Kathmandu Press

टिकट चोरीको घटनामा थप एक जना पक्राउ

टिकट चोरीको घटनामा थप एक जना पक्राउ

काठमाडौं, मंसिर १६ : जियोल्यान्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मस्याङ्दी ट्राभल्सका सञ्चालक तथा पर्वत घर भएका ४७ वर्षीय हरिप्रसाद सुवेदी रहेका सिआइबीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुगम कुँवरले राससलाई जानकारी दिए। 

Hardik ivf

उनले भने, 'जियोल्याण्ड ट्राभल्सको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा सुवेदीलाई पक्राउ गरिएको छ। उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ।'

यसअघि यही मङ्सिर ६ गते ब्युरोको टोलीले सामाखुसीस्थित मस्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो। आरोपीहरुले बालुवाटारस्थित जियोल्याण्डको युजर आइडी ह्याक गरेर जजिरा र एयर अरेबियाको टिकट चोरी गरेको आरोप छ। 

ह्याकरहरुले पटकपटक गरेर रू एक करोड ९९ लाख ८२ हजार रकम बराबरको टिकट चोरी गरेको ब्युरोको अनुसन्धानबाट खुलेको प्रवक्ता कुँवरले बताए। उनले भने, 'अहिलेसम्म कम्तीमा पनि तीन सय ३७ नेपाली र विदेशी नागरिकका नाममा अवैध तरिकाले टिकट चोरी गरेको भेटिएको छ।' 

प्रकाशित मिति: १३:१२ बजे, शनिबार, मंसिर १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्