Kathmandu Press

४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

दार्चुला, कात्तिक १ :  ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ।मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह...
४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

दार्चुला, कात्तिक १ :  ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ।

मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले आज संयुक्तरुपमा शिलान्यास गरेका हुन्। 

Hardik ivf

उक्त आयोजना निजी क्षेत्रबाट निर्माण हुन लागेको सुदूरपश्चिमकै ठूलो आयोजना हो। २० महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित आयोजनाको शिलान्यास गरिएको कम्पनीका सञ्चालक त्रितालले बताए। आयोजनाको कूल लागत रु सात अर्ब ४० करोड छ। 

सो आयोजनामा ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले पाँच अर्ब १८ करोड लगानी गरेका छन्। सञ्चालक त्रितालका अनुसार बैंक तथा वित्तीय संस्थाले गर्ने ऋण लगानी कूल लागतको ७० प्रतिशत हो। ३० प्रतिशत (दुई अर्ब २२ करोड) स्वपूँजी लगानी हुने जनाइएको छ।

शिलान्याससँगै आयोजनाको संरचना निर्माणको काम सुरु गरिएको छ। २०५ मिटर हेड (उचाइ) रहेको सो आयोजनाका लागि ३.२ मिटर व्यास (डायमिटर) को करिब छ किलोमिटर पाइपलाइन निर्माण हुनेछ। अपी हिमाल गाउँपालिका–५ ओखलमा बाँध बाँधेर पाइपलाइनमार्फत ल्याइएको पानी मार्मा गाउँपालिका–२ घट्टेगाडमा निर्माण हुने विद्युत् गृहमा खसालिनेछ। 

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सबस्टेसनमा जोडिनेछ। सो आयोजना प्राधिकरणले निर्माण गरेको ३० मेगावाट क्षमताको चमेलियाभन्दा करीब १३ किलोमिटर माथि पर्छ। बलाँच सबस्टेसन चालू अवस्थामा रहेकाले विद्युत् जोड्न कुनै समस्या नहुने त्रितालले बताए।  आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ।

कम्पनीले यसअघि ८.५ मेगावाट क्षमताको नौगाड र आठ मेगावाट क्षमताको माथिल्लो नौगाड आयोजनाको निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । अपर चमेलियाको निर्माणपछि कम्पनीले लगानी गरेका आयोजनाको क्षमता ५६.५ मेगावाट पुग्नेछ। 

गाउँपालिका अध्यक्ष धामीले आयोजना निर्माणमा कुनै व्यवधान आउन नदिइने प्रतिबद्धता जनाए। “आयोजना निर्माणमा कुनै समस्या हुन दिइने छैन”, उनले भने, “आयोजना सञ्चालन भएपछि यहाँका नागरिकले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाउँछन् । आयोजना निर्माणमा पूर्ण सहयोग पुर्‍याउँछौँ।” रासस
 

प्रकाशित मिति: २१:२८ बजे, शनिबार, कात्तिक १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्