Kathmandu Press

‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा

पुराना निर्देशक उदय सुब्बाले निर्देशन गरेको २३औँ चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र भनिएको छ। आजदेखि नै प्रदर्शन गरिएको चलचित्र ‘जम्प’लाई बनिरहेको भन्दा भिन्न भनिएको छ।
‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा

काठमाडौं, मंसिर २९ : आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ। दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ।

पुराना निर्देशक उदय सुब्बाले निर्देशन गरेको २३औँ चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र भनिएको छ। विशेषतः यसै चलचित्रमार्फत अभिनयको सुरुआत (डेब्यु) गरेका अभिनेता इओन लिम्बू र अभिनेत्री सिमोन गिरीकै वरपर कथा केन्द्रित छ।

Hardik ivf

'चलचित्रमा दुवै नयाँ कलाकारले राम्रो काम गर्नुभएको छ, आउँदो समय उहाँ दुवैका लागि राम्रो हुनेछ', निर्देशक सुब्बाले भने, 'मैले सामाजिक ड्रामा, प्रेमकथा, हास्यलगायतका सम्पूर्ण कुरा यसमा समेटेको छु, अघिल्ला अनुभवले पनि परिपक्व बनाउँदै अगाडि बढिरहेको छु।'

चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रमा दयाराम घिमिरेले पटकथा लेखन, विक्रम डिसीले छायाँकन, रामजी लामिछाने र कविराज गहतराजले नृत्य निर्देशन, ताराप्रकाश लिम्बू, आशिष अविरल र विकास चौधरीले सङ्गीत सिर्जना, राजु किरातीले द्वन्द्व निर्देशन गरेका छन्।

आजदेखि नै प्रदर्शन गरिएको चलचित्र ‘जम्प’लाई बनिरहेको भन्दा भिन्न भनिएको छ। निर्देशक आशुतोषध्वज कार्कीले मनोवैज्ञानिक विधामा आधारित रहेर चलचित्र तयार गरिएको बताए।

'नियमितरूपमा आइरहेका भन्दा फरक गरौँ भन्ने लगेर नै जम्प तयार भएको हो, यसमा थ्रिल र सस्पेन्स पनि छ', निर्देशक कार्कीले भने, 'सफलताको खोजीमा रहेका एथ्लेटिक्स खेलाडीको जीवनमा आउने उतारचढावमा चलचित्र केन्द्रित छ।'

यसमा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शङ्कर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रञ्जित, सुदीप भुसाल, इलिस विष्टलगायतका कलाकारले अभिनय गरेका छन्। 

प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, मंसिर २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्