प्रयोग हुने) मा ढाल्न व्यस्त थिए, मोहन प्रजापति । 

Hardik ivf

माटोलाई गिलासको आकार दिँदा उनको हात जादुगरको जस्तो चलिरहेको थियो । त्यो दृश्य एकटकले हेरेको देखेर उनले सोधे, ‘आउनुस् बहिनी, के थियो होला ?’ 

हामीले माटाको भाँडा र उनको पेसाबारे जिज्ञासा राखेपछि उनी काम गर्दै बोल्न थाले । ४४ वर्षीय मोहनको पुख्र्यौली पेसा हो यो । यही पेसाबाट उनले परिवारको पालनपोषणदेखि २० वर्षका छोरा र १५ वर्षकी छोरीलाई पढाएका छन् । 

११ कक्षामा पढ्दापढ्दै बुवालाई यस पेसामा सघाएका उनले छोराछोरीको पढाइ रोकिन दिएका छैनन् । थोरै लगानी तर शारीरिक श्रम बढी हुने यस पेसाबाट अहिले मासिक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने उनी बताउँछन् । काममा जति खट्न सक्यो वा उत्पादन बढाउन सक्यो, त्यही मात्रामा आम्दानी बढ्ने उनको भनाइ छ । 

चार दाजुभाइमध्ये साइँला मोहनले नौ वर्षको उमेरदेखि माटोसँग खेल्न थालेका हुन् । बुवा र छरछिमेकका मानिसले भाँडा बनाएको हेरेर आफूले सिकेको उनी बताउँछन् । मानिसको सभ्यतासँग जोडिएको माटोको भाँडा बनाउने पेसा अहिले लोप हुने अवस्थामा पुगेकामा उनी चिन्तित छन् । उनका तीन भाइ समेत अन्य पेसामा छन् । 

मानव सभ्यतासँग जोडिएको संस्कृति

माटोको भाँडा मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ । यसलाई मानव विकास क्रमसँगै सुरु भएको कलाको रुपमा लिइने संस्कृतिविद् चुन्दा बज्राचार्य बताउँछिन् ।

‘जन्मदेखि मृत्युसम्म गरिने हरेक संस्कारमा माटोका भाँडाहरूको प्रयोग गर्नुपर्ने मान्यता थियो,’ उनी भन्छिन्, ‘कतिपय ठाउँमा ठूलो संस्कार गर्नुअघि आवश्यक सबै माटोका भाँडाहरू पूजा गरेर भित्र्याउने चलन अहिलेसम्म पनि चल्दै आएको छ ।’ 

उनका अनुसार, किरिया बस्नका लागि चाहिने दियो, पकाउने हाँडी लगायत सामानहरूको हाम्रो समाजमा बेग्लै महत्व छ । यस्तै पहिले चिसो पानीका लागि माटोको घैँटो र भान्सामा पनि कतिपय भाँडा माटोकै प्रयोग गरिन्थ्यो ।

माटोको भाँडा बनाउने पेसा अपनाउने प्रजापति जाति भक्तपुरमा मात्रै होइन, भारतमा पनि पाइन्छन् । संस्कृतिविद् चुन्दा बज्राचार्यका अनुसार, जयस्थिति मल्लले पेसाका आधारमा जात विभाजन गर्नु अघिदेखि नै भक्तपुरमा प्रजापति परिवारहरुले यो पेसा अपनाएको हुन सक्छ ।

पोटरी स्क्वायरमा भएको एक मन्दिरको भित्तामा चार सय वर्षअगाडि प्रजापति थर भएको मानिसले मन्दिर निर्माणमा सहयोग गरेको अभिलेख भेटिएको उल्लेख छ । 

समस्यानै समस्या 

अहिले माटोका भाँडा बनाउन आवश्यक मुख्य कच्चा पदार्थ माटोकै अभाव हुन थालेको छ । विगतमा सूर्यविनायक क्षेत्रबाट खर्पनमा बोकेर माटो ल्याएर भाँडा बनाउने गरिन्थ्यो । अहिले प्लानिङ र बस्तीहरू बढ्न थालेपछि माटोको अभाव हुन थालेको मोहन बताउँछन् । उनका अनुसार, २०५५ सालदेखि नै खर्पनमा माटो ल्याउने काम बन्द भएको हो । ‘पहिले सूर्यविनायकबाट खर्पनमा माटो ल्याउँदा कुनै शुल्क तिर्नुपर्दैनथ्यो, अहिले माटो किन्नुपर्ने अवस्था आएको छ,’ मोहन भन्छन्, ‘अहिले सूर्यविनायकमा माटो पाउन छाडेपछि साँखु, हरिसिद्धि लगायत क्षेत्रबाट माटो ल्याउन थालेका छौँ । दुई टन माटो बराबर पाँचदेखि १० हजार रुपैयाँसम्म तिर्नुपर्छ ।’

पछिल्लो समय प्लास्टिकका सामानका कारण पनि पहिलेभन्दा बजार खस्केको उनको भनाइ छ । अहिले पोटरी स्क्वायरमा मात्र झन्डै दुई सय ५० प्रजापति परिवार छन् । तीमध्ये करिब ७० परिवारले मात्र माटोको भाँडा बनाउने कामलाई व्यावसायिक रूपमा निरन्तरता दिएको मोहन बताउँछन् । यस्तै, मध्यपुर ठिमीका करिब एक हजार प्रजापति परिवारमध्ये चार सय परिवार हाराहारीले यो पेसालाई निरन्तरता दिएको उनको अनुमान छ । 

प्रशासनिक चासो

भक्तपुरलाई सांस्कृतिक सहरको रूपमा लिइन्छ । यहाँको कला–संस्कृति, परम्पराको उत्तिकै महत्व भएकाले माटोको भाँडा बनाउने कलालाई पनि निरन्तरता दिनुपर्ने भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति बताउँछन् । 

उनका अनुसार, माटोको भाँडा बनाउन माटोको अभाव देखिएकाले त्यसको व्यवस्थापनका लागि केही पहल भइरहेको छ । ‘माटोको भाँडा बनाउने अन्य समस्या खासै देखिएको छैन । माटोकै अभाव हुन थालेकाले यसको समाधानका विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘यो समस्याको समाधान गर्न सक्यौँ भने प्रजापतिहरूको पुख्र्यौली पेसा जोगाउन सकिन्थ्यो ।’ 
यसलाई आधुनिकीकरण वा व्यवस्थित बनाउन भने कुनै योजना ल्याइएको छैन ।

यस्तो छ भाँडा बनाउने विधि 

माटोको सामान बनाउन विभिन्न चरण पार गर्नुपर्ने हुन्छ । सुरुमा कालो माटो ल्याइन्छ । त्यसलाई पगमिल (माटो मुछ्ने् मेसिन) मा राखी मुछिन्छ । पहिला खुट्टाले मुछ्नुपथ्र्यो, अहिले मेसिनको सहयोगले सहज बनाएको मोहन बताउँछन् । पगमिलले मुछिसकेको माटोमा गिर्खा छ कि भनी जाँच्न पुनः हातको प्रयोग गरिन्छ । त्यसपछि माटोलाई ह्विल (चक्र) मा राखी आवश्यकता अनुसार आकार दिइन्छ । पहिले चक्र पनि काठबाट बनेको चार फिटजतिको हुन्थ्यो । अहिले माटोलाई आकार दिन सानो फलामको मेसिनको प्रयोग हुन्छ, जुन विद्युतले चल्छ ।

यसरी तयार सामग्रीलाई दुईदेखि चार दिनसम्म सुकाइन्छ । त्यही समयमा बुट्टा कोर्ने, फिनिसिङ गर्ने लगायत काम हुन्छ । सुकेको भाँडामा रातो माटोको रङ लगाएर दाउराको भट्टीमा पोलेपछि मात्र भाँडा तयार हुन्छ । 

कस्तो छ बजार?

माटोका सामग्री पहिले काठमाडौं उपत्यकासँगै बाहिरी जिल्लामा पनि बिक्रीका लागि जान्थ्यो । अहिले प्लास्टिकका भाँडा लगायत कारण त्यसमा कमी आएको छ । 

रेस्टुरेन्ट, होटल, पसल, घरको सजावटमा माटोको सामग्रीको माग रहेको मोहन बताउँछन् । ‘तिहारमा दियो, अरु बेला हाँडी, खुत्रुके, मट्का लगायत अर्डर अनुसार जे पनि बनाउँछौँ,’ उनी भन्छन्, ‘स्वास्थ्यका हिसाबले पनि माटोको भाँडा प्रयोग गर्नु राम्रो मानिन्छ ।’ 

आफ्ना उत्पादनको बजारका लागि राज्यले भूमिका खेल्ने र कच्चा पदार्थमा सहज बनाउने हो भने आफूहरुलाई सहज हुने उनी बताउँछन् । 

प्रकाशित मिति: १०:५० बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्