आईतबार, माघ ११, २०७७

हिउँदेयाम लागेसँगै बढ्न थाले आगलागीका घटना

प्रतिकात्मक तस्बिर

काठमाडौैं, मंसिर १२ : हिउँदेयाम लागेसँगै मुलुकमा आगलागीका घटना बढ्न थालेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नौ जिल्लामा आगलगीका घटना भएको छ। उक्त घट्नामा परी झण्डै रु एक करोड बराबरको क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौमतले जानकारी दिए।

प्राप्त जानकारीअनुसार पछिल्लो २४ घण्टामा सोलुखुम्बु, दाङ, तेह्रथुम, कञ्चनपुर, मुगु, ललितपुर, धनुषा, धनकुटार र महोत्तरीमा आगलागीका घटना भएको छ। त्यसमध्ये सोलुखुम्बुमा पढ्ने क्रममा आगलागी हुँदा एक बालिका घाइते नै भएकी छिन्। केही ठाउँमा ग्यास चुहिएर त केही स्थानमा विद्युत् चुहिएर आगलागी भएको छ भने कतिपय स्थामा चुलोबाट आगो सल्किएको छ।

दाङमा भने ट्रकमा विद्युत्को तारले छोएर आगलागी भएको र झण्डै ७० लाख रूपैयाँको क्षति भएको जनाइएको छ। तेह्रथुमको आठराइस्थित एक घरमा आगलागी हुँदा १५ लाख रूपैयाँको क्षति भएको जनाइएको छ। कञ्चनपुरको एक लुगा सिउने पसलमा आगलागी हुँदा चार लाख रूपैयाँको क्षति भएको जनाइएको छ। 

प्राधिकरणका प्रवक्ता गौतमले आगलागीका घटना बढ्न थालेकाले आगोमा काम गर्दा र आगोले टिप्ने सामग्रीको व्यवस्थापनमा विशेष ख्याल गर्न अनुरोध गरे। उनले विद्युतीय सामग्री र ग्यासको सावधानीमा ध्यान दिनसमेत सर्वसाधारणसँग अनुरोध गरे। यसअघि बिहीबार पनि काठमाडौँसहित विभिन्न सात जिल्लामा आगलागीका घटना भएको थियो। बुधबार चार जिल्लामा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ। 

गौतमले मुलुकमा भौतिक क्षति र घटना संख्याका हिसाबले सबैभन्दा बढी आगलागीका घटना बढी हुने गरेको बताए। अहिले प्राधिकरणले घटना न्यूनीकरणका लागि आवश्यक तयारीमा लाग्न जिल्ला-जिल्लामा निर्देशन सर्कुलरसमेत गरिसकेको जानकारी दिए। गत वैशाख यता मात्रै एक हजार ४३ आगलागीका घटना भएको प्राधिकरणको अभिलेख छ।

उक्त आगलागीमा परी २० जनाको मृत्यु भएको र १८६ जना घाइते भएका छन् भने ४६७ पशुचौपाया क्षति भएको छ। योबीचमा आगलागीबाट ८४ करोड ११ लाख रूपैयाँको आर्थिक क्षति भएको जनाइएको छ। रासस

 Published Date: Saturday, 28th November 2020 12:46:00 am