एनआरएनए अध्यक्ष शर्मा र महासचिव सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्र
नेपाली नागरिक तथा प्रवासमा कार्यरत गैरआवासीय नेपाली नागरिकहरुसँग सम्बन्धित विषयलाई यथाशीघ्र सम्बोधन गर्न आग्रहसहित परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको महासचिव सुवेदीले बताए।
काठमाडौं, मंसिर २१ : गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्मा र महासचिव बुद्धिसागर सुवेदीद्वारा हस्ताक्षरित पाँचबुँदे ज्ञापनपत्र बिहीबार परराष्ट्रमन्त्री एनपी साउदलाई बुझाइएको छ।
संघको तर्फबाट निवर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्धिसागर सुवेदी र कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले परराष्ट्रमन्त्रीलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन्।
नेपाली नागरिक तथा प्रवासमा कार्यरत गैरआवासीय नेपाली नागरिकहरुसँग सम्बन्धित विषयलाई यथाशीघ्र सम्बोधन गर्न आग्रहसहित परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको महासचिव सुवेदीले बताए।
उनका अनुसार हमास समूहले इजरायलमा हमला गरी नेपाली युवा विपिन जोशीलाई बन्धक बनाएको धेरै दिन भएको अवस्थामा उनको रिहाइका लागि कूटनीतिक पहल तीव्र बनाउन आग्रह गरिएको छ।
यस्तै, अवैध बाटो हुँदै नेपाली नागरिकहरू विदेशी सेना (रुस) मा भर्ना भएका र भर्ना भएकाहरुमध्ये केही नेपालीको निधन भएका समाचारहरु सार्वजनिक भएको उल्लेख गर्दै ज्ञापनपत्रमा यस विषयमा नेपाल सरकारले स्पष्टसँग आफ्नो धारणा सार्वजनिक गरेर ती नेपाली नागरिकहरूलाई यथाशक्य छिटो नेपाल फर्काउन सार्थक पहल गर्न आग्रह गरिएको छ।
यसैगरी, मध्यपूर्वको बाटो हुँदै अवैधरुपमा विभिन्न देशमा पुग्ने नेपालीहरू ठगिने क्रम जारी रहेकाले यसलाई बन्द गर्नका लागि प्रत्येक दूतावासमा प्रहरी सहचारीको आवश्यकता रहेको जानकारी गराइएको छ । यसका लागि यथाशीघ्र व्यवस्था गर्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराइएको छ।
मध्यपूर्वमा अहिले सबैभन्दा ठूलो समस्याको रुपमा पासपोर्ट नवीकरणको विषय रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
‘अहिले पनि इराकमा झन्डै १२ हजार भन्दा बढी नेपालीहरु बस्दै आएकोमा अहिले त्यहाँ ६ सयभन्दा बढीको पासपोर्टको म्याद सकिएको अवस्था छ। जसले गर्दा उनीहरू इराकबाट बाहिर जान पाइरहेका छैनन्। यो विषयमा हामीले केही समयदेखि परराष्ट्र मन्त्रालयमा अनुरोध गर्दै आएका छौं। अझैसम्म त्यहाँ घुम्ती टोली नपुगेको हुँदा यथाशक्य छिटो टोली पठाई पासपोर्ट नवीकरणको लागि सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ।
हालै पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय गरेर राजदूत सिफारिस गरिएकोमा नेपाल सरकारलाई हार्दिक बधाई ज्ञापन गर्दै माल्टा, रोमानिया, टर्कीलगायत अन्यमुलुकहरुमा पनि राजदूतावास स्थापनाको पहल गर्न अनुरोध गरिएको छ।