उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता
‘पिस बिगिन्स विथ मि’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा विश्वभरका ९० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो।
काठमाडौं, मंसिर २४ : उपप्रधानमन्त्री एव् रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भइ स्वदेश फर्किएका छन्।
यही मङ्सिर १८ देखि २० सम्म आयोजित सम्मेलनमा सहभागी उपप्रधानमन्त्री खड्कासहितको नेपाली प्रतिनिधि मण्डल गए राति स्वदेश फर्किएको हो। टोलीमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाका उच्च पदाधिकारीहरूको सहभागिता थियो। सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल भइ हालसम्म भएका कामको समीक्षा गर्दै भविष्यका लागि मार्ग तय गर्ने र सदस्य राष्ट्रहरूको तर्फबाट यस कार्यमा सहयोगसम्बन्धी प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
‘पिस बिगिन्स विथ मि’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा विश्वभरका ९० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो। सम्मेलनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनलाई थप प्रभावकारी बनाइ विश्वशान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गर्न जोड दिनुका साथै सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनमा जोड दिएको थियो।
अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वका लागि नेपालले सन् १९५८ देखि नै संयुक्त राष्ट्र संघका विभिन्न शान्ति मिसनहरुमा नेपाली शान्ति सैनिक खटाउँदै विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिँदै आएको छ। हाल १६ वटा शान्ति मिसनमा छ हजार दुई सय ७८ नेपाली शान्ति सैनिक कार्यरत छन्।
अहिले नेपाल शान्ति सैनिक खटाउने दोस्रो ठूलो र महिला शान्ति सैनिक खटाउने मुलुकमा पहिलो स्थानमा छ। उपप्रधानमन्त्री खड्का मंसिर १७ गते राति घाना गएका थिए।












