Kathmandu Press

दशैंको मुखमै छैनन् यात्रु, घाटाको व्यापार गर्नु परेको यातायात व्यवसायीको गुनासो

यात्रु क्षमताभन्दा ५० प्रतिशत कम यात्रु राखेर सवारी चलाउँदा इन्धन खर्चसमेत नउठ्ने उनीहरुको भनाइ छ।
दशैंको मुखमै छैनन् यात्रु, घाटाको व्यापार गर्नु परेको यातायात व्यवसायीको गुनासो

काठमाडौं, असोज १९ : घटस्थापना आउन ११ दिनमात्रै बाँकी छ। तर, अहिलेसम्म लामो दुरीका सवारी साधनको अग्रिम बुकिङ खुलेको छैन। चाडपर्व नजिकएको समयमा कोरोना भाइरसको संक्रमणसमेत दिन प्रतिदिन बढ्दै गएको छ। जसकोकारण सार्वजनिक यातायातमा यात्रु नै नभएको व्यवसायीहरु बताउँछन्।   

अघिल्ला वर्षहरुमा दशैंको बेला अग्रिम बुकिङ खुल्थ्यो। यात्रुहरुको चलहपल हुन्थ्यो। तर, अहिले कोरोना संक्रमणका कारण यात्रुको संख्या न्यून रहेको यातायात व्यवसायी राष्ट्रिय महासंघको भनाइ छ। महांसघको अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भन्छन्, ‘अहिले सार्वजनिक यातायात घाटामा चलिरहेका छन्। इन्जिन बचाउनको लागि घाटामा चलिइरहेका छौं,’ उनले भने। 

यात्रु क्षमताभन्दा ५० प्रतिशत कम यात्रु राखेर सवारी चलाउँदा इन्धन खर्चसमेत नउठ्ने उनीहरुको भनाइ छ। ‘चालक र सहचालकलाई तलब, भत्ता दिनुपर्छ। ५० प्रतिशतमात्र यात्रु राखेर सवारी चलाउँदा इन्धन खर्च नै उठ्दैन। तर, यात्रुलाई सेवा दिनको लागि सार्वजनिक यातायात सञ्चालन गरिरहेका छौं,’उनी भन्छन्, ‘यातायात क्षेत्रमा संलग्न कोही पनि भोकले नमरुन भन्ने हाम्रो ध्येय हो।’

Hardik ivf

लामो समयसम्म सवारी साधन थन्काएर राख्दा इन्जिन बिग्रने तथा खिया लाग्ने गर्छ। चालक र सहचालकहरुको दैनिकीसमेत कठिन बन्दै गएको छ। गाडीको इन्जिन बचाउन र मजदुरको समस्यालाई ध्यानमा राखेर यातायात सञ्चालन गरिएको कर्मचार्यको भनाइ छ। 

‘चाडपर्वको समयमा यात्रुको भिडभाड धेरै हुन्थ्यो। अग्रिम बुकिङकको लागि चहलपहल हुन्थ्यो,’ उनी भन्छन्, ‘यसवर्ष अग्रिम बुकिङ खुल्ला गरिएको छैन।’ 

कोरोनाका कारण गाउँ गएका मानिसहरु उपत्यका नफर्केकाले दशैंमा घर फर्कनेको संख्या कम भएको कर्मचार्यको भनाइ छ। लामो दुरीको यात्राको बुकिङ गर्ने नयाँबसपार्क, बालाजु, कोटेश्वर, गौशलामा अहिले कमै मात्र टिकट काट्न पुग्ने गरेका छन्। 
‘दशैं तिहार र छठ पर्वको लागि करिब २० लाख मानिसले उपत्यका छोड्थे। यस पटक पाँच लाख यात्रु पनि नहुने देखिन्छ,’उनी भन्छन्। 

स्वास्थ्य मापदण्ड चालक र सहचालकले पालना गर्छन्, यात्रुले गर्दैनन्

असोज १ गतेदेखि सञ्चालनमा आएको लामो दुरीको सार्वजनिक यातायातमा यात्रुले सरकारले तोकेको स्वास्थ्य मापदण्ड यात्रुले पुरा नगर्ने गरेको सवारी चालकहरुको भनाई छ। 

सहचालक र चालकले माक्स, पन्जाको प्रयोग गर्ने गरेको भएपनि यात्रुहरु बिना मास्क गाडीमा चढ्ने गरेका छन्। सवारी चालक कुमार तामाङ भन्छन्, ‘काठमाडौं–इलामको रुटमा गाडी चलाउँछु। हामी मास्क, पन्जा प्रयोग गर्छौ। यात्रुलाई माक्स खोइ भन्यो भने झोलामा छ भनेर जवाफ दिन्छन्।’

सरकारले एक सिटमा एक जनामात्रै राखेर सवारी चलाउन भनेको छ। तर, यात्रुहरु नै एउटा सिटमा एकजना बस्न नमान्ने गरेको उनको भनाइ छ। ‘प्रहरीले जाँच गर्न आउँदा एक्लै बसौंला भन्ने भेटिन्छन्। यात्रु सचेत हुनुपर्ने हो तर भएको देखिनँ,’उनी भन्छन्। 

प्रकाशित मिति: १८:३८ बजे, सोमबार, असोज १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्