Kathmandu Press

‘कोरोनाले कतिपयलाई लामो समयसम्म गन्ध र स्वाद खोसेको छ’ 

कोरोना संक्रमित हुँदा भाइरसले सस्टेन्टाकुलर कोशिकाहरुलाई प्रभाव पारी नसालाई ठिकसँग काम गर्न रोक्छ । त्यसैको कारणले स्वाद र गन्ध थाहा नपाउने समस्या देखिने गरेको अनुसन्धानकर्ताहरुको भनाई छ । 
‘कोरोनाले कतिपयलाई लामो समयसम्म गन्ध र स्वाद खोसेको छ’ 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर २ : उच्च ज्वरो र निरन्तर खोकी कोभिड–१९ संक्रमणको प्रारम्भिक लक्षणहरू हुन् । तर २०२० को मे महिनामा गन्धको क्षति हुनुलाई पनि सामान्य लक्षणको रूपमा मान्यता दिइयो ।

ब्रिटिस मेडिकल जर्नलका अनुसार कोभिड–१९ का बिरामीहरु मध्ये आधा मानिसहरुमा गन्ध थाहा नपाउने लक्षण देखिएको छ । जसमध्ये पनि १६ प्रतिशत मानिसहरुमा कोरोनाको सुरुको लक्षण नै गन्ध थाहा नपाउने छ ।

लामो समयदेखि जामा नेटवर्कले कोभिड–१९ लक्षणको विकास बारे गरिरहेको एक अध्ययनले दश जना कोरोनाका बिरामीहरु मध्ये एक जनाले स्वाद र गन्ध हराएको भेटिएको छ। उनीहरुमा अन्य लक्षणहरु हराएपनि स्वाद र गन्ध थाहा नपाउने समस्या भने लामो समय सम्म रहिरहेको सो अध्ययनले देखाएको छ । 

केही मानिसहरुमा भने कोरोना निको भईसके पछि गन्ध थाहा पाए पनि विगतमा जस्तै सामान्य नहुने समस्या समेत देखिएको छ । उदाहरणका लागि विगतमा कोही मानिसलाई कफीको गन्ध राम्रो लाग्थ्यो भने कोरोना निको भईसकेपछि त्यही गन्ध नराम्रो लाग्न थालेको छ। कतिपय मानिसहरुमा सामान्य वस्तुहरुमा पनि सडेको, मल, जलिरहेको जस्ता नराम्रा गन्धहरु आउने समस्या समेत देखिएको अनुसन्धानकर्ताहरु बताउँछन् ।

कोरोना संक्रमित हुँदा भाइरसले सस्टेन्टाकुलर कोशिकाहरुलाई प्रभाव पारी नसालाई ठिकसँग काम गर्न रोक्छ । त्यसैको कारणले स्वाद र गन्ध थाहा नपाउने समस्या देखिने गरेको अनुसन्धानकर्ताहरुको भनाई छ । 

अहिले युवाहरुमा पोस्ट भाइरल एनोसमिया अर्थात रोग निको भईसकेपछि पनि गन्ध र स्वाद थाहा नपाउने समस्या व्यापक देखिन थालेको ब्रिटिस राइनोलोजिकल सोसाइटीका अध्यक्ष प्रोफेसर क्लेयर हपकिन्सले जनाएको छ । ‘दुई सय भन्दा बढी भाइरसहरुले श्वास नलीमा असर पुर्‍याउने गरेको छ,’ अध्यक्ष हपकिन्सले भने ‘कोभिड–१९ले एनोसमिया (स्वाद र गन्ध थाहा नपाउनु) निम्त्याएकोमा आश्चर्य मान्नु पर्दैन ।’

एनोसमिया हँुदा नाक पोल्ने, टाउको दुख्ने, एलर्जी लगायतका समस्याहरु देखिन्छ । यसको समयमै उपचार गर्ने हो भने कोरोना संक्रमणले खासै ठुलो समस्या नल्याउने चिकित्सकहरु बताउँछन् ।

केही संक्रमितहरुमा ६ हप्ता भन्दा बढी समयसम्म पनि गन्ध थाहा नपाउने समस्या नहटेको पाईएको छ । केही मानिसहरुले विगतमा जस्तै स्वासप्रस्वास सहज बनाउन विभिन्न तालिमहरु समेत लिईरहेका छन् । 

गन्ध र स्वाद थाहा नपाउनु सामान्य देखिए पनि यदि यो लामो समयसम्म निरन्तर रहने हो भने यसले मानिसमा निराशा पैदा गर्नुका साथै स्वाद र गन्धको तृष्णा बढाउने र नकारात्मक प्रभाव पार्नसक्ने सम्भावना रहेको चिकित्सकहरु बताउँछन् । कोभिड–१९ संक्रमितहरुमा डिप्रेसन हुनुको एउटा कारण स्वाद र गन्ध हराउनु पनि रहेको हालै गरिएको एक अध्ययनले देखाएको छ ।
 

विभिन्न एजेन्सीहरुको सहयोगमा
 

प्रकाशित मिति: १९:११ बजे, मंगलबार, मंसिर २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्