Kathmandu Press

नेकपा चरम विवादमा परेका बेला भारतसँग ओलीको सम्बन्ध सुधारको अर्थ

एक महिनाभित्रै भारतीय विदेशमन्त्री एस जयशंकरको समेत नेपाल भ्रमण गराउने विषयमा प्रधानमन्त्रीको सचिवालय र भारतीय दूतावासले काम गरिरहेका छन्।
नेकपा चरम विवादमा परेका बेला भारतसँग ओलीको सम्बन्ध सुधारको अर्थ
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक मर्यादा विपरीत प्रतिक्रिया दिँदा बिग्रिएको भारतसँगको सम्बन्ध गत महिना ‘रअ’का प्रमुख सामन्त गोयलको भ्रमणपछि सकारात्मक बन्दै गएको देखिएको छ। 

गोयलको भ्रमण एक महिना पुग्न नपाउँदै भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको औपचारिक नेपाल भ्रमणले ओली र भारतीय सस्थापन पक्षबीच पछिल्लो समय सम्बन्ध सुधारतर्फ अघि बढेको घटनाक्रमले देखिन थालेको छ। 

भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एलनाइसिस विङ्स (रअ) का प्रमुख गोयलको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँगमात्रै भेट गरेर फर्कनुले ओली पछिल्लो समय भारतसँग बिग्रिको सम्बन्ध सुधार गर्न आतुर रहेको देखिन्छ। गोयलसँगको भेटमा ओली पार्टीभित्र र बाहिर दुवैतर्फ तीव्र आलोचित भएका थिए। 

तर, ओली निकट नेताहरु भने गोयलसँगको भेटपछि प्रधानमन्त्री र भारतको संस्थापन पक्षबीचको सम्बन्ध असोचनीय रुपमा सुधार भएको टिप्पणी गर्छन्। त्यो टिप्पणीलाई गोयलको भ्रमण लगत्तै भारतीय विदेश सचिवको भ्रमणले समेत पुष्टि गरेको छ। 

एक महिनाभित्रै भारतीय विदेश मन्त्री एस जयशंकरको समेत नेपाल भ्रमण गराउने विषयमा प्रधानमन्त्रीको सचिवालय र भारतीय दूतावासले काम गरिरहेका छन्। विदेश सचिवको भ्रमणपछि उच्चतहको राजनीतिक भ्रमण समेत भारतबाट हुन सक्ने सुत्रहरुको दावी छ। ‘एक महिनाभित्र भारतीय विदेश मन्त्रीले नेपाल भ्रमण गर्नेगरी आन्तरिक तयारी सुरु भएको छ’, स्रोतले भन्यो, ‘त्यस लगत्तै सम्भव त भारतीय प्रधानमन्त्री वा राष्ट्रपतिमध्ये एक जनाको नेपाल भ्रमण हुनेछ।’

भारतसँग ओलीको सम्वन्ध सुधार भए लगत्तै चिनियाँ पक्षले पनि उच्चस्तयरी नेपाल भ्रमण तय गरेको छ। भारतीय विदेश सचिव नेपाल भ्रमण गरेर फर्किएको तेस्रो दिन भोली आइतबार चिनियाँ रक्षामन्त्रीले नेपाल भ्रमण गर्दैछन्। एक दिने उनको नेपाल भ्रमणमा विषेशगरी प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग मात्रै छफल हुने तयारी छ। 

चीनले पनि रक्षा मन्त्रीको भ्रमणपछि उच्चस्तरीय नेतृत्व नेपाल पठाउने विषयमा छलफल गरिरहेको स्रोतको दावी छ। ‘रक्षा मन्त्रीको नेपाल भ्रमण कस्तो हुन्छ सो अनुसार कुन तहले नेपाल भ्रमण गर्छ तय हुन्छ’, स्रोतले भन्यो, ‘रक्षामन्त्रीले राष्ट्रपति सी जिनफिङलाई कस्तो ब्रिफिङ गर्छन्, त्यसले भ्रमण प्रधानमन्त्री तहमा हुनेकी विदेश मन्त्री भन्ने टुंगो लाग्छ।’

नेकपाभित्र आन्तरिक विवाद फुट नजिक पुगेका बेला दुई छिमेकी मुलुक चीन र भारतको उच्च तहका अधिकारीको एकपछि अर्को नेपाल भ्रमणले दुवै देशको राजनीतिक स्वार्थ रहेको एक पूर्वराजदूतले बताए। ‘नेकपाभित्रको झगडा चुलिएको अवस्थामा दुई छिमेकी मुलुका उच्च अधिकारीको लगातार भ्रमणले उनीहरु नेपाल राजनीतिक गतिविधिमा आफ्नो भूमिका खोज्छन् भन्ने देखिएको छ’, ती पूर्वभारतीय राजदूतले काठमाडौं प्रेससँग भने। 

ओलीको भारतीय खुफिया एजेन्सीसँगको सम्बन्ध सुधार हुन थालेपछि चीनले त्यसलाई निकै चासोका साथ हेरिरहेको उक्त स्रोतको दावी छ। नेकपाभित्र सबै प्रधानमन्त्री ओली सबै निकायमा अल्पमतमा परेका छन्। यसअघिको चुनाव अघि र पछि भारतको मासमा विरोध गरेर चर्चामा आएका ओली प्रधानमन्त्री बनेपछि भारतसँग सम्वन्ध बिग्रिएको विश्लेषण भएका थिए। भारतले लिम्पियाधुरा र लिपुलेक हुँदै तिब्वतको मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपाल र भारतबीचको सम्बन्ध जनतातहमै बिग्रिएको थियो।

भारत सरकारको त्यो निर्णयविरुद्ध यहाँका सबै दल एकमत भएर लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरेको थियो। त्यसयता भारत र नेपालका अधिकारीहरुबीच औपचारिक संवाद नै बन्द भएको थियो।  एक महिनाअघि ‘रअ’ प्रमुख गोयलको भ्रमणपछि दुई देशबीच सम्बाद सुरु भएको हो। कतिपय विश्लेषकहरुले चीनसँग निकटता कायम गर्दैै भारतसँग बार्गेनिङमा रहेका ओली अहिले रणनीति परिवर्तन गरेर ‘यूटर्न’ गरेको पनि बताउन थालेका छन्। 
 
 

प्रकाशित मिति: १८:२८ बजे, शनिबार, मंसिर १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्