Kathmandu Press

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं, मंसिर २५ : लैंगिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएकोे छ। टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औंल्याए। 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मानव अधिकार र लैङ्गिक हिंसा अन्त्यका लागि सबै प्रतिबद्ध हिसाबले लाग्नुपर्ने बताए। 'लैङ्गिक हिंसा न्यूनीकरणमा मेरो प्रतिबद्धता हुनेछ,' उनले भने।

उपप्रमुख मुरारी तामाङले लैंगिक हिंसा नियन्त्रणका लागि व्यक्ति व्यक्ति लाग्नुपर्ने बताए। लैङ्गिक हिंसा गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याउन सके हिंसा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो। प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले सामाजिक सञ्जालमार्फत महिला हिंसा बढेको जनाउँदै यसलाई नियन्त्रण गर्न लाग्नुपर्ने उल्लेख गरे।

अधिवक्ता सविन श्रेष्ठले गत वर्ष मात्र नेपालमा तीन हजार तीस सय महिला हिंसा भएको जानकारी दिए। 'चिनजानकै व्यक्तिबाट बढी महिला हिंसा हुने गरेको छ, महिला हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ,' उनले भने। पछिल्लो समय यौन हिंसामा पर्नेमा ११ देखि १६ वर्षसम्मका महिला बढी रहेको प्रहरीको तथ्यांकले देखाउँछ।

प्रकाशित मिति: १२:०१ बजे, सोमबार, मंसिर २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्