Kathmandu Press

दोर्दीखोला जलविद्युत अन्तिम चरण, पुसबाट २७ मेगावाट बिजुली थपिने

लमजुङ, असोज १२ : लमजुङबाट आगामी पुस महिनाबाट २७ मेगावाट बिजुली थपिने भएको छ। दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको...
दोर्दीखोला जलविद्युत अन्तिम चरण, पुसबाट २७ मेगावाट बिजुली थपिने

लमजुङ, असोज १२ : लमजुङबाट आगामी पुस महिनाबाट २७ मेगावाट बिजुली थपिने भएको छ। दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सकिने भएसँगै आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो।

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनामा उक्त मितिमै निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने तयारीका साथ कामलाई अघि बढाइरहेको आयोजनाका प्रोजेक्ट म्यानेजर मुन्ना शाक्यले बताए। बाँधस्थल, पाइप लाइन विच्छ्याउने, विद्युत्गृह, सुरुङ मार्गलगायतका अधिकांश काम सम्पन्न भएको उनले बताए।

करिब ९५ प्रतिशत काम सम्पन्न भएको यस आयोजनामा हाल मेशिनहरु फिट गर्नेलगायतका कार्य भइरहेको आयोजनाले जनाएको छ। यो आयोजनाले २०७२ फागुनबाट निर्माण शुरु भएको थियो। २०७५ भदौ १५ गते आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो।

Hardik ivf

यद्यपि काम थालनी भएपछि भएको नाकाबन्दी, अघिल्लो वर्खामा विद्युत्गृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकोले निर्माण कार्यमा ढिलाइ हुन पुगेकोले निर्धारित समयमा आयोजना सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ। समय थपेर गत चैत मसान्तसम्ममा निर्माण कार्य सक्ने सम्झौता गरिएको थियो।

फेरि निर्माण कार्य सम्पन्न नभएपछि गत असारसम्म सक्ने गरी सम्झौता भएको थियो। त,र कोभिड–१९ का कारण लकडाउनले निर्माण कार्यलाई प्रभाव पार्दा उक्त मितिमा समेत निर्माण कार्य सम्पन्न हुन नसकेपछि आगामी पुस महिनाबाट बिजुली निकाल्ने लक्ष्य लिइएको आयोजनाले जनाएको छ।  

आयोजनाको बाँधस्थल २१२ मिटर ग्रसहेड रहेको छ। बेँसीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युत्गृह रहेको छ। आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालका अनुसार नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा २०६९ असार १ गतेपिपिए सम्झौता भएको थियो। सुक्खा याममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको आयोजनाले जनाएको छ।

तीन अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा करीब रु चार अर्ब २३ करोड लाग्ने अनुमान आयोजनाको रहेको छ। गैरआवसीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ।

बाँधस्थल र विद्युत्गृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छ्रे मेटल एन्ड मेशिनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको रहेको थियो।

यस आयोजनाभन्दा अघि जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र, माथिल्लो ५० मेगावाट क्षमताको मस्र्याङ्दी ए लगायतका छ आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिइसकेको छ। त्यस्तै यस २७ मेगावाटको दोर्दीखोला जलविद्युत् निर्माण भएको दोर्दी करिडोरमै यसबाहेक चार वटा आयोजनाहरु निर्माणाधीन रहेका छन् भने जिल्लाभरि करिब एक दर्जन आयोजनाहरु निर्माणाधीन छन्। (रासस)

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, असोज १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्