Kathmandu Press

देशभर ३६औ विश्व एड्स दिवस मनाइँदै

देशभर ३६औ विश्व एड्स दिवस मनाइँदै

काठमाडौं, मंसिर १५ : आज डिसेम्बर १ अर्थात् विश्व एड्स दिवस, विश्वभर एड्सविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी ३६ औँ विश्व एड्स दिवस मनाइँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले एड्ससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ।

Hardik ivf

सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा विश्वभर आठ करोड ५६ लाख जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ। विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन्।

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ। नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेको केन्द्रले प्रक्षपण गरेको छ।

एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रममा बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो।

आजको दिन एचआइभी संक्रमणले गर्दा ज्यान गुमाएका सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिका लागि दिप प्रज्वलन गर्ने,रोगबारे विभिन्न जनचेतनामुलक कार्यक्रम,गोष्ठीलगायतका कार्यक्रम गरी समुदायस्तरमा रोगबारे सचेत गराइन्छ।

 

प्रकाशित मिति: १०:५५ बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्