Kathmandu Press

भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता

रामेछाप, असोज १४ :  नगरलाई दूधमा आत्मनिर्भर बनाउन रामेछापको मन्थली नगरपालिकाले भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता दिँदैछ।नगरपालिकाभित्र स्थायी बसोबास गर्नेले दर्ता गरेको भैँसी...
भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता

रामेछाप, असोज १४ :  नगरलाई दूधमा आत्मनिर्भर बनाउन रामेछापको मन्थली नगरपालिकाले भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता दिँदैछ।

नगरपालिकाभित्र स्थायी बसोबास गर्नेले दर्ता गरेको भैँसी फार्म एवं कृषकलाई भैँसी सुत्केरी स्याहार भत्ता उपलब्ध गराउने भएको हो। नगरपालिकाले कार्यविधि नै बनाएर चालु आर्थिक वर्षमा ६०  भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराउने तयारी गरेको छ। नगरपालिकाले ३० दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न आग्रह गर्दै सूचना जारी गरेको छ। 

मापदण्ड नपुगेका, म्यादपछि प्राप्त भएका र बढीमा तीन माउ भैँसीभन्दा बढी सङ्ख्यामा प्राप्त भएका प्रस्तावलाई छनोट प्रक्रियामा समावेश नगरिने मन्थली नगरपालिका, पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काले बताए। उनका अनुसार भैँसीको सुत्केरी भत्ता प्राप्त गर्न भैँसी सुत्केरी भएको निवेदन, वडा कार्यालयको सिफारिस, सम्बन्धित भैँसीधनी कृषकको नागरिकता, मान्यताप्राप्त पशु बीमा कम्पनीबाट भैँसी बीमा गराएको पोलिसीको प्रतिलिपि आवश्यक पर्छ।

नगरपालिकाका उपप्रमुख मायाकुमारी कार्कीले कृषकलाई प्रोत्साहनस्वरुप भैँसीलाई सुत्केरी भत्ता वितरणको काम अगाडि बढाइएको बताइन्। मापदण्ड पूरा गरेर आउने कृषकलाई तीन हजार रूपैयाँ भैँसी सुत्केरी भत्ता उपलब्ध गराइन्छ। गत वर्षदेखि सुत्केरी भत्ता वितरणको काम अगाडि बढाएको नगरपालिकाले प्रोत्साहनभत्ता वितरणको कामलाई निरन्तरता दिने जनाएको छ। रासस

प्रकाशित मिति: २१:५३ बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्