कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’को पुनः प्रकाशन
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल पुकार त्रैमासिकको २०५४ सालमा बन्द भएपछिको पहिलो अंक लोकार्पण गरेका हुन्।
काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ पुनः सार्वजनिक भएको छ।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल पुकार त्रैमासिकको २०५४ सालमा बन्द भएपछिको पहिलो अंक लोकार्पण गरेका हुन्।
२००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि प्रकाशन हुँदै आएको ‘नेपाल पुकार’ वि.सं २०५४ यता बन्द थियो।
लोकार्पण कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले नेपाल पुकारको पुन प्रकाशनले पार्टीका विचार सम्प्रेषणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
‘यो नेपाल पुकार पत्रिका धेरै वर्षपछि फेरि नेपाली कांग्रेसले ‘नेपाल पुकार’को सुरुवात गर्न गइरहेको छ। विश्वास छ नेपाली कांग्रेसका सबैले यो पत्रिका पढ्ने छन्,’ सभापति देउवाले भने, ‘त्यसपछि नेपाली कांग्रसप्रति धारणा पनि बनाउने छन्।’
त्यस्तै उपसभापतिसमेत रहेका कानूनमन्त्री धनराज गुरुङ्ले, मुखपत्र प्रकाशनपछि सुशासनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल र नेपाली राजनीतिमा सुशासनको खडेरी परेको बताउँदै उनले नेपाललाई फेरि सुशासनमा फर्काउन नेपाल पुकारको प्रकाशन निरन्तर हुनुपर्ने उनले बताए।












