Kathmandu Press

‘भाँचभुँच गर्नु ओली प्रवृत्ति हो’

प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपाली जनताको ७० वर्षदेखिको बलिदान र मेहनतबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र  संविधान धरापमा छ ।
‘भाँचभुँच गर्नु ओली प्रवृत्ति हो’
Hardik ivfHardik ivf

काठमाडौं–  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई एम्बुसमा पारेको आरोप लगाएका छन् । नेकपा काठमाडौं जिल्ला कमिटीद्वारा आज आयोजित बृहत् कार्यकर्ता भेलामा सम्बोधन गर्दै  दाहालले  विदेशी शक्तिको इसारामा  आफ्नो हितका लागि  प्रम ओलीले संसद् विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान नै एम्बुसमा पारेको आरोप लगाएका हुन् ।

दाहालले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपाली जनताको ७० वर्षदेखिको बलिदान र मेहनतबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र  संविधान धरापमा छ ।’

दाहालले प्रधानमन्त्री ओली जनता, संविधान र देशप्रति संवेदनशील नहुँदा देश र जनताका सामु यो संकट आइपरेको दाबी गरे । ओली तानाशाही बन्दै गएर देशमा विदेशी शक्तिको चलखेल बढेको भन्दै दाहालले  देश र संविधानमाथिको निर्मम प्रहारको सामना गर्न आग्रहसमेत गरे ।

दाहालले पछिल्लो समय प्रम ओलीबाट अनेकौँ नाटक मञ्चन भएको दाबी गरेका छन् । उनले प्रम ओलीले  जी टिभीसँग दिएको अन्तर्वार्तालाई एक नाटक मञ्चन भएकाे  टिप्पणी गरेका छन् ।

दाहालले भने, ‘जी टिभीको अन्तर्वार्ता नाटक हो । त्यसको पटाक्षेप आज भएको छ ।’  त्यस्तै दाहालले भारतको इसारामा  केपी शर्मा ओलीले संसद् भंग गरेको दाबी गरे  ।  

भाँचभुँच नै ओली प्रवृत्ति
दाहालले भाँचभुँच र तोडमोड ओली प्रवृत्ति भएको बताएका छन् । दाहालले भाँचभुँच गर्ने ओली प्रवृत्ति भएको टिप्पणी गर्दै भने, ‘उहाँ कुर्सी छाड्नुपरे कुर्सी नै भाँचिदिन्छु भन्नुहुन्थ्यो । अहिले त उहाँले  गणतन्त्र भाँच्न खोज्नुभयो, संविधान भाँच्नुभयो, राष्ट्र नै भाँच्नुभयो ।  उहाँकै कारण देश बर्बाद हुँदै छ, संविधान धरापमा छ ।’

को आधिकारिक ?
सम्बोधनकै क्रममा दाहालले  आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरे । उनले भने, ‘हामीसँग बहुमत केन्द्रीय सदस्य छन् । निर्वाचन आयोगले पनि केन्द्रीय सदस्यको संख्या गनेर आधिकारिताका विषयमा उठेको विवाद टुंगो लगाउँछ । राजनीतिक दलसम्बन्धी कानुन, पार्टी विधानलगायत हर दृष्टिबाट हामी नै आधिकारिक हौँ ।’

त्यस्तै, प्रम केपी शर्मा ओलीले आफ्नो समूहलाई ‘भगौडा’ भनेको प्रसंग निकाल्दै दाहालले प्रधानमन्त्री केपी शर्मा नै 'भगौडा' भएको तर्क गरे ।

उनले भने, ‘हामी ७२ प्रतिशत केन्द्रीय सदस्य भएको पार्टी भगौडा ? ३० प्रतिशत पनि नभएको पार्टी आधिकारिक ? राजनीतिक समस्याका विषयमा छलफलका लागि बोलाइएको बैठकबाट उहाँ सधैँ भाग्नुभयो । उहाँ भगौडा नहुने ?’ 

पोलिटिकल जोकर
दाहालले प्रधानमन्त्री केपी शर्मा ओली 'पोलिटिकल जोकर' बनेको दाबी गरे  । उनले प्रधानमन्त्रीले पार्टी कार्यकर्ता र जनतालाई दिग्भ्रमित पारेर प्रहसन गर्दै हिँडेको बताए । 

उनले ओलीमा विचित्रको कुरा गरेर नभएको कुरा अरुलाई हो हो जस्तो पार्ने क्षमता भएको बताउँदै भने, ‘उहाँमा विचित्रका कुरा गरेर नभएको कुरालाई  हो हो जस्तो पार्ने क्षमता छ । उहाँले धेरैलाई दिग्भ्रमित पार्नुभयो ।  उहाँ अहिले पोलिटिकल जोकर भनेर  देशका विभिन्न ठाउँमा प्रहसन गर्दै हिँड्नुभएको छ ।’  

पार्टीमा विश्वासको मत 
दाहालले प्रम ओलीले सार्वजनिक रुपमा भन्ने गरेको ‘मलाई पार्टीका केही नेताले काम गर्न दिएनन्’ भन्ने अभिव्यक्ति झुटो भएको बताए ।

उनले भने, ‘पार्टीमा वादविवाद हुनु स्वाभाविक हो । बरु हामीले यसो गरौँ भन्दा उहाँ अर्कै अकैै काम गरेर हिँड्नुभयो । हामीले उहाँलाई कहिल्यै अप्ठ्यारोमा पारेका छैनौँ ।’

दाहालले प्रम ओलीलाई पार्टीले सरकारलाई काम गर्न नदिएको कुनै एउटा प्रमाण ल्याउनसमेत चुनौती दिएका छन् ।  उनले भने, ‘प्रधानमन्त्रीले भने जस्तो पार्टीले सरकारका कारकारबाहीमा बाधा पुर्‍याएको छैन । म उहाँलाई चुनौती दिन चाहन्छु, पार्टीले सरकारको कामकारबाही बाधा पुर्‍याएको कुनै एक प्रमाण देखाउनुहोस् ।’

दाहालले  प्रधानमन्त्रीले पार्टीमा विश्वासको मत लिन नसकेको बताएका छन् । उनले भने, ‘उहाँले पार्टीमा विश्वासको मत लिन सक्नुभएन । उहाँले पार्टीका नेतालाई विश्वासमा लिनुपर्थ्याे  । पार्टीले काम गर्न दिएन भने पार्टीको विश्वास लिनुपर्दैन ? उहाँले पार्टीलाई किन विश्वासमा लिन सक्नुभएन ?  दाहालले प्रम ओलीलाई ऐनामा आफ्नो अनुहार हेरेर आत्मालोचना गर्नसमेत सुझाएका छन् ।

प्रकाशित मिति: १६:५० बजे, बुधबार, पुस २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्