Kathmandu Press

मिर्गौलापीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख

मिर्गौलापीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख

चितवन, असोज ४ : दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि ११ लाख ८५ हजार  रूपैयाँ संकलन भएको छ। सामाजिक अभियानकर्मी कृष्ण घोताने गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गरेको आह्वानबाटै उक्त रकम संकलन भएको हो।

देश विदेशमा रहेका ११७ व्यक्ति तथा संघसंस्थाले उक्त रकम सहयोग गरेको तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्का वाग्मती प्रदेश सदस्यसमेत रहेका समाजसेवी एवं व्यवसायी घोतानेले बताए। ‘कोरोना महामारीको यो विषम परिस्थितिमा पनि रकम सहयोग गरेकामा सहयोग गर्ने सबै मनकारी महानुभावलाई म धेरैधेरै धन्यवाद व्यक्त गर्दछु,’ उनले भने।

विगत चार वर्षदेखि दुवै मिर्गौला फेल भई उपचाररत गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा डायलासिस भइरहेको छ। आर्थिक अवस्था कमजोर रहेका गुरुङको उपचारका क्रममा धेरै रकम खर्च भइसकेको र थप उपचारका लागि अर्थाभाव भएको भन्दै विभिन्न अनलाइन मिडियामा समाचार प्रकाशन प्रसारण भएको थियो। सोही समाचार पढेर पीडितका लागि आफूले केही पहल गर्न सकिन्छ भनेर आर्थिक सहयोग संकलनका लागि अभियान चलाएको घोतानेले बताए।

पीडितको उपचारका लागि संकलित रकम शनिबार भरतपुरमा रहेको तीनखोले गुम्बामा एक औपचारिक कार्यक्रम गरी पीडितलाई हस्तान्तरण गरिएको छ। अभियानकर्मी घोतानेले विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा पीडितका परिवारलाई रकम हस्तान्तरण गरे।

प्रकाशित मिति: १७:५७ बजे, आइतबार, असोज ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्