पर्यटकीय क्षेत्र पहिचान र अवलोकनका लागि पर्यटनकर्मीको टोली धनकुटामा
धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरू धनकुटा आएका हुन्।
धनकुटा, मंसिर १४ : धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि विभिन्न क्षेत्रका पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ। पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली बिहीबार धनकुटा आएको हो।
धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरू धनकुटा आएका हुन्। टोलीलाई धनकुटा नगरपालिकाले कार्यक्रम आयोजना गरी स्वागत गरेको छ। धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भीमादेवी खनाल, आर्थिक विकास अधिकृत विकास अधिकारी लगायतले फूलमाला लगाएर उनीहरूलाई स्वागत गरे।
नगर प्रमुख तामाङले धनकुटा नगरमा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए। पर्यटनकर्मीहरुको टोलीलाई स्वागत गर्दै उनले यहाँका पर्यटकीय क्षेत्रहरूलाई आ–आफ्नो क्षेत्रबाट प्रचारप्रसार गरेर सहयोग गर्न पनि आग्रह गरे।
कार्यक्रममा पर्यटनकर्मी अनु लामाले पर्यटकीय हिसाबले धनकुटा महत्वपूर्ण क्षेत्र रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने धारणा राखिन्।
देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन प्रवर्द्धनको काम गर्दै आएका लेखक, भ्लगर, ट्राभल एजेन्सीकर्मी, टुरिस्ट गाइड लगायत टोलीमा सहभागी छन्। पाँच दिनसम्म धनकुटामा रहने उनीहरूले यहाँका पर्यटकीय क्षेत्रहरू, होमस्टे व्यवसाय, आठपहरिया जातिको संस्कृति लगायत अवलोकन गरेर प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने जनाइएको छ।












