Kathmandu Press

आगलागीको कारण ७६ लाख रुपैयाँको क्षति

कणांली, मंसिर १४ : तिलागुफा नगरपालिका–४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा ७६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। तीन घरमा शनिबार...
आगलागीको कारण ७६ लाख रुपैयाँको क्षति

कणांली, मंसिर १४ : तिलागुफा नगरपालिका–४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा ७६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा ७६ लाख रुपैयाँ बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

‘आगलागीबाट त्यस्तो कुनै मानवीय क्षति भएको छैन,’ प्रहरी नायब उपरीक्षक शाहले भने, ‘दुई पशुको मृत्यु र एउटा घाइते भएको छ।’

दलित बस्तीमा आगलागी भएको खबर पाउनेबित्तिकै शनिबार नै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी हेलिकोप्टरबाट खाद्य तथा लत्ताकपडा लिएर घटनास्थलमा पुगेका थिए। आगलागीबाट घरबासविहीन १३ परिवारलाई कम्बल, सिरक, तन्ना, म्याट्रेसलगायतका लत्ताकपडा, भाँडाकुँडा र केही खाद्यान्न उपलब्ध गराइएको कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए।

स्थानीय बिउरी विकको धुवाँरहित फलामको चुल्होको पाइपबाट निस्केको आगोको झिल्को त्यसैसँग जोडिएको घरको काठ तथा खरको छानामा परेपछि आगलागी भएको प्रहरीले जनाएको छ। विस्थापित १३ घरपरिवारलाई अहिले तत्काल छिमेकीको घरमा व्यवस्थापन गरिएको र केही समयपछि स्थानीय तथा प्रदेश सरकारको सहयोगमा पुनःस्थापन गरिने तिलागुफा नगरपालिकाका प्रमुख रत्नबहादुर शाहीले जानकारी दिए।

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, मंसिर १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्