पोखरामा आठौं पर्वतारोहण महोत्सव आयोजना हुँदै
काठमाडौं, मंसिर १७ : नेपाल पर्वतारोहण संघले डिसेम्बर ८ देखि १२ सम्म पोखराको रातो पहिरोस्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा आठौं पर्वतारोहण महोत्सव आयोजना गर्ने भएको छ।
महोत्सवमा अन्तर्क्रियात्मक कार्यक्रम, तस्बिर प्रदर्शनी, विभिन्न खेलकुद गतिविधि र सांस्कृतिक कार्यक्रम समेटिने जनाइएको छ।महोत्सवलाई एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (आईसिआईएमओडी) र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालद्वारा प्रायोजन गरिएको छ।
कार्यक्रम आयोजना गर्न एनएमएले हेल्भेटास, बर्ड कन्जर्भेसन नेपाल, गो बन्जी नेपाललगायत संस्थाबाट पनि सहयोग प्राप्त हुने जनाइएको छ। महोत्सवमा हिमाली क्षेत्रमा लोकप्रिय छेलो, जिपलाइन, टग अफ वार, धनुर्विद्या लगायतका खेलहरु पनि आयोजना हुनेछन्।
यसैगरी महोत्सवका अवसरमा गुरुङ समुदायमा प्रचलित गायन संस्कृति दोहोरीलाई प्रदर्शनी गरिने भएको छ।