कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा हालिएको रिट खारेज भएसँगै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ ।.jpg)
काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा हालिएको रिट खारेज भएसँगै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । सर्वोच्चले सो रिट खारेज गरेसँगै देशभर कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो ।
सर्वोच्च अदालतले विद्यालय शिक्षामा नयाँ पाठ्यक्रम लागू गराउने नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको निर्णयविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । यो आदेशसँगै कक्षा ११ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई यसै शैक्षिक सत्रबाट कार्यान्वयन गर्न बाटो खुलेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले आज सो आदेश दिएको हो । गत असोज २८ गते भागवता अर्यालले सो नयाँ पाठ्यक्रम लागू नगराउन माग गर्दै नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराउनुभएको थियो । ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएको हो ।
साे रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रमसम्बन्धी अन्योल थियो । देशभर कतै पुरानो पाठ्यक्रम र कतै नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिएको थियो । अब भने राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार नयाँ पाठ्यक्रम लागु हुने भएपछि पाठ्यक्रमसम्बन्धी अन्योल हट्ने भएको छ ।











