कैलाली र कञ्चनपुरमा सीमास्तम्भ मर्मत गरिँदै
यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यसपटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ।
कञ्चनपुर, मंसिर १८ : कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु हुँदैछ।
यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यसपटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ।
सशस्त्र प्रहरी बल नं. ७ वैजनाथ मुख्यालय अत्तरीयाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कैलालीको बङ्गग्राकटान र कञ्चनपुरको डोकेबजारबाट दिउँसोबाट मर्मत सम्भारको काम सुरु हुने जानकारी दिए।
‘सरकारले दिएको जिम्मेवारी अनुसार सशस्त्र प्रहरी बलले आजबाट भारतीय पक्षसित समेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुुरु गर्दैछ,’ उनले भने, ‘विछोरी सीमास्तम्भ सशस्त्र प्रहरी र जोरी पिल्लर भारतीय एसएसबीले मर्मत तथा रङरोगन गर्नेछ।’
कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नं ३५ गण मुख्यालय र कैलालीमा नं ३४ गणले सो कार्य गर्नेछ।
त्यसैगरी सशस्त्र प्रहरी बल नं. ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सुरक्षा समिति र जनप्रतिनिधि र भारतीय सीमा सुरक्षा बल ९एसएसबी० समेतको उपस्थितिमा सोमबार दिउँसो डोकेबजारस्थित मुख्य सीमास्तम्भ ७५३ बाट मर्मतको काम सुरु हुने जानकारी दिए।
उनले विसं २०१४ पछाडि बनेका सीमास्तम्भ मात्रै मर्मत÷सम्भार गर्ने जिम्मेवारी सरकारबाट प्राप्त भएको बताए। पछिल्लो केही वर्षयता सुदूरपश्चिम प्रदेशका सीमानाकामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै लगेको जनाएको छ।












