Kathmandu Press

हत्यारा सार्वजनिक नगरेसम्म शव नउठाउने अडान

हत्यारा सार्वजनिक नगरेसम्म शव नउठाउने अडान

भक्तपुर, मंसिर २८ : चौध महिना अगाडि २०७९ असोज १९ गते बुधबार विजयादशमीका दिन ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै जीवनको अन्त्य होला भन्ने के थाहा थियो र? सूर्यविनायक नगरपालिका–५ सृजनानगर बस्दै आएकी एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबीच बुढेसकालको साहारा बन्ने सङ्कल्पसहित गतवर्ष विजयादशमीका दिन विवाह भएको थियो। 

बुढेसकालको साहारा बन्ने अपेक्षा गरेकी मायादेवीको शव पाँचदिनदेखि काठमाडौंँ मेडिकल कलेजको भक्तपुर दुबाकोटस्थित  शवगृहमा राखिएको छ भने उनको  पति दानकाजी विगत चारदिनदेखि जगातीस्थित प्रहरी वृत्तको हिरासतमा छन्। मृतक शाक्यको बाबु भक्तबहादुर र आमा यतिखेर छोरीको शवसमेत बुझ्न नपाउँदा पीडित भएका छन् भने पति शाक्यलाई यतिखेर पत्नी हत्याको अभियोग लागेको छ। 

Hardik ivf

गत आइतबार राति खाना खाएरसँंगै सुत्नुभएकी  मायादेवी बिहान ओछ्यानमै मृत्यु भएको अवस्थामा हुनुहुन्थ्यो। सँगै सुतेकी श्रीमतीको राति कतिबजे र कसरी मृत्यु भयो आफूलाई थाहा नभएको र बिहान उठ्दा मात्र मृत्यु भइरहेको अवस्थामा आफूले पाएको दानकाजीको जिकिर छ। सोमबार बिहान ५ बजे दानकाजीले आफूलाई घट्नाबारे जानकारी गराए पनि खाना खाएर सँंगै सुतेकी छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको भक्तबहादुर बताउनुहुन्छ। सँगै सुतेकी श्रीमतीको मृत्यु भएको थाहै नपाउने भन्ने हुदैन,  यति मात्र होइन शरीरमा निलडाम देखिएको र मुखमा घाउ भएकाले पनि घटना भबितव्य नभइ हत्या नै भएको भक्तबहादुर बताउँछन्। 

मृतकको बहिनीज्वाई कृष्ण गोसाईले शव परीक्षण रिपोर्टअनुसार बेलुकाको खाना नै नपचेको अवस्थामा उहाँको मृत्यु भएको देखाइएकाले राति १० देखि ११ बजे भित्रै हत्या भएको आशंका भएकोे बताउँछन्। 

उनी भन्छन्, 'हामीले पोष्टमार्टम गर्ने चिकित्सकसँग पनि भेटेर कुरा गर्‍यौ, रिपोर्ट पनि हेर्‍यौ, चिकित्सकले नै स्वाभाविक मृत्यु नभएको र शङ्कास्पद रहेको भन्नुभएको छ, हामी न्याय चाहन्छौँ प्रहरीले निष्पक्ष छानबिन गरेर हत्यारा सार्वजनिक नगरेसम्म शव उठाउँदैनौ।' मृतकको दाहिने हातको कुममा, दुबै छातीमा, गलामा, खुट्टामा पिठ्युमा निलडाम रहेको, छाला लछारिएको, मुखभित्र घाउ रहेको, रगत जमेको पाइएको र शव परीक्षण गर्ने चिकित्सकले निसास्सिएर मृत्यु भएको हो, मृत्यु स्वभाविक होइन, शङ्कास्पद छ भनेको अबस्थामा शव बुझ्न नसकिने उनी बताउँछन्। 

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठक घट्ना शङ्कास्पद रहेको बताउँछन्। उनी भन्छन्, 'घट्ना शंकास्पद भएकाले मृतकको पतिलाई हामीले चारदिनदेखि नियन्त्रणमा लिएर म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं।' मृतकको माइती पक्षले भने घटनाको वास्तविकता बाहिर ल्याएर हत्यामा संलग्नलाई कारबाही अगाडि नबढाएसम्म शव नबुझ्ने बताएका छन्। (रासस)

प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्