Kathmandu Press

राजधानीमा पाँचमध्ये एक जनामा कोरोना

जनस्वास्थ्य विज्ञ भन्छन्– कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ रहेको काठमाडौं उपत्यका अब ‘बम सेल’ बन्न पुगेको छ, जतिवेला पनि विस्फोट हुनसक्छ।
राजधानीमा पाँचमध्ये एक जनामा कोरोना
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ३ : कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यका ‘हटस्पट’ बनेको छ। अहिले पीसीआर गरेका पाँच जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भइरहेको छ।

विज्ञहरुले राजधानी अब ‘हटस्पट’ मात्र नभई ‘बम सेल’कै रुपमा परिणत भएको बताएका छन्। जनस्वास्थ्य विज्ञ डा. रबिन्द्र पाण्डे अहिले काठमाडौंमा संक्रमण नियन्त्रण बाहिर जान थालेको बताउँछन्। ‘यो अवस्थालाई हेर्दा काठमाडौंमा जुनसुकै वेला पनि कोरोनाले ठूलो विस्फोट अर्थात बम सेलको रुप लिनसक्ने खतरा छ,’ डा. पाण्डे भन्छन्।

उनी राजधानीमा अहिले पुष्टि भएको संख्याभन्दा १० गुणा बढी संक्रमितहरु रहेका बताउँछन्। ‘अहिले पीसीआर परीक्षण गरेपछि जति मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ, तिनीहरुलाई मात्र कोरोना लागेको भन्ने भ्रम छ,’ डा. पाण्डेले काठमाडौं प्रेससँग भने ‘अहिले जति मानिसमा संक्रमण भेटिएको छ, त्यसको १० गुणा बढी संक्रमित समुदायमा छन्।’

काठमाडौंमा अहिले हरेक पाँच जनामध्ये एक जना संक्रमित रहेको जनस्वास्थ्य विज्ञ डा.पाण्डेले बताए। ‘देशका अन्य जिल्लामा गरिएको परीक्षणमध्ये १५ देखि २५ प्रतिशत मानिसमा कोरोना पुष्टि भएको छ । तर, काठमाडौंमा गरिएका परीक्षणहरुमध्ये २५ देखि ४० प्रतिशत मानिसलाई कोरोना संक्रमण पुष्टि भएको छ,’ डा.पाण्डेले भने।

जनस्वास्थ्य विज्ञहरुले अब काठमाडौंबाट गाउँगाउँमा पनि कोरोना संक्रमण पुग्ने चिन्ता गरेका छन्। चाडपर्व सुरु भएसँगै काठमाडौंबाट गाउँ फर्किनेको घुइचो लाग्न थालेको छ। लक्ष्मण नभएका संक्रमित गाउँ जादा संक्रमण झन फैलिने उनीहरुको भनाइ छ।

कोरोनाका लागि गरिएको लकडाउन र निषेधाज्ञाको समयमा सरकारले कुनै काम नगर्दा यो अवस्था आएको उनीहरुले बताएका छन्। कोरोनाभन्दा आन्तरिक मामिलामा सरकार व्यस्त हुँदा अहिलेको अवस्था आएको डा.पाण्डेको भनाइ छ। अब कोरोना नियन्त्रणका लागि आगामि एक महिना कर्फ्यू लगाउनेपर्ने उनको जोड छ।

अझै पनि सरकारले काम गरेमा कोरोना नियन्त्रण गर्न सकिने जनस्वास्थ्य विज्ञ बताउँछन्। त्यसका लागि काठमाडौंमा धेरै सुरक्षाकर्मी परिचालन गरेर स्वास्थ्य मापदण्ड पालना गराउनुपर्ने उनीहरुको भनाइ छ।

अहिले सर्वसाधारणले उपचार पाउन छोडेका छन्। असपतालहरुमा बेड अभाव हुन थालेको छ। त्यसैले ठूला अस्पतालहरुलाई पूर्ण कोभिड अस्पतालको रुपमा छुट्याउने र साना अस्पतालहरुलाई नन् कोभिड अस्पतालको रुपमा प्रयोग गर्नुपर्ने डा. पाण्डेले बताए।

त्यस्तै, गाउँमा कोरोना संक्रमण फैलिन नदिन स्थानीय सरकारले अस्थायी आइसोलेसन केन्द्र निर्माण गुर्नपर्ने उनले बताए। काठमाडौंमा पनि महानगरपालिकाले प्रयोगमा नआएका खाली भवनलाई तत्काल आइसोलेसन केन्द्र बनाउनुपर्ने डा. पाण्डेको भनाइ छ। उनी भन्छन्, ‘काठमाडौंमा प्रयोगविहीन खाली भवनहरुमा मात्र अस्थायी आईसोलेसन केन्द्र बनाउने हो भने पनि धेरै हदसम्म बेड अभावको समस्या हट्नेछ।’

अहिले राजधानीमा कोरोना संक्रमितको संख्या ५५ हजार तीन सय ८७ पुगेको छ। जसमध्ये काठमाडौंमा ४४ हजार सात सय ३४, ललितपुरमा ६ हजार दुई सय ११ र भक्तपुरमा चार हजार चार सय ४२ छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ। यसमध्ये सात सय ३९ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति: १७:०३ बजे, सोमबार, कात्तिक ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्