Kathmandu Press

‘लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारका लागि पहिचान स्वीकार्ने हिम्मत चाहिन्छ’

लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुले पनि आफ्नो पहिचान प्रति हिनताबोध होइन गर्व गर्ने हिम्मत गर्नु पर्‍यो। आफ्नो पहिचान खुलाउने हिम्मत प्रदर्शन गरेपछि अधिकारप्राप्तिका लागि संघर्ष गर्न पनि हिम्मत जुट्छ।
‘लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारका लागि पहिचान स्वीकार्ने हिम्मत चाहिन्छ’
Hardik ivfHardik ivf

भारतमा दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकार स्थापितको अभियानमा सक्रिय व्यक्ति हुन्, अखिल काङ। यो अभियानमा लाग्न उनी कसरी प्रेरित भए? दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसंख्यहरुको अधिकार कसरी स्थापित गर्न सकिन्छ?  र, उनीहरुको अवस्था कस्तो छ? लगायतका विषयमा उनीसँग गरिएको कुराकानी : 

-दलित समुदायका लैङ्गिक तथा यौनिक  अल्पसंख्यकको अधिकारबारे अभियान चलाउन तपाईं कसरी प्रेरित हुनुभयो?

भारतमा दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसंख्यक दोहोरो विभेदमा परेको मैले महसुस गरेँ। दक्षिण एसिया तथा अन्य मुलुकमा दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अवस्था के छ ? भन्ने जिज्ञासा मभित्र थियो। साथै यस्ता विभेदलाई कम गराउँदै कसरी अन्त्य गराउने भन्ने विषयमा म धेरै जिज्ञासु हुन थालेँ।

यो क्रममा मैले साधिया हार्टम्यानको पुस्तक ‘सिन अफ सब्जेक्सन’ अध्ययन गरेँ। त्यहाँ उनले प्रश्न गरेकी थिइन्-  के कालो हुनु अपराध हो ? र, कालो हुने वित्तिकै विभेदको सिकार हुनैपर्ने हो? उनको यही अवधारणालाई मैले दलित समुदायको हकमा पनि उतारे। मलाई लाग्यो दलित हुनु कुनै अपराध होइन तर दलितमाथिको विभेद चाहिँ अपराध हो। दलित समुदायमाथि जातका आधारमा त हिंसा हुन्थ्यो नै, लैङ्गिक हिंसा समेत बढ्दो थियो। त्यसपछि मैले दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारको अभियानमा सक्रिय हुन थालेँ।

-यौनिक तथा लैङ्गिक अल्पसंख्यकका मानिसहरु पहिचान खुलाउन डराउँछन्। आफ्नो पहिचानमा निर्धक्क किन हुन नसकेको र आफ्नो पहिचानमा गर्व गर्न के गर्नुपर्ला?

सम्भ्रान्तहरुले समाजलाई विभक्त गरिदिएका छन्। उनीहरुले जातका आधारमा, वर्णका आधारमा, लिङ्गका आधारमा समाजलाई विभाजन गरिदिएका छन्। उनीहरुले विभिन्न रुपमा विभाजन गरेर विभेद गरेका छन्। यौनिक तथा लैङ्गिक अल्पसंख्यकका मानिसहरुलाई समाजले सहजै पचाउँदैन। उनीहरुको पहिलो संघर्ष घरबाटै हुन्छ।

घरमै विभेद व्यहोर्नु परेपछि समाजले स्वभाविक रुपमा हेप्छ। मेरो सन्दर्भमा पनि यस्तै समस्या भएको थियो। पन्जाबमा मर्दाङ्गीलाई पृथक रुपमा हेर्ने संस्कृति छ। तर, मभित्रको चाहना भावनात्मक रुपमा र यौनिक रुपमा पृथक थियो। त्यसलाई मेरै परिवारले सहर्ष स्वीकार गरिरहेको थिएन। विस्तारै उनीहरुलाई मनाउन सफल भएँ तर समाजले मेरो पहिचानलाई सहजै स्वीकार्दैन्थ्यो। यस्तै विभेदका कारणले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले आफ्नो पहिचानलाई निर्धक्क भएर खुलाउन चाहँदैनन्।

तर,  आफूभित्रको भावना र चाहनाले त्यो विभेदको परिधिलाई सधैँ तोड्न चाहन्छ। त्यसका लागि आत्मविश्वासको अभाव हुन्छ। तर आफ्नो पहिचान खुलाउनै हिच्किचाउने हो भने त अधिकारका  लागि संघर्ष गर्नै समस्या पर्छ। विभेदको परिधि तोड्न आफ्नो अधिकार स्थापित गर्न आफूले आफ्नो पहिचानलाई निर्धक्क साथ खुलाउने प्रयास थाल्नुपर्छ। आफूले आत्मविश्वास प्राप्ति गरिसकेपछि समान समस्या व्यहोरेकामा जागरण ल्याउनुपर्छ। तब मात्रै यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको हक अधिकार सुनिश्चत गर्न सकिन्छ र समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्दै विभेद पनि हटाउन सकिन्छ।

-दलित समुदायका यौनिक तथा लैङ्गिक अल्पसंख्यक विभेदको दोहोरो मारमा परेका छन्, यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ?

जातीय विभेद क्रमश कम हुँदै गएको छ। विगतमा आफ्नो जातीय पहिचानप्रति हिनताबोध गर्ने मानिसहरु अहिले आफ्नो पहिचानमा गर्व गर्छन्। आफ्नो अधिकार स्थापित गर्नका निम्ति एकताबद्ध रुपमा संघर्ष गरिरहेका छन्। त्यसैले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुले पनि आफ्नो पहिचान प्रति हिनताबोध होइन गर्व गर्ने हिम्मत गर्नुपर्‍यो।  आफ्नो पहिचान खुलाउने हिम्मत प्रदर्शन गरेपछि अधिकारप्राप्तिको लागि संघर्ष गर्न पनि हिम्मत जुट्छ। यो नै दोहोरो विभेद अन्त्यका लागि उचित उपाय हो।

-भारतमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले आफ्नो पहिचान खुलाउने मामिलामा कत्तिको फड्को मारेका छन्?

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले आफ्नो अधिकार स्थापित गर्ने सवालमा केही फड्को निश्चय पनि मारेका छन्। उनीहरुले समलिङ्गी विवाहलाई कानूनी वैधता दिन माग गर्दै आइरहेका थिए। भारतको उच्च अदालतले त्यसलाई मान्यता दिने कानून बनाउन सरकारलाई आदेश दिएको छ।

यो निकै नै महत्वपूर्ण उपलब्धि हो। सँगसँगै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न जसरी कानून बनाइएको छ, त्यसैगरी लैङ्गिक तथा अल्पसंख्यकहरुको अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न पनि कानून बनाउनुपर्ने माग भारतमा उठिरहेको छ। र, त्यो बन्ने प्रक्रियामा छ। यो अवस्था हेर्दा भारतमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले पहिचान खुलाउने र अधिकार स्थापित गर्ने मामिलामा निश्चय पनि केही फड्को मारेका छन् तर अझै निकै काम गर्न भने बाँकी नै छ।

-जातीय अधिकार र दलित समुदायका यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारका लागि अम्बेडकरको भूमिकालाई कसरी स्मरण गर्नुहुन्छ?

दलित अधिकार के हो र त्यसको प्राप्ति कसरी गर्ने? समाजमा भएका असमानता र विभेदविरुद्ध कसरी लड्ने ? भन्ने विषयमा अम्बेडकरले नै आधार तयार गरेका हुन्। उनले तयार गरेको आधार अनुसार नै दलित समुदायका विविध विषयमा अधिकार प्राप्तिको माग हालसम्म भइरहेको छ। उनले देखाएको मार्गनिर्देशन निकै सह्रानीय छ। उनकै मार्गनिर्देशनका आधारमा यौनिकताको विषय जोड्दै हामी दलित समुदायका यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय छौँ।

(दलित लाइभ्स म्याटर नेपालमा समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियारले अखिलसँग गरेको काष्ट कन्भरसेशन सिरिजको अन्तर्वार्ता)
 

प्रकाशित मिति: २०:०६ बजे, बुधबार, असोज ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्