अपांगतामैत्री वातावरण निर्माण गर्न आयोगको आग्रह

काठमाडौं, मंसिर १७ : राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ।
आइतबार आज आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकिाराम पोखरेलले ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइरहेको ३२औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो आग्रह गरेको हो।
‘नेपाल अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ को पक्ष राष्ट्र समेत भएको हुँदा ती महासन्धिका प्रावधान, नेपालको संविधान, आपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा अन्य कानून र नीतिहरुले व्यवस्था गरेको अपांगता भएका व्यक्तिहरुको अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हुन्छ।’ विज्ञप्तीमा उल्लेख छ।
आयोगले नेपाल सरकारलाई विभिन्न समयमा शहरी क्षेत्रका सबै सडक, भवन तथा अन्य भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने गरी निर्माण गर्न अपांगता भएका व्यक्तिको परिचयपत्र नियमित र व्यवस्थित रुपमा प्रदान गर्न, अपांगता भएका व्यक्तिहरुको यकीन तथ्याङ्क सङ्कलन गरी सोही अनुरुपको नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गर्न अनुरोध समेत गरेको छ।
साथै शिक्षा, स्वस्थ्य, रोजगारीलगायतका क्षेत्रमा पहुँच कायम गरी उनीहरुको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारहरुको संरक्षण र संवद्र्धन गर्न सिफारिश गरेको समेत आयोगलाई स्मरण गराएको छ।
आयोगले अपांगता भएका व्यक्तिहरूको मानव अधिकारका प्रश्नमा अभैm समस्यामा रहिरहनु उपयुक्त नभएको विषयमा संघीय, प्रदेश तथा स्थानीय तहका सरकारलगायत सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ। विश्वले हरेक वर्ष ३ डिसेम्बरको दिनलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको रूपमा मनाउँदै आएको छ।












