शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल

काठमाडौं, मंसिर १८ : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि सोमबार पनि सैद्धान्तिक छलफल भएको छ।
सोमबार सिंहदरबारमा भएका छलफलका क्रममा समिति सदस्यहरुले सञ्चालनको स्पष्ट नीतिका साथ विधेयकलाई अघि बढाउनुपर्ने बताएका थिए। त्यस्तै विधेयकमाथिको संशोधनकर्ता देवेन्द्र दाहाल लगाएतले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा राष्ट्रिय शव्द राख्न उचित हुने सुझाव दिएका थिए।
मुलुकको शिक्षा क्षेत्रमा योगदान पुराउन राष्ट्रिय विश्वविद्यालयका रुपमा स्थापना गरिने प्रस्तावनामा उल्लेख गर्न सकिने शिक्षा मन्त्रालयका अधिकारीले जनाएका थिए। समिति सभापति जयन्ती देवी राईले बिज्ञहरुको समेत सुझाव लिएर विधेयकलाई अघि बढाउने बताइन्।
उनले मंगरबार पनि विधेयकमाथिको छलफल जारी रहने जानकारी दिए। सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक ल्याएको हो।












