Kathmandu Press

अमेरिकाबाट आएको म कोरोनाबाट सुरक्षित हुन १४ दिन क्वारेन्टाइनमा बस्दैछु 

अमेरिकामा तिब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि रातारात विश्वविद्यालयहरु बन्द भयो। हामी जस्ता विद्यार्थीहरुलाई

अमेरिकाबाट आएको म कोरोनाबाट सुरक्षित हुन १४ दिन क्वारेन्टाइनमा बस्दैछु 
Hardik ivfHardik ivf

अमेरिकामा तिब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि रातारात विश्वविद्यालयहरु बन्द भयो। हामी जस्ता विद्यार्थीहरुलाई २४ घण्टा भित्र छात्राबासले कोठा छोड्न आदेश दियो। त्यसकारण म मंगलबार बिहानै नेपाल फर्किए। अमेरिकाले पुरै राष्ट्रलाई आपतकालिन घोषणा गर्न ढिलो गरिसकेको थियो।

फर्कने क्रममा दोहा हुँदै आउनु परेको थियो। दोहाबाट काठमाडौं आउने जहाज कतार तथा अन्य खाडी मुलुकमा काम गर्ने नेपालीहरुले भरिएको थियो। केही व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको लक्षण देखिएकाले फर्काइयो भन्ने पनि सुनियो। कुरा कतिसम्मको सत्य हो थाहा भएन तर कतारमा एक दिनको अवधिमा दश गुणाले भाइरस संक्रमितको संख्या बढेको समाचारमा अनलाईनमा थिए। 

कतार जस्तै हजारौं नेपाली कार्यरत अन्य देशमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ। नेपालमा वैदेशिक आगमनमा रोक लाग्नु अगाडि नै चीन, ईटालीजस्ता थुप्रै देशबाट विदेशीहरु भित्रीसकेका छन्। 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कोरोना भाइरस संक्रमण रोकथामको लागि विभिन्न थर्मल स्क्यानर मेसिनहरु जडान गएिको रहेछ । हेल्थ डेस्क स्थापना गरिएको छ भन्ने खबर पाएको थियो । जहाजमा हुँदा हामीलाई एउटा फारम पनि भर्न दिइयो । जसमा विगत २१ दिनमा आफु गएको सबै ठाउँ र आफ्नो शारीरिक अवस्थाबारे लेख्नु पर्ने थियो। 

विमानबाट ओर्लिएर उक्त फारम विमानस्थलका प्रहरीलाई बुझाउनु पर्ने रहेछ। म सँगै उभिएको एक व्यक्तिले आफ्नो फारम जहाजमा नै बिर्सिएका रहेछन्। सोच्दै थिए, उनलाई अर्को फारम भर्न लगाउँछ होला। तर त्यस्तो केही भएन प्रहरीले उनलाई सजिलै जान दियो। त्यसपछि तापक्रम जाँच गरेर हामी विमानस्थलबाट बाहिरियौं।
हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएको छैन भन्ने कुरा निकै अपत्यारीलो छ। जब विश्वभर कोरोनाको संक्रमण द्रुर्त गतिमा बढिरहेको छ, भने नेपालमा यति फितलो जाँच हुँदा किन फैलन सकेको छैन? 

मेरो प्रत्यक्ष अनुभवले पनि विमानस्थलमा देखिएको सुरक्षाको उपायलाई कमजोर ठानीरहेको थियो। उक्त भाइरसको लक्षण देखा पर्न १४ दिनसम्म लाग्छ। नेपाल भित्रिरहेका धेरै नेपाली कम उमेरका भएकाले वा प्रतिरोधात्मक शक्ति बलियो भएको कारणले संक्रमण नफैलिएको भने पक्कै होइन। 

काठमाडौंमा उस्तै भिड थियो। उस्तै फोहोर थियो। भाइरस नियन्त्रणकै लागि गरिएका प्रयास भनी केही अनुभव गर्न सकिएको थिएन। सुनिएका र देखिएका कुराहरु निकै फरक थिए।

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क राष्ट्रका प्रमुखहरुबीच भएको भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली पनि हाजिर भएका थिए। सार्क राष्ट्रका मुलुकहरु कोरोना भाइरस नियन्त्रणका लागि आतुर देखिए पनि उक्त चिन्ता हाम्रो प्रधानमन्त्रीमा देखिएन। 

भाइरसको असरले काठमाडौं पूर्णरुपमा ठप्प हुने अवस्था छैन। यदी भएमा त्यसको ठूलो असर दैनिक मजदुर गरी जीविकोपर्जन गर्दै आएका वर्गलाई पर्न जान्छ। पहुँचवाला र मध्यम र उच्च वर्गका व्यक्तिहरु किन शान्त छन ? यो भाइरस नेपालमा पनि व्यापक रुपमा फैलिएमा के धनी र गरीबबीचको फाटो मेटिएर मानवता भित्रिने छ त ? यस विषयमा म खासै आशावादी छैन।

कोरोना संक्रमण फैलिएमा राज्यले सबैभन्दा कमजोर आर्थिक अवस्थामा रहेका व्यक्तिलाई कस्तो मद्त गर्न भन्ने विषयमा अहिलेदेखि नै सोच्न जरुरी छ। राज्यको आर्थिक अवस्था जोगाउन सरकारी सहयोग विभाजन होला या नहोला ? कतै धनी बर्गका व्यक्तिले उपचारका लागि प्राथमिकता पाएर आर्थिक र सामाजिक रुपले पिछडिएका वर्ग उपेक्षित त हुने हैन ? 

यस विषयमा हामीले विषेश ध्यान दिने समय आएको छ। त्यसको लागि सबै मिलेर ‘सरकारको सहयोग सबैलाई’ भन्ने बिषयमा दबाब दिन आवश्यक छ।

सरकारले कोरोना भाइरसको नियन्त्रणका निम्ति सामाजिक दुरी कायम गर्न मानिसलाई प्रोत्साहन गर्न जरुरी देखिन्छ। कम उमेरका व्यक्तिलाई यो रोगले धेरै असर नगरे तापनि उनीहरू भाइरसको संवाहक बन्न सक्छन् जसका कारण वृद्ध र विरामीहरुलाई सर्ने सम्भावना बढि हुन्छ। 

संसारका थुप्रै देशमा यस्ता नियम पालना भएपनि नेपालमा भने उही भिडभाड देखिन्छ। सावधानी अपनाएको अनुभुति गर्न सकिदैन्। सार्वजनिक यातायातमा उत्तिकै भिड छ। सरकारकाी र नीजि कार्यालय चलेकै छन्। मानिसहरु पार्टी मनाइरहेकै छन, भेटघाट गरिरहेको छन । काठमाडौं चलिरहेकै छ। नेपालीको स्वास्थ्य स्थिती जोगाउन अब दैनिकीलाई बिस्तारै दौडाउन आवश्यक छ। केही समयको धैर्यताले थुप्रैको जीवन जोगिन सक्छ।

अब अरुले के गर्छन भन्दा पनि म के गर्दैछु भनेर सोच्ने बेला आएको छ। म आफु आफ्ना आफन्तका लागि १४ दिनसम्म क्वारेन्टाइनमा बस्दै छु। अमेरिकादेखि नेपालसम्मको ३० घण्टाको यात्रामा आफुलाई कोरोनाको संक्रमण भएको हुनसक्ने अवस्थाको जिम्वेबारी म आफै लिँदै छु। 

यो लेखमार्फत म कोरोना भाइरस संक्रमणबारे सक्दो आवाज उठाउँदैछु। आउँदो दिनमा कोरोना भाइरसबाट जोगिन म जतिसक्छु सहयोग गर्न तयार छु। समाजमा गठन भएका समूहसँग मिलेर गर्न सकिने हरेका क्रियाकलापमा सहभागी हुन तयार छु। सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि दबाब कसरी दिन सकिन्छ भन्ने कदम चाल्न तयार छु।

हामीले के के गर्न सकिन्छ?

१.समाजका कोरोना संक्रमणको सम्भावित बर्गलाई कसरी सहयोग पुर्याउन सकिन्छ, सोचौँ।  

२. धनी बर्गका व्यक्तिलाई यस विषयमा सतर्क गराऔँ। उनीहरुको मदतले धेरैको ज्यान बच्नसक्ने कुरा बुझाऔँ।

३. रोगले धनी गरिब, जात, धर्म, कही नहेर्ने भएकोले सबै मिलेर यसको रोकथाम गर्नमा लागौं।

४. सरकारलाई दबाब दिऔं, सामाजिक सञ्जाल मार्फत पदमा बसेका व्यक्तिमाँझ कुरा पुर्याऔं।

सरकारले कोरोना भाइरसको संक्रमण हुँन नदिन अझै कडा कदम उठाउनु जरुरी छ। आर्थिक, सामाजिक तथा बौद्दिक स्तरबाट सक्षम व्यक्तिले समाजप्रतिको आफ्नो दायित्व पुरा गर्न जरुरी छ। नेपालमा आपतकालिन अवस्थाको सिर्जना भएको छैन र त्यो हुन नदिन आवाज उठाउनु जरुरी छ। म मेरो चार हजुरबुवा र हजुरआमाको लागि लडिरहेको छु। तपाई कस्को लागि लड्नु हुन्छ?
 

प्रकाशित मिति: २०:०३ बजे, बुधबार, चैत ५, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्