Kathmandu Press

आठ महिनामा ४० हजार रुपैयाँ राजश्व संकलन 

दार्चुला, मंसिर ११ : दार्चुला सदरमुकामस्थित छोटी भन्सार कार्यालयले विगत आठ महिनामा ४० हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको छ।गत चैत ११ गतेदेखि...
आठ महिनामा ४० हजार रुपैयाँ राजश्व संकलन 

दार्चुला, मंसिर ११ : दार्चुला सदरमुकामस्थित छोटी भन्सार कार्यालयले विगत आठ महिनामा ४० हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको छ।

गत चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दीसँगै नेपाल– भारत सीमा बन्द भएको र त्यस अवधिमा तीन दिन मात्र भन्सार राजश्व संकलन भएको कार्यालयले जनाएको छ। 

कार्यालयका कर्मचारी मोहन डोबालका अनुसार विगत आठ महिना तीन दिन मात्रै आर्थिक कारोबार भएको छ। यस अवधिमा भारतबाट आयात भएका समानबाट ४० हजार रुपैयाँ राजश्व संकलन भएको छ। 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सिमावर्ती भारतीय प्रशासनको समन्वयमा पुल खुलाएपछि तीन दिन राजश्व संकलन भएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले हप्तामा दुई दिन सीमा पुल खुलाउने निर्णय गरेसँगै भन्सारको राजश्व पनि उठ्न थालेको छ। बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पुल खुलाउँदा तीन हजार २१७ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ। 

सोमबार नेपाल भारत जोड्ने झोलङ्गे पुल बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्दा रु ३५ हजार बढी राजश्व संकलन भएको थियो। छोटी भन्सार कार्यालय दार्चुला भारतसँगको व्यापारमा निर्भर छ। भारतबाट आयात हुने सामग्रीबाट भन्सारले राजश्व उठाउँदै आएको छ। यस अवधिमा चिनी, सख्खर, तेल, प्याज र खाद्यान्न वस्तु नेपालमा आयात भएको छ। 

विगतमा मासिक एक लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गर्दै आइरहेको छोटी भन्सार कार्यालय दार्चुलाले बन्दाबन्दीदेखि राजश्व उठाउन सकेको थिएन्। दार्चुलामा भारतसँग सीमा जोडिएका आधादर्जन बढी सीमा पुल वैधानिक रुपमा सञ्चालन भएको भए पनि भन्सार कार्यालय सदरमुकाम खलङ्गामा मात्रै छ। दार्चुलाको लाली, जोलजीवि, दत्तु, खलङ्गा, तिगरम र सीता पुल वैधानिक नाका हुन्। 

यो बाहेक तीन ठाउँमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणाधीन छ । पुल निर्माण भए पनि भन्सार स्थापना हुन नसक्दा सदरमुकाम खलङ्गाबाहेकका नाकाबाट अवैध समान भित्रिने गरेको छ। दार्चुलाको मुल भन्सार कार्यालय अहिले पनि झुलाघाट बैतडी हो। 

प्रकाशित मिति: १९:१५ बजे, बिहीबार, मंसिर ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्