जनकपुरमा अन्नबाट सीताराम स्वयम्बरको आकृति बनाइँदै

धनुषा, मंसिर २८ : विवाह पञ्चमी महोत्सवको अवसर पारेर जनकपुरधामको बाह्रबिघा रङ्गभूमिमा अन्नबाट भगवान् राम, सीताको स्वयम्बरको विश्वमै सबैभन्दा ठूलो आकृति बनाउन लागिएको छ।
भगवान् रामसीतासँगै राजर्षि जनक तथा विश्वामित्रको पनि आकृति निर्माण गरिने भएको छ। सबै चित्र ११ हजार ११ स्क्वायर फिटको रहने निर्माण संयोजक सतिश गुजरले बताए।
सीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक एवं जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठका अनुसार खाद्यान्नबाट बनाउन थालेको आकृतिको उचाइ एक सय २१ फिट र चौडाइ ९१ फिटको रहने छ।
आकृतिको निर्माणमा ११ प्रकारको खाद्यान्न प्रयोग गरेर जम्मा एक सय दुई क्वीन्टल लाग्ने संयोजक महासेठले बताए। यसमा चनाको दाल, गहुँ, भटमास, चना, बदाम, मुंग, रहरको दाल, मकै, मसुरोको दाललगायत खाद्यान्न प्रयोग गरिने छ।
विश्वमा जनकपुरधामको पर्यटन प्रवर्द्धन गर्नका लागि अन्नको आकृतिको चित्र बनाएर गिनिज बुकमा अभिलेख राख्नका लागि प्रयास भइरहेको संयोजक महासेठले बताए । विश्व रेकर्ड कायम गर्ने उद्देश्यले भगवान् राम र सीतासहितको आकृति बनाउने कार्यका लागि भारतका सतिश गुज्जरको नेतृत्वमा आठ कलाकार आएको छ।
स्थानीय जनकपुरधाम उपमहानगरपालिका–४ का गुनगुन मिश्रको परिकल्पनामा भइरहेको आकृति निर्माणको सबै कार्य शुक्रबार बिहान १० बजेसम्म पूरा हुने सतिश गुज्जरले बताए।
आकृति निर्माणमा २१ लाख खर्च हुने र यसमा लाग्ने खर्च जनकपुरधाम उद्योग वाणिज्य सङ्घ तथा जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउने जनाइएको छ।












