आठौँ पर्वतीय महोत्सव सकियो
पाँच दिनसम्म सञ्चालित महोत्वसमा विशेष गरी जलवायु परिवर्तनको कारण बदलिँदो हिमाल र हिमाली जनजीवनका बारेमा चिन्तन गरिएको थियो ।-1702403921.jpg)
कास्की, मंसिर २७ : नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा–१७ रातोपैहास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित आठौँ पर्वतीय महोत्सव सम्पन्न भएको छ।
पाँच दिनसम्म सञ्चालित महोत्वसमा विशेष गरी जलवायु परिवर्तनको कारण बदलिँदो हिमाल र हिमाली जनजीवनका बारेमा चिन्तन गरिएको थियो ।
गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर आलेमगरले महोत्सवको समापन समारोहमा पछिल्लो समय बढ्दो जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र प्रभावित भएको बताए।
पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य पञ्चराम गुरुङले पर्वतीय सङ्ग्रहालय हिमाल र हिमालीको बारेमा अध्ययन अनुसन्धान गर्ने जीवन्त उदाहरण भएको उल्लेख गर्दै यसलाई परिचित गराउन आगामी दिनमा महोत्सवलाई थप प्रभावकारी बनाउनुपर्नेमा आवश्यकता औँल्याए।
नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष एवं पर्वतीय सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले नेपालमा पर्वतीय पर्यटन बढाउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह भएको बताए ।
नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवका संयोजक जिनेश सिन्दुराकार र सहसंयोजक शेषकान्त शर्माले एकै स्थानबाट पर्वत र पर्वतीय जीवनशैलीबारे अध्ययन गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए।












