Kathmandu Press

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

काठमाडौं, मंसिर १६ : नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई गर्ने भएको छ। 

कोषकी अध्यक्ष उषा शेरचनका अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीतसङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसङ्गीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भएबापत सो सम्मान दिन लागिएको हो। 

रेडियो नेपालमा पनि करिब चार दशक सेवारत गायिका तथा सङ्गीतकार तारादेवीको जन्म २००२ माघ २ गते र निधन २०६२ माघ ९ मा भएको हो। उनले राष्ट्रिय, आधुनिक र लोकगीत  गरी करिब तीन हजार पाँच सय गीत गाउनाका साथै केही गीतमा सङ्गीत पनि दिएकी छन्। उनका नाममा पाँच वर्षअघि तारादेवी फाउन्डेसन पनि स्थापना गरिएको छ।

बिसका दशकमा लेकाली समूहबाट गायनमा उदाएका रसिकका नेपाली साहित्यका विविध विधामा थुप्रै पुस्तक पनि प्रकाशित छन्।

यही मङ्सिर १९ गते स्वरसम्राट्को ३३ औँ स्मृति दिवसका दिन सो सम्मान दिइने कोषका महासचिव दीपक केसीले जानकारी दिए। २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ।

प्रकाशित मिति: १३:३० बजे, शनिबार, मंसिर १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्