Kathmandu Press

हलिउडका एक्ला नेपाली हिरो  

सन्नी बीले बनाएको ‘फाइट अफ फ्यूरी’ अर्को महिना चार वटा डिजिटल प्लेटफर्ममा पनि रिलिज हुँदैछ– गुगल प्ले, एप्पल टिभी, आई ट्युन र रोकुमा । नेपाली कलाकारले हलिउडमा बनाएको यो पहिलो फिल्म हो।
हलिउडका एक्ला नेपाली हिरो  

काठमाडौं : विश्वकै ठूलो डिजिटल मुभी प्लेटफर्म अम्याजन् प्राइम भिडियोमा तीन सातादेखि एउटा फिल्म ट्रेन्ड्रिङमा छ– फाइट अफ फ्यूरी। 

फिल्मको कभर पोस्टरमा छन् – ब्रुस लि पोजका एक मङ्गोल अनुहार । उनी हुन् – सन्नी बी । हलिउड पुगेपछि सन्नी बी नाउँ राखेका पाल्पा, तानसेनका सन्नी केसी यो फिल्मका नायकमात्र नभई निर्देशक पनि हुन् । 

अम्याजन प्राइम भिडियोमा आफ्नो फिल्मले प्रशंसा पाउँदै गएपछि सन्नीले काठमाडौंप्रेससँग भने, ‘हलिउड आएको २५ वर्षपछि मेरो ड्रिम बल्ल पूरा भएको छ ।’

नेपालको सामान्य परिवारमा जन्मे–हुर्केर बलिउड हुँदै हलिउड पुग्न सन्नीले लामो र कठिन यात्रा पार गरेका छन्। ‘३० वर्षअघि एसएलसी पास गरेर नाइट बस चढेर काठमाडौं पढ्न हिँडेको थिएँ, अहिले म हलिउडमा छु,’ विगत सम्झदै उनले भने, ‘यो यात्रा फूलले सिँगारिएको पक्कै थिएन, बाटाका काँडाहरू पन्छाउदै यहाँसम्म आइपुगेको हुँ।’

पहिलोपटक अमेरिकाको लस एन्जल्स पुग्दा उनी बेभर्ली हिल्समा गएर टोलाई बस्थे। लस एन्जल्सको बेभर्ली हिल्स हलिउडका अधिकांश कलाकारहरू बस्ने क्षेत्र हो। 

‘त्यहाँको मार्शल आर्ट स्टुडियोमा विहान बेलुका तालिम दिन्थेँ, दिउँसो चाहिँ हलिउड फिल्म कहाँ सुटिङ हुँदैछ, कलाकारहरू कहाँ बस्छन्, हेर्न पुग्थेँ,’ उनी ती संघर्षपूर्ण दिनहरू सम्झिन्छन् । 

मार्शल आर्टका ब्ल्याक बेल्ट उनले प्रशिक्षण दिने क्रममै लस एन्जल्समा केही चर्चित मार्सल आर्ट गुरुहरुबाट प्रशिक्षण पनि लिने मौका पाए। ‘मैले ब्रुस लीका चेलाहरूसँग मार्शल आर्टको प्रशिक्षण लिन पाएँ,’ सन्नीले भने, ‘मार्शल आर्टको प्रशिक्षक र चेलाको कनेक्सन अहिले फिल्म बनाउन निकै काम लाग्यो।’

‘फाइट अफ फ्यूरी’ अर्को महिना चार वटा डिजिटल प्लेटफर्ममा पनि रिलिज हुँदैछ। गुगल प्ले, एप्पल टिभी, आई ट्युन र रोकु लगायतका डिजिटल प्लेटफर्ममा यो फिल्म रिलिजको तयारीमा छ। 

‘नेटफ्ल्क्सिकबाट पनि अफर आएको थियो, तर मलाई डिल मन नपरेर प्राइम भिडियोसँग सम्झौता गरेँ,’ सन्नीले भने। 

 

काठमाडौंमा मिथुनसँगको त्यो भेट

२०४२ सालमा काठमाडौंमा तत्कालीन पञ्चायती शासनविरुद्ध नेपाली कांग्रेसको भद्र अवज्ञा आन्दोलन चलिरहेको थियो। सन्नी लैनचौरको अमृत साइन्स क्याम्पस (अस्कल)मा आईएस्सी दोस्रो वर्षमा अध्ययनरत थिए। त्यो बेला उनले करातेमा ब्ल्याक बेल्ट लिइसकेका थिए। मार्सल आर्ट पनि एक जना कोरियन गुरुसँग सिकिरहेका थिए। 

अस्कल क्याम्पसबाट ५/७ सय मिटरको दुरीमा रहेको दरबारमार्गको होटल अन्नपूर्ण वरपर प्रहरीको कडा सुरक्षा थियो। उनी त्यहि दिन दशरथ रंगशालाबाट अस्कलतर्फ फर्कदै थिए। मानिसहरू ‘मिथुन.. मिथुन..’ भनेर औलाले देखाइरहेका थिए। के रहेछ भनेर उनले चिनजान भएका होटल अन्नपूर्णका तत्कालिन म्यानेजर किशोर पाण्डेलाई सोधे। पाण्डेले फिल्म सुटिङको लागि मिथुन काठमाडौं आएको र होटलमा बसेकाले भीआईपी सुरक्षा राखेको जानकारी दिए। 

मिथुनसहितका कलाकारहरू हेमा मालिनी, शशि कपुर, डेनी डेन्जोङ्पा र शत्रुघन सिन्हा ‘आँधी तुफान’ नामको फिल्मको सुटिङमा आएका रहेछन्। 

मिथुनको नाम सुन्नेबित्तिकै उनका फ्यान सन्नीलाई एक पटक मिथुनसँग भेट्न मन लाग्यो। अब के गर्ने?

‘मिथुन काठमाडौंमा आएको थाहा पाएपछि एक पटक भेट मिलाइदेऊ न भनेर फेरि किशोरलाई अनुरोध गरेँ,’ विगत सम्झदै सन्नीले भने, ‘किशोरले म एक पटक मिथुनलाई सोधेर खबर गर्छु भन्यो।’

नभन्दै भोलिपल्टै किशोरको खबर आयो, ‘बेलुका होटलमा आऊ, मिथुनले भेट्छु भनेको छ।’ 

सन्नीले मिथुनसँग होटल अन्नपूर्णको लबीमा भेट गरे। अस्कल क्याम्पसका ‘डन’, रंगशालाका करातेका ब्ल्याक बेल्ट त्यो बेला सानो काठमाडौंमा धेरैले सन्नीलाई राम्रै चिन्थे। ‘म अस्कलको त ‘दादा’ नै थिएँ,’ सन्नीले कुरा नलुकाई भने, ‘करातेमा मलाई हराउने कोही थिएन, सबै मसँग डराउथे।’

सन्नी बीले बनाएको ‘फाइट अफ फ्यूरी’ अर्को महिना चार वटा डिजिटल प्लेटफर्ममा पनि रिलिज हुँदैछ– गुगल प्ले, एप्पल टिभी, आई ट्युन र रोकुमा । नेपाली कलाकारले हलिउडमा बनाएको यो पहिलो फिल्म हो।

भेटमा सन्नीले मार्शल आर्ट र करातेको ब्ल्याक बेल्ट लिएको जानकारी गराउँदै  बम्बेमा फिल्म खेल्ने इच्छा मिथुनसँग व्यक्त गरे। ‘मैले बम्बे गएर फिल्ममा सानोतिनो भूमिका मिलाइदिनु पर्‍यो भनेँ,’ सन्नीले मिथुनसँगको पहिलो भेटकाबारे भने, ‘मिथुनले तिमी आऊ मैले सकेको सहयोग गर्छु भनेर वचन दिए।’

मिथुनबाटै बलिउडमा बोलावट भएपछि सन्नी आईएस्सी दोस्रो वर्षको परिक्षानै छाडेर बम्बे हान्निए।  

 

बम्बैया जिन्दगी..

अस्कल क्याम्पसको छात्रवासबाट उनी पोका पुन्तुरा बोकेर बम्बे निस्किए। बम्बे पुग्नेबित्तिकै होटलमा बसेर भोलिपल्ट बिहानै अन्धेरीमा रहेको मिथुन चक्रवर्तीको घरमा गए। ‘सुरुमा मिथुनले मलाई विभिन्न व्यक्तिहरूसँग चिनजान गराएँ,’ सन्नीले भने।

सुरु सुरुमा बम्बे पुगेपछि यताबाट लगेको पैसा सकियो, काम केही थिएन। फेरि केही समय आर्थिक समस्यामा परे । ‘कतिपटक त मिथुनले मलाई पैसा नै दिएका छन्,’ सन्नीले बम्बेको दुख सम्झदै भने, ‘उनले नै भनेर एउटा टिभी कमर्सियलमा खेल्न पाएपछि अल सहज भयो।’

‘त्यो निन्जा रेजर ब्लेटको विज्ञापन थियो। त्यो विज्ञापनले मलाई बम्बेमा मात्रै होइन, सारा भारतमा चर्चित बनायो,’ सन्नीले भने, ‘भारतका टेलिभिजन च्यानल र सिनेमाघरमा त्यही मेरो विज्ञापन बज्थ्याे। म त्यही हेरेर मख्ख पर्थेँ।’

केही समयपछि उनले श्याम बेनेगलले बनाएको ‘भारत एक खोज’ नामको टिभी सिरियलमा खेल्ने मौका पाए। भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरुले लेखेको उक्त सिरियलमा खेल्ने मौका पाएपछि उनलाई थप पहिचान दिलायो। 

बम्बे पुगेपछि उनले त्यहाँ पनि मार्सल आर्टको प्रशिक्षण दिन्थे। उनले बलिउडका एक्सन स्टार अक्षय कुमारलाई पनि मार्सल आर्ट सिकाएका छन्। ‘मैले अक्षयलाई पनि मार्शल आर्ट सिकाएँ’, उनले भने, ‘अरु बलिउड हिरोहरू पनि मेरा चेला छन् ।’

टिभी सिरियल चल्न थालेपछि फिचर फिल्म फिरोज खानको ‘जाँबाज’, ‘प्यार करके देखो’ लगायतमा सानोतिनो रोल पाउन थाले। तर करिव ५ वर्षपछि उनमा बम्बे बस्ने इच्छा पनि विस्तारै मर्दै गयो। ‘बम्बेमा पनि निराश भइसकेको थिएँ, त्यसपछि अमेरिका जाने योजना बनाएँ,’ सन्नीले भने, ‘लस एन्जल्समा एउटा मार्शल आर्ट एकेडेमीले प्रशिक्षकको रुपमा स्पोन्सर गर्‍यो, त्यसपछि म सिधै अमेरिका उडेँ।’

बलिउड टु हलिउड 

बम्बेबाट लस एन्जल्सको २४ घण्टा लामो पट्यारलाग्दो उडानमा सन्नीको मनमा धेरै कुराहरु खेले। ‘उडानभरि सोचिरहेँ– बलिउडमा त सफल भइनँ, हलिउडमा आएकर मैले के गर्ने ? के यहाँ म सफल हुँला र !’, सन्नीले भने, ‘तर, अर्को मनले भन्थ्यो – यो महासागर हो, यहाँ कतै न कतै मेरो कलाको कदर हुन सक्छ ।’

उनको उडान लस एन्जल्स अन्तराष्ट्रिय विमान स्थलमा अवतरण भयो। उनी सिधै मार्सल आर्ट एकेडेमीमा पुगे। गएको दिन आराम गरेपछि भोलिपल्टैदेखि मार्सल आर्ट प्रशिक्षणको काम सुरु भयो। ‘ममा कलाकार बन्ने भूत सवार थियो, म मार्शल आर्ट प्रशिक्षकमा कहाँ सीमित भई बस्न सक्थेँ र!’ सन्नीले भने, ‘विस्तारै फिल्म खेल्न सम्पर्कहरु बढाउन थालेँ ।’

सुरुमा सन्नीले ‘नन युनियन’ फिल्ममा सानोतिनो भूमिकामा काम गर्ने मौका पाए। ‘नन युनियन मुभी खेलेपछि एउटा हलिउडको ठूलो मुभी ‘मोर्टल कमब्याट्’मा अफर आयो’ सन्नीले भने, ‘तर एउटा शर्त थियो– कानुनी डकुमेन्ट बुझाउनु पर्ने। तर, मसँग ग्रिन कार्ड थिएन। त्यो मुभी त्यत्तिकै फुत्कियो।’

हलिउडमा छिर्न ग्रिनकार्ड चाहिने भएपछि कसरी बनाउने भनेर अघि बढे। ‘साथीभाइले क्यालिफोर्नियामा सजिलै बनाउन सकिँदैन, ओरेगन जा भन्ने सल्लाह दिए,’ सन्नीले भने, ‘म हलिउड छोडेर निन्याउरो अनुहार लगाउँदै पोटल्याण्डको ओरेगन गएँ।’

ओरेगनमा पुगेर पनि उनको काम त उही थियो, मार्सल आर्ट सिकाउने। ‘ओरेगनमा पनि एक जना कोरियन मार्सल आर्ट गुरुकोमा प्रशिक्षक भएर काम गरेँ,’ उनले भने, ‘केही समयपछि ग्रिनकार्ड बन्यो।’

ग्रिनकार्ड बनेपछि उनको मन चुलबुल चुलबुल हुँदै लस एन्जल्स जाने सोच्दै थियो। तर सजिलै जान सक्ने अवस्था पनि कहाँ थियो र? 

लस एन्जल्सको पुराना सम्पर्कहरू टुटिसकेका थिए। बलिउडमा नभए पनि एकपटक कलिउडमा एउटा मुभी बनाउँछु भन्ने इच्छा जागृत भयो। आरेगनबाट केही पैसा बोकेर काठमाडौं हानिए। 

‘गोर्खा रक्षक’ भन्ने सिनामा बनाए। तर सोचेजस्तो भएन। ‘हलको पैसा नउठ्ने, के के हुने के के’, उनले भने ।  

उनी फेरि ओरेगन फर्किए। 

ओरेगनमा उही पुरानै काम गर्दै थिए। ‘केही वर्षपछि सोचेँ, मेरो लक्ष्य त हलिउड हो नि, म कहाँ अल्झिरहेको छु’ सन्नीले भने, ‘अनि हान्निएँ, दोस्रो इनिङ्सको रुपमा लस एन्जल्स।’ 

लस एन्जल्सको बेभर्ली हिल्समा नभए पनि त्यही वरिपरि डेरा जमाए। 

 

कसरी बन्यो फाईट अफ फ्यूरी? 

लस एन्जल्स गएको केही बर्षमा पुराना सम्पर्कलाई ब्यूत्याउँदै ‘फाइट अफ फ्यूरी’ को प्रोजेक्ट सुरु गरे। के विषयमा मुभी बनाउने भन्ने उनको मनमा थियो। ‘म हलिउडनै मुभी मेकिङको लागि आएको हो। अहिले मार्शल आर्ट मुभी त्यति छैन। मलाई मार्सल आर्ट मुभी बनायो भने अडियन्सलाई ब्रुस लिको युगमा लान सकिन्छ कि जस्तो लाग्यो,’ फाइट अफ फ्यूरीको मेकिङ सम्झँदै सन्नीले भने, ‘मार्शल आर्ट एक्सन मुभी बनाउने निर्णयमा पुगेँ।’

लस एन्जलस्को मानव तस्करीको विषयमा उनी आफैंले कथा लेखे। फाईट अफ फ्यूरीको कथामा नेपाल पनि समेटिएको छ । ‘एक जना नेपाली केटाको श्रीमती लस एन्जल्र्सका मानव तस्करले बलात्कार गरेर मारेको हुन्छ,’ फिल्मको छोटो कथा सुनाउँदै सन्नीले भने, ‘ती महिलाको श्रीमान लस एन्जल्समा मार्शल आर्टका गुरु हुन्छन्। त्यसकै बदला लिने गरी कथा अघि बढ्छ ।’ 

मुभीमा नेपालको पनि दृश्य राख्नुपर्ने थियो। हलिउडको कलाकारको टिम ल्याएर नेपालमा सुटिङ गर्दा धेरै महङगो पर्ने भएपछि लस एन्जल्सकै ‘बिग वियर’ भन्ने पहाडलाई नेपाल मानेर सुटिङ गरिएको उनले बताए। 

हलिउडमा अहिलेसम्म अन्य कुनै नेपालीले मुभी बनाएका छैनन्, न त खेलेका नै छन्। उनी भन्छन्, ‘म एक्लो हुँ। हलिउड सोच्नै सकिँदैन। म मार्सल आर्टको प्रशिक्षक भएकाले त्यस्तै मान्छेहरुसँग संगत भएकाले सम्भव भएको हो।’

८० र ९० को दशकमा हलिउडका टप एक्शन स्टारको रुपमा चिनिएका जन क्लक भ्यान्डम्को छोरा नै सन्नीको मार्सल आर्टका विद्यार्थी थिए। त्यसबाट पनि फिल्म बनाउन सजिलो भएको उनी बताउँछन्। 

‘फिल्म बनाउन मैले मार्सल आर्ट सिकाउने विद्यार्थीहरुले सहयोग गरे। नत्र म एक्लैले कहाँ फिल्म बनाउन सक्छु?’ सन्नी भन्छन्, ‘यहाँका प्रहरी अफिसर पनि मेरो विद्यार्थी थिए। त्यसले मलाई सजिलो भयो।’ 

कार्ल मान्डेटर, जोसेभ माइकललगायतका हलिउड कलाकारहरू उनको फिल्ममा छन्।
  
मुभीको सुटिङ सकियो, तर अमेरिकामै एडिटिङ धेरै महङ्गो पर्ने भएपछि उनी फेरि मुम्बै गए। त्यही एडिटिङ गरे। संगीत भर्न उनले  नेपाल रोजे। नेपालमा संजय श्रेष्ठले फाईट अफ फ्यूरीमा संगीत भरेका छन्। ‘फाइट अफ फ्यूरी नेपालीले संगीत भरेको पहिलो हलिउड मुभी पनि हो। 

 

बनाउनभन्दा बेच्न गाह्रो

कोरोनाभाइरस महामारी सुरू नहुँदै हलिउड–बलिउडका धेरै ठूला प्रडक्शन हाउसहरू डिजिटल प्लेटफर्ममा आकर्षित हुन थालेका थिए। महामारीका कारण फिल्म हलहरू बन्द भएपछि डिजिटल नै फिल्म रिलिज गर्ने सबैभन्दा सजिलो माध्यम बन्यो। अम्याजन, नेटफ्रिल्क्स लगायतका प्लेटर्फमले किने भने फिल्म चल्यो, नत्र घाटामा जाने जोखिम बढी हुन्छ। 

फाईट अफ फ्यूरीका लागि पनि डिष्ट्रिव्यूटरले ५०० फिल्मसँगै अम्याजन प्राइममा निवेदन हालेका थिए। तर त्यस मध्य फाईट अफ फ्यूरीसहित तीन वटा फिल्ममात्रै स्वीकृत भए। ‘मेरो डिष्ट्रिव्युटरले अम्याजनमा ५ सयवटा मुभी दर्ता गरेकोमा मेरो सहित तीनवटा मुभीमात्रै लिएको छ,’ शन्नीले भने, ‘यहाँ प्रतिस्पर्धा धेरै ठूलो छ, बनाउनभन्दा बेच्न गाह्रो छ।’ 

तीन महिनामा कलेक्सन कति हुन्छ त्यसपछि मुभीको सफलता नाप्न सकिने उनको भनाइ छ । यद्यपि, रेस्पोन्स सोचेभन्दा राम्रो पाएको उनी बताउँछन् । ‘मेरो लगानी त उठी नै हाल्छ तर कति फाइदा हुन्छ हेर्न तीन महिना कुर्नुपर्छ’ सन्नीले भने। 

हलिउडमा बनेको फिल्मका कलाकार र प्रोडियुसर उनी एक्ला नेपाली हुन् । उनी भन्छन्, ‘साउथ एसियामै कसैले हलिउड मुभी बनाएको छैन ।’

उनको मुभी ६५ वटा अङ्ग्रेजी बोल्ने देशहरुमा अहिले ट्रेन्ड्रिङमा छ । अम्याजन उनको मुभी देखिएपछि उनलाई फोन र म्यासेजबाट बधाई दिनेहरुको पनि त्यत्तिकै ओइरो लागेको छ। 

 

ब्रुस लीको फिल्मले जगायो कलाकार बन्ने लक्ष्य

२०३५/३६ सालतिर तानसेनमा भर्खरै भिडियो डेकमा फिल्म देखाउन थालिएको थियो। सन्नी त्यहाँकै जनता माविमा पढ्थे। पढाई सक्न नपाउँदै उनी ब्रुस लीको फिल्म हेर्न एक रुपैयाँको टिकट काटेर तानसेनको सागुरो गल्लि भित्रका अँध्यारो कोठामा पुगिहाल्थे । 

‘तानसेनमा ब्रुस लिको मुभी हेर्ने अनि घरमा मुभीमा देखाए जस्तो चक्कु चलाउने प्राक्टिस गर्ने’ चार दशकअघिको सम्झना गर्दै सन्नीले भने, ‘बासको नन् चक्स् प्राक्टिस गरेँ। घरको भित्तामा हानेर भित्तै विगारेको थिएँ।’

ब्रुस लिको प्रेरणाबाट मार्शल आर्ट सिकेका सन्नीले ब्रुस लीले सिकाएका पहिलो चेलाहरुबाट पनि मार्सल आर्ट सिक्ने अवसर पाए। ‘ब्रुस लिको प्रेरणाबाट सिकियो, अहिले आएर ब्रुस लिकै पहिलो चेलाहरुसँग सिक्ने मौका पाएँ,’ उनी भन्छन्, ‘उनीहरू अहिले ९० वर्षभन्दा माथि पुगिसकेका छन्। मेरो तक्दिरमा लेखेको रहेछ । ब्रुस लीको चेलासँग सिकेकाले अहिले मेरो मार्सल आर्ट क्लबमा धेरै मान्छेहरु सिक्न आएका छन्।’
 

फाईट अफ फ्यूरीकाे ट्रेलर

प्रकाशित मिति: १३:०० बजे, शनिबार, भदौ १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्